पैदल हिँडेर हेटौंडा आइपुगेका १५० जनालाई निःशुल्क खाना वितरण

नवयुग संवाददाता
१८ चैत्र २०७६, मंगलवार १५:१६

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनको कारण हजारौँ मानिस अलपत्रमा परेका छन् । सार्वजनिक यातायात समेत बन्द भएपछि दैनिक हजारौँ मानिसले पैदल हिँडेर नै राजधानी काठमाडौं छोडिरहेका छन् । मकवानपुरको भीमफेदी, हेटौंडा हुँदै पैदल यात्रा गरेर सयौँ मानिस घर फर्किरहेका छन् ।

मंगलबार (आज) पैदलयात्रा गरेर काठमाडौंबाट हेटौंडासम्म आइपुगेका करिब १ सय ५० जनालाई निःशुल्क खाना वितरण गरिएको छ । हेटौंडाका युवाहरुको सक्रियतामा अन्नपूर्ण भोजनालयमा निःशुल्क खाना खुवाइएको हो । काठमाडौंबाट तराईसम्म पैदल यात्रा गरेर घर फर्किरहेकाहरुलाई हेटौंडा–५ निवासी रुपक महतको अगुवाईमा निःशुल्क खाना वितरण गरिएको हो । वृद्धवृद्धा, युवा एवम् बालबालिका समेत गरी करिब १ सय ५० जनालाई खाना वितरण गरिएको महतले बताए । बसमा आएका केही मानिसहरुलाई समेत खाना खुवाइएको उनले जानकारी दिए ।

होटलकी सञ्चालिका लक्ष्मी श्रेष्ठ, युवाहरु गौरव श्रेष्ठ, समाज अमुगाईँ, रवि यादव, आशिष रिजाल, अदिश रिजाल, प्रवित बैद्य लगायतको सक्रियतामा निःशुल्क खाना सेवा सञ्चालन गरिएको  हो । यस संकटको घडीमा विपन्न वर्गलाई सेवा गर्न पाउँदा खुशी लागेको होटलकी सञ्चालिका श्रेष्ठले बताइन् । उनले यस सेवालाई लकडाउन अवधिभर निरन्तरता दिइने बताइन् ।

अन्य निकायबाट सहयोग प्राप्त भए अझै व्यवस्थित रुपमा धेरैलाई खाना खुवाउन सकिने उनको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाले एक ट्याङकर खानेपानी उपलब्ध गराएको  उनले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*