बागमती प्रदेशका अधिकांश क्वारेन्टाइन मापदण्ड नपुगेका

नवयुग संवाददाता
७ जेष्ठ २०७७, बुधबार ०९:३६

मकवानपुर । बागमती प्रदेशमा प्रायः जसो क्वारेन्टाइनमा मापदण्डअनुसारका सुविधा छैनन् ।

मकवानपुर हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी र मनहरी गापामा गरेर २ सय १८ जना अट्ने क्वारेन्टाइन बनाइएको छ । तीमध्ये थाहाले होटलमा क्वारेन्टाइन बनाएकाले सुविधायुक्त छ । उक्त क्वारेन्टाइनमा चिकित्सकको पनि व्यवस्था गरिएको छ ।

हेटौंडा—११ को एक बोर्डिङ स्कुलमा बनाएको क्वारेन्टाइन काम चलाउमात्रै छ । क्वारेन्टाइनमा हालसम्म ५४ जनामात्र बसेका छन् । चितवनका ७ वटै स्थानीय तहमा २ सय ९१ जना क्षमताको क्वारेन्टाइन छ । मापदण्डअनुसारका क्वारेन्टाइन निर्माण गर्न नसकेको पालिकाका प्रतिनिधिहरूले स्विकारेका छन् ।

अधिकांश पालिका प्रमुख र वडाध्यक्षहरू क्वारेन्टाइन सञ्चालनका लागि बजेटको समस्या हुने गरेको गुनासो गर्छन् । ‘एक त ठाउँ पाउन गाह्रो हुन्छ । ठाउँ पाए पनि मापदण्ड पूरा गरेर क्वारेन्टाइन चलाउन बजेट छैन । वडा तहमा राख्ने भने पनि राख्न सकेका छैनौं ।’ भरतपुर महानगर–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङले भने । सिन्धुली सदरमुकाममा ३९ बेडको क्वारेन्टाइन व्यवस्थित भएको प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले बताए । जिल्लाभर ३ सय १९ जना अटाउने क्वारेन्टाइन छन् ।

सिन्धुपाल्चोकका अधिकांश क्वारेन्टाइन मापदण्डअनुसारका छैनन् । एउटा कोठामा दुई वटा खाट भए पनि तन्ना पनि फोहोर छ । शौचालय व्यवस्थित छैनन् । क्वारेन्टाइनमा कुनै मेडिकल सामग्री, स्वास्थ्यकर्मी छैनन् । जिल्लाभरिका क्वारेन्टाइन र आइसोलेसनको अनुगमनमा पुगेका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले कतै पनि सन्तोषजनक नभएको बताए ।

वाग्मतीमा उपत्यकाबाहेक १० जिल्लामा ३ हजार २ सय १८ जना अट्ने क्वारेन्टाइन अधिकांश मापदण्डअनुरूप रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*