कोरोना त्रासले पर्यटकीय क्षेत्र सुनसान

नवयुग संवाददाता
२०७६, २० चैत्र बिहीबार १२:१०

फाइल फोटो

बाँके । कोरोना भाइरसको जोखिमले उत्पन्न त्रासका कारण बाँकेका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । बाँकेका पर्यटकीय क्षेत्र गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, रानी तलाउ, बागेश्वरी मन्दीर लगायतका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् जबकि यो पर्यटकका लागि उपयुक्त मौसम हो, यही मौसममा पर्यटक सुनसान छन् ।

Advertisement

होमस्टे एसोशियसन नेपाल ९होसान०का केन्द्रीय सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले भन्नुभयो– “कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ । यसले पर्यटन व्यवसायीहरु आर्थिकरुपमा धरासायी बनेका छन् ।”

Advertisement

कोरोना सङ्क्रमणको समस्या कहिलेसम्म रहन्छ भन्ने निश्चित नहुँदा पर्यटन व्यवसायी थप अन्योलमा छन् । यस्तो बेलामा सरकारले पर्यटन क्षेत्रका लागि राहतको प्याकेज ल्याउन जरुरी रहेको उहाँको माग छ ।

Advertisement

नेपाल सरकारले नै घोषित नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेपछि पर्यटनमा संकट देखापरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले कोरोनाकै कारण पर्यटन व्यवसाय धरासायी हुँदा करोडौंको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो ।

Advertisement

नेपालगंजमा यो समय मानसरोवर जानेहरुको तीर्थयात्री पर्यटक आगमनको सिजन सुरु हुने समय हो । अध्यक्ष काफ्लेले भन्नुभयो, “यतिबेला मानसरोवर जाने पर्यटकहरुका लागि होटल बुकिङ्ग खुला हुन्थ्यो । वैशाखदेखि मानसरोवरको यात्रा सुरु हुन्थ्यो । यही अवस्था रह्यो भने यसपाली मानसरोबर जाने पर्यटकको संख्या शुन्य हुने देखिन्छ ।”

बाँकेका राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार कोरोना सङ्क्रमणपछि १५ दिनदेखि पर्यटकका लागि निकुञ्ज पूर्णरुपमा बन्द गरिएको छ ।

यस्तो अवस्थामा पर्यटक आउँदा त्रास र नआउँदा झन् समस्या देखिएको छ । कोरोना भाइरसकै कारण बाँकेको प्रसीद्ध र ठूलो शक्तिपीठ पूर्णरुपमा बन्द गरिएको छ । एक सातादेखि मन्दीरका सबै ढोकामा ताला लागेको छ । अहिले पुजाआजाका लागि आउने भक्तजनलाई देख्दा पनि डराउनुपर्ने अवस्था रहेको बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगीले बताउनुभयो ।

धार्मिकरुपमा अति संवेदनशील मानिएको इश्लामिक धर्माबलम्बीको नमाजलाई पनि समूहमा नजान औपचारिक आव्हान गरिएको छ । नेपालगन्जकै सबैभन्दा ठुलो जामा मस्जिदले घरमै जुमा आज नमाज पढ्न आग्रह गरेको छ । जामा मस्जिदका महासचिव इरफान सिद्दीकीले विज्ञप्ती जारी गरी महामारीबाट जोगिनका सरकारको निर्देशन पालना गर्न ध्यानाकर्षण गराउनुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*