दशरथ रंगशाला क्वारेन्टिनलाई नदिन माग

नवयुग संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार १५:५०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिनका लागि नदिन राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग माग गरेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण खतरा न्युनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलेपछि अध्यक्ष शेर्पाले त्यसलाई नराम्रो खबर भनेका छन् ।

‘दशरथ रंगशालामा छिर्दै गर्दा एउटा नराम्रो खबर सुने । हामीले रंगशालाको मैदानलाई लकडाउनमा पनि मर्मत सम्भार गरिरहेका छौं । अन्तर्राष्ट्रिय स्तरको रंगशालामा बनाउने हो भने क्वारेन्टिन बनाउन नदिनका लागि सदस्यसचिवले प्रयास गर्ने विश्वास गरेका छौं,’ अध्यक्ष शेर्पाले शुक्रबार रंगशालामा ‘ए’ डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा भने ।

‘यदि क्वारेन्टिइन राखेको खण्डमा हप्तादश दिन भित्रै घाँस उक्किन्छ । मैदान बनाउन फेरि जिरोबाट सुरु गर्नुपर्ने हुन्छ । त्यसैले सदस्य सचिवसमक्ष कम्तीमा मैदानमा क्वारेन्टिन नराखेर अन्य स्थानमा राख्न अनुरोध गर्दछु ।’

यस्तै अध्यक्ष शेर्पाले मैदानको विकल्प दिन एन्फा तयार रहेको बताउदै क्वारेन्टिनको लागि स्कुल कलेजलाई अनुरोध गर्न सकिने बताए । यसअघि एन्फाले रौतहटको महिला फुटबल एकेडिमी र बुटवलको एन्फा टेक्निकल सेन्टर भने क्वारेन्टिनका लागि उपलब्ध गराएको थियो ।

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नेपालको अन्तर्राष्ट्रिय रंगशाला गत मंसिरमा भएको १३औं सागका लागि पुनर्निर्माण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले दशरथ रंगशालामा क्वारेन्टिन बनाउने विषयमा केही नबोलेपनि उनले रंगशालालाई क्वारेन्टिनमा प्रयोग गर्न नहुनेप्रति संकेत गरे ।

कोरोना कहर शुरु हुनुअघि एन्फाले ३ फागुनपछि विश्वकप छनोटका दुई खेलका लागि दशरथ रंगशालाको मैदानको मर्मत थालेको थियो । रंगशालामा विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनविरुद्धका खेल तय भएपनि कोरोनाका कारण अनिश्चित कालका लागि स्थगित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*