क्वारेन्टाइनबाट घर फर्के गायक दीपक वज्राचार्य

नवयुग संवाददाता
१९ चैत्र २०७६, बुधबार ०७:२५

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण १४ दिन क्वारेन्टाइनमा बसेका गायक दीपक वज्राचार्य सोमबार घर फर्केका छन्। उनीलगायत ६ जनाको टोली अस्ट्रेलियाबाट नेपाल फर्केको थियो। उताबाट फर्केपछि उनको टोली क्वारेन्टाइनमा बसेको हो। उनीहरू भैंसेपाटीस्थित मेरो घर नामक होमस्टेमा बसेका थिए।

त्यहाँ बस्दा उनले दर्शक तथा फ्यानलाई मनोरञ्जन गराउन फेसबुक तथा युट्युब च्यानलमार्फत लाइभ प्रस्तुति दिएका थिए। आफ्ना पुराना तथा नयाँ गीत गाउँदै उनले कोरोना सचेतना सन्देश पनि प्रवाह गरेका थिए।

रिदम ब्यान्डमा आबद्ध दीपक ब्यान्डका भोकलिस्ट हुन्। ब्यान्डमा ड्रमर रिक्की शाक्य, गितारिस्ट रोजन कायस्थ, लाखे डान्सर राजीव वज्राचार्य, लिजेन्द्र महर्जन झाँक्री डान्सर, आबद्ध छन्। उनीहरू हरेक दिन ४ बजे लाइभमा आउँथे। अस्ट्रेलिया र फिनल्यान्डका विभिन्न १३ सहरमा प्रस्तुति दिन विदेश गएका उनीहरू तीन ठाउँमा मात्रै प्रस्तुति दिएर नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ उनीहरू विमानस्थलबाट सीधै क्वारेन्टाइनमा गएका थिए।

दीपकका अनुसार सरकारले विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्न गरेको अनुरोध गर्दै केही समस्या नदेखिए पनि संक्रमणको जोखिम भएकाले घर नगएको बताए। दीपकले आफूहरूलाई फलो गर्ने, लाइभमा जोडिने लाखौं दर्शकलाई पनि कोरोनाबाट बच्न घरभित्रै बस्न अनुरोध गरेका छन्। परिवारबाट टाढा बस्न केही असहज भए पनि परिवार र छरछिमेकको सुरक्षाका लागि कर्तव्य पूरा गरेको उनले बताए। उनले भने, ‘विश्वव्यापी फैलिएको कोभिड भाइरसबाट बच्न सबैभन्दा उत्तम उपाय नै सचेत बन्ने र सम्भावित जोखिमबाट टाढा बस्नु हो। तपाईं हामी सबैले आफ्नै लागि केही समय लकडाउनलाई पूर्णतया पालना गरांै। विदेशबाट आउनेहरू अनिवार्य सेल्फ क्वारेन्टाइममा बसौं । –अन्नपूर्ण पोष्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*