घुस लिने मकवानपुरका दुईसहित चार प्रहरी निलम्बित

नवयुग संवाददाता
१४ श्रावण २०७७, बुधबार १८:५९

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका चारजना प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) सुदीप गिरीले जानकारी दिए । उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

निलम्बनमा पर्नेमा ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकास जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महत्तो रहेको प्रवक्ता गिरीले जानकारी दिए ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*