बागमती प्रदेशमा लकडाउन उल्लंघन गर्ने १० हजार सवारी कारबाही

नवयुग संवाददाता
१ जेष्ठ २०७७, बिहीबार १८:३४

मकवानपुर । कोरोना भाइरस जोखिम नियन्त्रणका लागि देशभर जारी लकडाउन उल्लंघन गर्ने सवारी साधान र मानिसलाई धमाधम कारबाही सुरु गरिएको छ । सरकारको निर्देशन अवज्ञा गर्दै अनावश्यक रुपमा घर बाहिर निस्कने र बिनाकाम हिँड्ने सवारीसाधन र मानिस नियन्त्रणमा लिएर धमाधम कारबाही गर्न थालिएको छ ।

बागमती प्रदेशका दस जिल्लामा (काठमाडौं उपत्यकाबाहेक) चैत ११ गतेदेखि हालसम्म लकडाउन उल्लघंन गर्ने दस हजार ९२ वटा सवारी साधन र ४ हजार आठसय २० मानिस कारबाहीमा परेका छन् । लकडाउन उल्लघंन गर्ने सवारी र मानिसलाई नियन्त्रणमा लिँदै कारबाही गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

लकडाउनको समयमा सडकमा समूह बनाएर हिँड्ने, काम बिना हिँड्डुल गर्नेलाई नियन्त्रणमा लिइएको लामाले बताए । विगत दुई दिनदेखि एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा पनि कडाइ गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए ।

काठमाडौं उपत्यका प्रवेशमा कडाइमा साथ निगरानी बढाएको उनको भनाइ छ । तराईबाट वाग्मती प्रदेशको सदरमुकाम हेटौंडा प्रवेश गर्ने पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटे नाका बन्द गरिएको छ । अत्यावश्यक सवारीबाहेकलाई प्रवेशमा रोक लगाइएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए ।

छिमेकी जिल्ला बारा, पर्सा, रौतहटमा कोरोना संक्रमितको संख्या बढेपछि बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश–२ बाट हेटौंडा प्रवेश गर्ने रातोमाटे नाका निरीक्षण गर्दै जथाभावी सवारी र मानिस आवतजावतमा कडाइ गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकारले अन्य प्रदेशसँग जोडिएको सीमा सिल गरिदिन संघीय सरकारलाई आग्रह गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*