हेटौंडा अस्पतालको छुट्टै कोठामा ज्वरो क्लिनिक सञ्चालन

नवयुग संवाददाता
२४ चैत्र २०७६, सोमबार २१:३३

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकाबाट उपचार गर्न आउनुभएका ज्वरोसहित सामान्य रोगका बिरामीलाई हेटौंडा अस्पतालको छुट्टै कोठामा ज्वरो क्लिनिक स्थापना गरी आजदेखि सेवा शुरु गरिएको छ ।

उक्त अस्पतालमा आकस्मिक र बहिरङ्ग कक्षको छुट्टाछुट्टै व्यवस्थापन गरी चिकित्सकसहित स्वास्थ्यकर्मीले उपचार सेवामा सक्रियता प्रदान गर्दै आइरहनुभएको अस्पतालका मेसु प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वरो क्लिनिक बहिरङ्ग र आकस्मिक कक्षमा आउनुभएका बिरामीलाई चिकित्सकले परीक्षण गरेपछि रोगको प्रकृति हेरेर अस्पतालको अन्तरङ्ग कक्षमा भर्ना गर्ने र कोरोना रोगको शङ्कास्पद बिरामी भएमा आइसोलेशन कक्षमा पठाइने तयारी गरिएको छ ।

त्यसैगरी उक्त अस्पतालमा कोरोना रोगको सङ्क्रमण शङ्कास्पद बिरामीको पहिचान भइसकेपछि थप उपचारका लागि चार श्ययाको आइसियु कक्ष पनि सञ्चालनमा ल्याइसकिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । उहाँका अनुसार हेटौँडामा निजी क्षेत्रमा सञ्चालन गरिएका विभिन्न अस्पताल र हेटौँडा अस्पतालको सहकार्यमा जिल्लाका सर्वसाधारण बिरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले अस्पतालमा ज्वरो क्लिनिक र एम्बुलेन्स सेवालाई नियमितता दिने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*