हेटौंडाका सुदर्शनः ‘जो बाँच्न चाहन्छन्, बचाउने भेटेनन्’

उज्वल अधिकारी
८ जेष्ठ २०७७, बिहीबार १८:०२

मकवानपुर । यो कथा होइन, प्रत्यक्ष देखिएको र भोगिएको उदाहरण हो । यस्तो उदाहरण जसले विपन्न भएकै कारण मृत्युलाई नजिकबाट नियालिरहेका छन् । उपचार गर्न पर्याप्त रकम नहुँदा अकालमै ज्यान गुमाउने स्थितिमा पुगेका सुदर्शन परियारको वास्तविक अवस्था हो । यसअघि क्षयरोगबाट तंग्रिएका सुदर्शनले त्यसबखत् सरकारबाट निःशुल्क उपचार पाए । क्षयरोगलाई जितिसकेपछि उनले ब्रेनट्युमरको पीडा भोग्नुपर्यो ।

हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित सिमलथली निवासी ३५ वर्षिय परियार पेशाले सिलाइकर्मी हुन् । मासिक जसोतसो १५ हजार आम्दानी गर्ने परियार परिवारमा ९ सदस्य छन् । ती ९ जनाको लालनपालन सुदर्शन एक्लैले व्यहोर्छन् । तर, अहिले उनी थलिएपछि परिवारमा भोकमरी लाग्न थालेको छ । कोरोना प्रभाव र लकडाउनले उनको परिवारमा अभाव सुरु भएको होइन । सुदर्शन ब्रेनट्युमरबाट ग्रसित छन् । उनको उपचारका लागि घरबारी सबै बेच्दा पनि रकम जुट्ने अवस्था छैन् । उपचार नभए उनको ज्यान जाने निश्चित छ । आफ्नो ज्यान जाने निश्चित भएको थाहा हुँदापनि विगत २ वर्षदेखि ब्रेनट्युमरको उपचार गराउन सक्ने उनको परिवारको ल्याकत छैन् । मृत्युलाई नजिकबाट नियाल्नुको विकल्प पनि छैन् ।

यस्तो अवस्थामा उनले सहयोगको याचना मात्र गरेका छैनन् , निःशुल्क उपचारका लागि हारगुहार गरिरहेका छन् । कहिले वडा कार्यालय त कहिले टोल विकास र समाजसेवीसँग सहयोग माग्दा पनि उनले कुनै आश्वासन पाएका छैनन् । वडा कार्यालयले चन्दा माग्ने पत्र बनाइदिएको छ । लकडाउनका कारण उनले कोही कसैसँग चन्दा पनि माग्न सकेका छैनन् । आफु कामबिहीन भएपछि परिवारमा भोकमारी मेटाउन उनी जुटिरहेका छन् ।

उपचारका लागि सरकारबाट सहयोग हुन्छ भन्ने थाहा भएपनि वडा कार्यालयले आवश्यक प्रक्रिया अघि नबढाउँदा उनी अन्यौलमा छन् । यस विषयमा नवयुग डटकमले खोतल्ने प्रयास गरेको छ । कुराकानीका क्रममा उनी भन्छन्, ‘सहयोग नपाए म बाँच्न सक्दिन ।’ करिब ५ लाख रुपैयाँ उपचार खर्च लाग्ने अस्पतालले बताएपछि उनी खर्च जुटाउने कोशिसमा छन् । तर, कहाँबाट कसरी सहयोग पाइन्छ भन्नेबारे आफु अनभिज्ञ रहेको सुदर्शन बताउँछन् ।

सुरुवातीमा परिवारले चिन्ता लिने भन्दै आफुले केही नबताएको र टाउको दुखाई बढ्दा ज्वरोका लागि प्रयोग गरिने ‘फ्ल्याक्सन’ खाने गरेको उनले दुःखेसो सुनाए । पछिल्लो चरणमा उनको रोगबारे परिवार र आफन्तलाई जानकारी भएपनि उपचारका लागि कुनै विकल्प छैन् ।

यतिसम्म कि आर्थिक अभावका कारण उपचार नै नगर्ने सोचमा सुदर्शन पुगिसकेका थिए । तर, आफुले सहयोग पाएमा बाँच्ने झिनो आशा लिएका उनी सबैसँग सहयोगको याचना गर्दछन् । कसैको सानो सहयोगले आफ्नो ज्यान बचेमा परिवारका सबै सदस्य पाल्नुपर्ने आफ्नो दायित्व रहेकोले जीवनमा खुशी फर्कनेमा उनी आशावादी छन् ।

अहिलेसम्म उनलाई सहयोग गर्न हेटौंडाका युवा उद्यमी बुद्धराज अर्याल तयार छन्, तर अर्याल एक्लैको सहयोगले सुदर्शनको उपचार सम्भव छैन् । युवा उद्यमी अर्याल भन्छन्, ‘म सुदर्शनलाई सहयोग गर्न तयार छु । यतिले मात्रै उनको उपचार पूरा हुन सक्दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*