राहत वितरणमा अवरोध

नवयुग संवाददाता
१९ बैशाख २०७७, शुक्रबार १५:१६

मेलम्ची । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियत दरमा खाद्यान्न, मल, बीउबिजनलगायत सामग्री वितरण गर्दा काँग्रेसका स्थानीय कार्यकर्ताले अवरोध गरेका छन् । लकडाउन लम्बिएपछि बाह्रविसे नगरपालिकाले नगरभित्रका स्थानीयवासीलाई सहुलियत दरमा मल, बीउलगायत अन्य आवश्यक कृषि सामग्री वितरण गर्न शुरु गरिएको थियो तर काँग्रेसका केही स्थानीय कार्यकर्ताले यो कार्यमा अवरोध गरेको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आरोप लगाउनुभयो ।

“बजारमा एक हजार ७०० बढी मूल्य पर्ने युरिया मल हामीले सबै गाउँमा रु एक हजारमा उपलब्ध गराएका थियौँ, तर काँग्रेसका स्थानीय कार्याकर्ताले राम्रो कार्यमा पनि अवरोध गर्न शुरु गरेका छन्”, प्रमुख शेर्पाले भन्नुभयोे । बजारबाट एक बोरा मल खरिद गरेर नगरको विकट बस्तीमा लैजाँदा प्रतिबोरा रु दुई हजार ७०० सम्म पर्न आउँछ तर नगरले रु एक हजारमा स्थानीयवासीको घरघरमै हामीले मल लगिदिएका छौँ”, प्रमुख शेर्पाले भन्नुभयोे ।

वडा भवन शिलन्यास

मेलम्ची नगरपालिका–२ को वडा कार्यलय भवनको आज शिलन्यास भएको छ । नगरप्रमुख डम्बर अर्याल तथा उपप्रमुख भगवती नेपालले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो । साढे तीनतलाको उक्त भवन इ–लाइब्रेरीलगायत अपाङ्गतामैत्री हुने मेलम्ची नगरपालिकाका सूचना अधिकारी जीतबहादुर कार्कीले बताउनुभयो । हाल जाल्पादेवी माविमा वडा कार्यलय सञ्चालन भइरहेको छ । रु एक करोड ९० लाखमा बन्ने उक्त भवन १८ महिनाभित्रमा निर्माण भइसक्ने उहाँले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले सामाजिक दूरी कायम गरी निर्माणकार्य गर्न व्यवसायीलाई अनुरोध गर्नुभएको छ ।

घरघरमा शिक्षण अभियान

त्रिपुराशुन्दरी गाउँपालिका–३ धुस्कुनले घरघरमा शिक्षण अभियान शुरु गर्ने भएको छ । वडा समितिको बैठकको निर्णयअनुसार अन्तिम परीक्षाको नतिजाअनुसार विद्यालयले नै भर्ना गर्ने र अन्य विद्यालयबाट आउने विद्यार्थीलाई सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा भर्ना गरिने वडाध्यक्ष सुकदेव रिसालले बताउनुभयो ।

उहाँका अनुसार छुट भएका विद्यार्थीलाई स्वयंसेवक परिचालन गरी भर्ना तथा पुस्तक घरघरमै पुगेर वितरण गरिने छ । भर्ना यही वैशाख २६ गतेभित्र गरिसक्ने उहाँले जानकारी दिनुभयो । धुस्कुनमा आठ विद्यालयमा ६०० विद्यार्थी अध्ययनरत छन् ।

बेपत्ता भएका सुरजको उद्धार

चौध दिनदेखि हराइरहेका सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–४ का सुरज लामालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवा नुवाकोट र सिन्धुपाल्चोक सीमा क्षेत्र सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडाँै लगिएको छ । लकडाउनका कारण पैदल हिँडेर घर आउँदै गरेका उनी ७ वैशाखमा रसुवास्थित सूर्यकुण्ड भन्ने स्थानमा हिउँमा फसेका थिए । १० दिनसम्म हिउँमा फसेका उनी ११औँ दिनमा हिउँबाट निस्किन सफल भएर सूर्यकुण्ड फेदीस्थित गोठमा बसेका थिए ।

वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आउनुभएको थियो । सुरजले आफू ८ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताउनुभएको थियो । सुरजलाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र नेकपा केन्द्रीय सदस्य माधव सापकोटको विशेष पहलमा उद्धार गरिएको हो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । उनी रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनमा कार्यरत थिए । वैशाख ६ गते मेलम्ची हुँदै घर हिँडेका उनी गोसाइँकुण्डको तारेभिरमा फसेका थिए ।

श्रीमतीको हत्या

हेलम्बु गाउँपालिका–७ बङ्गारेमा एक जनाको हत्या भएको छ । बिहीबार दिउँसो रामबहादुर तामाङले ३० वर्षीया श्रीमती अस्मिता तामाङलाई भैँसी बाँध्ने काठको किलोले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकामा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिनुभयो । निज रामबहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*