बारीमा सलह फैलिएको छ ? बागमती प्रदेश सरकारले प्रतिकिलो ३० रुपैयाँ दिन्छ !

नवयुग संवाददाता
१५ असार २०७७, सोमबार १२:५५

मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह समात्नेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको छ ।

सलह नियन्त्रणका लागि आइतबार मन्त्रालयले सलह समातेर नष्ट गर्न प्रोत्साहन गर्ने उद्देश्यले सलह समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको हो ।

यसबाट स्थानीयहरू प्रोत्साहित भएर सलह समात्न लागिपर्ने अनुमान मन्त्रालयले गरेको छ । मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बागमती प्रदेशका आठ जिल्लामा सहल देखिएकाले नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्न प्रोत्साहन रकम दिने निर्णय भएको जानकारी दिए ।

‘सलहको संकलन गर्ने व्यक्ति, समूह, संस्था, निजी क्षेत्रहरूलाई ३० रुपैयाँ प्रतिकिलोको दरले रकम दिने सम्बन्धमा कार्यविधि तयार गर्ने र सो कार्यविधि आर्थिक तथा योजना मन्त्रालयमा सहमति लिने निर्णय भएको छ,’ उनले भने ।

सलह समात्नेलाई पैसा दिने घोषणा गर्ने बागमतीको कृषि मन्त्रालय तेस्रो निकाय हो । यसअघि सलह समात्नेलाई प्रदेश ५ ले प्रतिकिलो २० रुपैयाँ र सुदूरपश्चिम प्रदेशले प्रतिकिलो २५ रुपैयाँ दिने घोषणा गरिसकेका छन् ।

शनिबार बिहान नेपाल भित्रिएको सलह सोही दिन साँझबाट सिन्धुली र काभ्रे हुँदै बागमती प्रदेशमा देखिन थालेको थियो । सोमबारसम्म बागमती प्रदेशका आठ जिल्लामा सलह फैलिइसकेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको बागमती नगरपालिका– ६, महांकालमा आइतबार दिउँसो ३ बजे सलह देखिएको थियो ।
नयाँ पत्रिका डेलीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*