मनकारी ध्रुव अधिकारीः तीन हजारलाई खुवाए खाजा र पानी

नवयुग संवाददाता
१९ चैत्र २०७६, बुधबार १४:५९

मकवानपुर । नेपालसहित विश्वका दुई सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले अचानक लकडाउन गरेपछि हजारौं मानिस अलपत्र परेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा समेत कैयौँ मानिसहलाई लकडाउनले समस्या परेको छ ।

लकडाउनले गर्दा हिँडेरै आफ्नो गन्तव्यसम्म पुग्न बाध्य नागरिकहरुको सहायताको निम्ति निरन्तर खटिरहेका छन्, हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी । हिँडेर आ–आफ्नो घरसम्म जान बाध्य मानिसहरु, सुरक्षामा अनवरत खटिने सरक्षाकर्मीहरुको निमित्त अधिकारीले हेटौंडाको बाइपास रोडमा शुद्ध पिउनेपानी र खाजा खुवाउने अभियान सुरु गरे । टोल विकास संस्था नगर समन्वय समिति र हेटौंडामा रहेका सम्पूर्ण लायन्स तथा लियोहरुको संयोजनमा सञ्चालित शुद्ध पिउनेपानी र खाजा खुवाउने अभियानमा दैनिक ५ सय भन्दा बढीले सेवा लिइरहेका छन् ।

नेचुरल वेभरेजका सञ्चालक समेत रहेका अधिकारी र राजु फिस सप्लायर्सका सञ्चालक मुकेश साहले गत १४ गते बाट सुरुवात गरेको अभियानले हालसम्म ३ हजार भन्दा बढीलाई शुद्ध खानेपानी र खाजा खुवाएको छ । अभियानमा नेचुरल वेभरेजको उत्पादन ‘अमृत जल’ पानी उपलब्ध गराइएको अधिकारीले जानकारी दिए । उनका अनुसार अभियानमा ४ सय कार्टुन पानी वितरण भैसकेको छ ।

अभियानको छैँटौ दिन वुधबार(आज) सम्म विभिन्न सहयोगी हातहरु जोडिदै गएको उनले बताए । एम.जी शोरुमका सञ्चालक विजय श्रेष्ठ र देव खत्री, एन्टार्टीक विस्कुटको तर्फबाट रामहरि न्यौपाने, सञ्चारकर्मी प्रवेश धिताल (कुन्दन), महेशप्रसाद चौधरी, प्रकाश प्रसाद शाह लगायतबाट सहयोग उपलब्ध भएको उनले जानकारी दिए । लकडाउन अवधिभर यो अभियानलाई निरन्तरता दिइने अधिकारीले बताएका छन् । ‘ अभियानमा थुप्रै सहयोगी हातहरु जोडिदै गएको छ । लकडाउन अवधिभर हामी यो अभियानलाई निरन्तरता दिनेछौँ। ’

अधिकारीको नेतृत्वमा सञ्चालित अभियान निकै प्रभावकारी भएको भन्दै सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*