कोरोना सङ्क्रमित युवक भन्छन्- ‘उपचार त परको कुरा तातोपानी समेत पाइँन’

नवयुग संवाददाता
१५ चैत्र २०७६, शनिबार १८:०९

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित युवकले उपचार नपाएको गुनासो गरेका छन् । ३४ वर्षीय युवाले आफ्नो अवस्था समान्य रहेको तर कोरोना सङ्क्रमणको पुष्टि भएपछि उपचारका लागि स्वास्थ्यकर्मी नै नआएको बताएका हुन् ।

सञ्चारकर्मीसंग कुरा गर्दै उनले तातोपानी समेत नपाएको दुखेसो गरेका छन् । शुक्रबार साँझदेखि स्वास्थ्यकर्मी उनको नजिक समेत नगएको युवकले बताए । दुबईबाट फर्किएका उनलाई गएको चैत्र ११ गतेदेखि आइसोलेशनमा राखिएको थियो । उनले आफू बाँच्न चाहेको र आफ्नो उपचार गरिदिन स्वास्थ्यकर्मीसँग आग्रह गरेका छन्।

कोरोनाको सङ्क्रमण भेटिएपछि उनका परिवारका सदस्यलाई पनि शनिबार अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दक्षकुमार बस्नेतका अनुसार सङ्क्रमित युवकको परिवारका आठ जना सदस्यलाई निगरानीमा राख्न एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको हो ।

उनी नेपाल आएको पाँचौँ दिनमा प्रादेशिक अस्पतालको आइसोलेशनमा पुगेका थिए । प्रहरी नायब बस्नेतले पाँच दिनको अवधिमा ती युवकले थुप्रै व्यक्तिलाई भेटेको पाइएको जानकारी दिनुभएको छ ।

‘कोरोना सङ्क्रमित ती व्यक्तिले धनगढीका धेरैलाई भेटेको पाइएको छ । सबैको खोजी भइरहेको छ’, उहाँले भन्नुभयो । सङ्क्रमित व्यक्तिका पारिवारिक सदस्यमै एक जना प्रहरी कर्मचारी समेत भएकाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी पनि त्रसित बनेका छन् । ती युवकलाई अस्पताल लैजाने व्यक्ति भने अझै सम्पर्कमा आएका छैनन् ।

उज्यालो अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*