शेयर कारोवार बन्द

नवयुग संवाददाता
१ जेष्ठ २०७७, बिहीबार १४:४८

 

काठमाडौँ । लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मङ्गलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो । लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डको निर्देशनअनुसार आज बसेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको निर्णयअनुसार कारोवार स्थगन गरिएको हो । नेप्सेका उपप्रबन्धक प्रविन पान्दाकका अनुसार लकडाउन अवधिभर बजार अब बन्द रहनेछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*