हेटौंडाकी लोप्चनले जन्माइन् पाँच किलोको बच्चा

नवयुग संवाददाता
२७ श्रावण २०७७, मंगलवार ०९:५८

मकवानपुर । मकवानपुरको हेटौंडाकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छिन् ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत साविकको चुरीयामाई–९(हाल हेटौंडा उपमहानगरपालिकामा पर्ने ) घर भएकी ३० वर्षीया सीता लोप्चनले हिजो (सोमबार) पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले हिजो बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारण समेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।

भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ ।

लोप्चनको डा बन्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रिया मार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*