नेपाललाई पठायो चिनियाँ कम्पनीले कोरोना परीक्षण गर्ने २ हजार थान टेष्टिङ किट

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १९:५०

काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोगस्वरुप प्रदान गरेको २ हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ।

दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै काठमाडौं आइपुग्ने छन्।

‘नेपाली महावाणिज्य दूतावास ल्हासाले स्थलमार्गबाट छिट्टै नेपाल पठाउने बन्दोबस्त गर्दैछ,’ बेइजिङस्थित नेपाली दूतावासले बुधबार जानकारी दियो।

तीस हजार अमेरिकी डलर (करिब ३६ लाख रुपैयाँ) रुपैयाँ बराबरका ती किटहरू बुधबार बेइजिङमा एक कार्यक्रमको आयोजना गरी उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले नेपाली दूतावासलाई हस्तान्तरण गरेका थिए। २ हजार किट नेपाललाई निशुल्क उपलब्ध गरिएको हो।

टेस्टिङ किट हस्तान्तरण कार्यक्रममा बेइजिङ नगरपालिका वाणिज्य व्युरोका निर्देशक थान छङ्हाइ र बेइजिङ–काठमाडौं अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओजि आन्लीको पनि उपस्थिति रहेको थियो।

नेपाल–चीन मैत्रीको उत्कृष्ट उदाहरणको रूपमा रहेको उक्त सहयोगले नेपालमा रहेको परीक्षण उपकरणको थोरै भए पनि अभाव पूर्ति गर्ने अपेक्षा राखिएको दूतावासले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*