भीमसेन थापाका भाइको घर नभत्काउन सर्वोच्चको आदेश

नवयुग संवाददाता
३० भाद्र २०७७, मंगलवार २१:१०

काठमाडौं । सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को काठमाडौं, लगनस्थित पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपक्षीलाई बाटाको म्यादबाहेक १५ दिनभित्र प्रमाण भए प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, प्रधान सेनापतिको कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका २१ नम्बर वडा कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

सर्वोच्चको आदेशमा ‘पेशी तोकिएको अवधिसम्मका लागि निवेदनमा सिलखाना क्षेत्रमा कुनै किसिमको निर्माणकार्य लगायत स्वरुप बिगार्ने, भग्नावशेष हटाउने कार्यसमेत नगरी सुरक्षित राख्नुरराख्न लगाउनू’ भनिएको छ ।

सर्वोच्चले यो रिटमा आगामी ८ असोजका लागि पेशी तोकेको छ । निवेदकको तर्फबाट बहस गरेकामध्ये एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं महानगरपालिकाले लगनपार्क बनाउने नाममा ऐतिहासिक र पुरातात्विक महत्वको भवन नाश पार्न खोजेको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*