स्पेनमा कोरोनाका कारण एकै दिन ६५६ को मृत्यु

नवयुग संवाददाता
१३ चैत्र २०७६, बिहीबार ०७:१३

काठमाडौँ । यूरोपेली देश स्पेनमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६४७ पुगेको छ । यो संख्या कोभिड १९ को उद्गमस्थल चीनमा भन्दा पनि बढी हो । चीनमा हालसम्म यो भाइरसका कारण कारण ३ हजार २८७ ले ज्यान गुमाएका छन् ।

युरोपेली मुलुक इटलीमा अहिले विश्वकै सबैभन्दा बढी व्यक्तिले कोभिड १९ का कारण ज्यान गुमाएका छन् भने त्यसपछि स्पेनमा मृतकको संख्या दोस्रो उच्च पुगेको हो । यो समाचार तयार पार्दासम्म स्पेनमा ४९ हजार ५१५ जनामा कोभिड १९ को संक्रमण पुष्टि पुष्टि भएको वल्र्डो मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्र ६५६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एकै दिनमा ७ हजार ४५७ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । तर स्पेनमा ५ हजार ३६७ जना भने पूर्णरूपमा निको पनि भइसकेका छन् । उता इटलीमा पनि एकै दिन ६८३ जनाले ज्यान गुमाएका छन् भने ५ हजार २१० जना नयाँ केस देखा परेका छन् ।

स्पेनका उपप्रधानमन्त्री कारमेन क्याल्भोमा समेत कोरोना भाइरसको परीक्षण पोजिटिभ देखिएको छ । उनलाई आइतबार कोरोना लक्षणहरू देखा परेपछि अस्पतालमा भर्ना गरिएको थियो ।

भाइरस नियन्त्रणका लागि अर्को दुई हप्ताका लागि ११ अप्रिलसम्म देशका सबै राज्यमा आपतकाल विस्तार गरिएको बिबिसीले जनाएको छ । नियमअन्तर्गत मानिसहरूलाई आवश्यक सामग्री र औषधि किन्न र जरुरी कामका लागि बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

तुलनात्मक हिसाबले चीनमा संक्रमितको संख्या अधिक देखिए पनि मृत्युदर युरोपेली देशमा भन्दा कम छन् । त्यहाँ पछिल्लो एक दिनमा ६७ नयाँ केस देखा परेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*