लागुऔषध नियन्त्रणमा लिन गएको प्रहरीमाथि आक्रमण : तीन प्रहरी घाइते

नवयुग संवाददाता
१६ श्रावण २०७७, शुक्रबार १०:१३

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–१ खोरैयामा प्रहरी टोलीमाथि बिहीबारराति आक्रमण भएको छ। लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्री गर्ने काम भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीमाथि गाउँलेले घेरा हालेर आक्रमण गरेका हुन्।

लागुऔषध नियन्त्रणमा लिनका लागि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा सादा पोसाकको टोली परिचालन गरेका थिए। थप मद्धतका लागि गएको हतियारसहितको टोली पुग्न नपाउँदै सादा पोसाकको टोलीमाथि आक्रमण भएको एसपी खड्काले बताए। उनकाअनुसार प्रहरी पुग्न साथ स्थानीय बासिन्दा लाट्ठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए। गाउँलेको आक्रमणमा परेर तीन जना प्रहरी घाइते भएका छन्। प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी घाइते भएको एसपी खड्काले बताए।

घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ। प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ। अरु घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। आक्रमणमा प्रहरीले बोकेका मोबाइल पनि फुटेका छन्।

प्रहरी आएको थाहा पाएर लागुऔषधको अवैध कारोबार गर्ने व्यापारीले गाउँलेलाई उकासेर आक्रमण गर्न लगाएको खुलेको एसपी खड्काले बताए। आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायरसमेत गरेको जानकारी उनले दिए। ‘तत्काल हवाई फायर नगरेको भए आक्रमणबाट थप क्षति बेहोर्नु पर्ने अवस्था आउने थियो,’ खड्काले भने। त्यसपछि ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको उनको भनाइ छ। आक्रमण भएपछि प्रहरीले स्थानीय स्तरमा स्टोर गरेर राखेको भनिएको लागुऔषध भने बरामद गर्न सकेन। प्रहरीले लागुऔषधको अवैध कारोबार गर्नेहरुको पहिचान गरेर खोजी थालिएको जनाएको छ।

घटनामा संलग्नहरु ३६ वर्षीय बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेवलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको एसपी खड्काले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*