कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला आईसीयूमा

नवयुग संवाददाता
३१ भाद्र २०७७, बुधबार १२:५८

फाइल फोटो

काठमाडौं । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई मंगलवार रातिदेखि अस्पताल भर्ना गरिएको छ । कोइरालालाई काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको आईसीयूमा राखिएको छ । अस्पतालका मेडिकल निर्देशक डा. विश्वनाथ कोइरालाका अनुसार शशांकलाई अक्सिजन भने दिनुपरेको छैन ।

‘महामन्त्री कोइरालालाई निमोनिया भएपछि आईसीयूमा राखेका छौं, तर अक्सिजन दिनुपरेको छैन’ निर्देशक कोइरालाले भने । घरमै आइसोलेसनमा बसेका कोइरालालाई अप्ठ्यारो महसूस भएपछि मंगलवार राति अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले भदौ २४ गते बुधवार बीपी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेका थिए । कोइरालालाई कोरोना देखिएपछि महाधिवेशन कार्यतालिका हेरफेर गर्न बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

शशांकले आगामी चौधौं महाधिवेशनमा कांग्रेसको नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*