अभिभावकविहीन बालबालिकालाई भत्ता

नवयुग संवाददाता
१७ श्रावण २०७७, शनिबार १९:५२

डोटी । सायल गाउँपालिकाले एकल पुरुष र अभिभावक विहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । जिल्लाको रहेका नौ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले पहिलो पटक भत्ता वितरण गर्न शुरुआत गरेको हो ।

गाउँपालिकाले दलित र गैरदलित समुदायका ५० देखि ६० वर्षसम्मका एकल पुरुषलाई मासिक रुपमा रु ५०० सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको हो । त्यसैगरी आमा बुवा नभएका बालबालिकालाई मासिक रु एक हजारका दरले भत्ता दिन थालिएको छ । आव २०७६/७७ को गाउँसभाबाट एकल पुरुष र बुवाआमा नभएका बालबालिकालाई सामाजिक सुरक्षा दिने प्रस्ताव पारित भएसँगै कार्यविधि निर्माण गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिन थालिएको गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।

गाउँपालिका भित्रका ४३ जना पुरुष र विद्यालय नियमित जाने आमाबुवा विहीन १७ जना बालबालिकालाई अघिल्लो आर्थिक वर्षको रकम एकमुष्ट यस वर्षको साउन महिनामा वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता दिने कार्यको शुरुआत सायल सायल–४ बाट गरिएको छ । भत्ता पाउन थालेपछि त्यहाँका एकल पुरुष तथा आमाबुवा विहीन बालबालिका निकै खुसी भएका छन् ।

सबै सवारी पास खारेज

जिल्लामा पछिल्लो केही दिन यतादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले जिल्लाबाट जारी गरिने अत्यावश्यक बाहेक अन्य सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्म का लागि बन्द गरेको छ । डोटीसहित सुदूरपश्चिम प्रदेशका कैलाली तथा कञ्चनपुर जिल्लामा कोरोना भाइरसको सङ्क्रमितका बिरामी बढी रहेका र समुदायस्तरमा सङ्क्रमण हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराइले बताउनुभयो ।

जिल्ला बाहिर आवतजावत गर्ने गाडीको पास बन्द गरिए पनि आन्तरिक रुपमा सञ्चालन हुने यातायातको हकमा भने अनुमति रहेको र कोरोना सङ्क्रमणको जोखिम कम हुने उपाय अवलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका अन्य गाडीलाई अन्तर जिल्ला प्रवेशमा रोक लगाउन सूचना जारी गरेपछि यहाँको प्रहरी प्रशासनले उक्त नियमको कडा रुपमा पालना गर्न थालेको छ ।

पछिल्लो समय यहाँको प्रहरीले अन्तर जिल्ला सञ्चालन हुने सवारी साधनमा रोक लगाउनुका साथै पास लिएर आएका सवारी साधन कडा रुपमा चेक जाँच गरी भित्रिन र बाहिरिन दिन थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि गृह मन्त्रालयको आदेशअनुसार हामीले अन्तर जिल्ला सञ्चालन हुने सवारी साधनमा कडाइ गरेका छौँ, हाम्रो उद्देश्य समुदायस्तरमा कोरोना नफैलियोस् भन्ने हो ।” जिल्लामा हालसम्म ५६८ मा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*