अनौठो प्रेम

सशिता दंगाल
१ आश्विन २०७७, बिहीबार १३:४४

सधैजस्तो नै थियो दिन, उहि कार्यालय, उहि काम, उहि मान्छेहरु, उहि चहलपहल, सामान्य थियो…… तर कार्यविशेष ले त्यो दिन टेलिफोन मार्फत मेरो कुरा भयो उ संग । खास लागेन मलाई, किनकि त्यो मेरो कामको सामान्य प्रक्रिया मात्र थियो ।

दुई तिन दिन बिराएर काम विशेष अब लगभग ६–७ पटक कुरा भएपश्चात मलाई उसको आवाज साह्रै मिठो लाग्यो । सुरिलो स्वर, अनि त्यसमा मिसिएको आदर, एउटा नारी प्रति गर्नुपर्ने सम्मान, आफ्नो काम प्रतिको ढृणता, आत्मविश्वास, अनि उसको आकर्षक व्यत्तित्व सबै कुरा मैले उसको आवाजमा चाल पाउथे । अनि कौतुहलता जाग्यो मनमा उ कस्तो होला भनेर । तर विडम्बना मलाई उसको पुरा नाम थाहा थिएन त्यसकारण सामाजिक संजालमा भेट्टाउने कुरै भएन, अनि सोचमा परे आखिर कसरी पुरा हुन्छ मेरो चाहना ?

केहि दिन त यसरीनै बित्यो, त्यसबिच पनि उ संग कुरा नभएको भने होईन तर नितान्त अफिसियल, कहिल्यै सोध्ने आंट आएन हजुरको नाम के हो ? भनेर । एकदिन मेरो मानसपटलमा एउटा जुक्ति आयो, अनि आफ्नो स्मार्टफोन जो निकै स्मार्ट थियो, त्यसमा उसको नम्बर फीड गरे अनि भाइबर मा उसलाई खोजे , नतिजा मेरो ओठ दुई कानसम्म पुग्ने गरी मुस्काए । हो तपाईले ठिक बुझ्नु भयो मैले उसको तस्विर देखें !

उसको तस्विर देखेर म दंग परे । २–४ पटक मोबाईल बन्द गर्दै, खोल्दै गरेर उसलाई नियाँले, मेरो मुहारमा रोमान्चकताका रेखाहरु स्पष्ट देखियो । अनि म्यासेज टाईप गरे हाई, अनि फेरी मेटाए । भोलि मलाई चिनेपछि के भन्नेहोला ? कति उत्ताउली केटी पो भन्ने हो कि ? उसलाई आफ्नो काम प्रति निकै लगाव थियो, त्यहि कामको सन्दर्भमा हाम्रो कुराकानी भएको थियो । म कामको सन्दर्भमा कति प्रश्न गर्थेँ , तर उ कत्ति झर्को नमान्ने प्रकृतिको मान्छे या भनौ असाध्यै सालिन मान्छे । मेरो हरेक प्रश्नलाई केलाएर त्यसमा जीवन भरेर आदरताका साथमा मेरा सबै भ्रमलाई चिर्दै मेरो जिज्ञासा मेटाउने उसको व्यवहारले मन छोएको थियो मेरो । थाहा छैन उ आफ्नो शालिनता संग परिचित थियो या थिएन तर म परिचित थिएं ।

मैले आफ्नो मनमा यति राम्रो चित्र बनाएको छु उसको, कतै मेरो एउटा बालापनले मेरो बारेमा नराम्रो सोच त आउँदैन उसको ? यहि डरले रोक्यो मलाई , तर कति बेर ? मन डराउदै थियो तर मेरा औलामा टुप्पाहरूले हिम्मत देखाए आखिर त्यो म्यासेज गएरै छोड्यो । अर्कोदिन साँझ करिब ६ बजेतिर मोबाईल टुङ्ग बज्यो हेरेको त उसैले फिर्ता गरेको हाई रहेछ म दङ्ग परेर ङिच्च हाँसे ।

एक किसिमको कौतुहलता जाग्यो, जीउ सिरिङ्ग भयो मनमा प्रश्न आयो अब के ? मेरो उट्पट्याङ्ग हरकतले उ रिसायो भने ? अनि चिनजान नगरी कुरा गर्ने निर्णय गरे । टिनएजमा साथिहरुसंग मिलेर प्राय गरिन्थ्यो यस्तो । चिनेकै मान्छेलाई नचिने झंै आफ्नो परिचय लुकाएर गफ मा व्यस्त भईन्थ्यो । अनि मैले प्रश्न गरे के छ ? भनेर , अर्कोदिन उत्तर आयो ठिक छ । फेरी तुरुन्तै सोधें – चिन्नुभयो ? अंह चिनिन । खिस्स हाँसे म, कसरी चिन्नु र मलाई । हामिले कुरा त गर्यौ तर मैले चिनाईन आफुलाई, खाली यत्ति भने कि हामिबिच प्रोफेसनल नाता छ । राती कुरा गर्ने वाचा सहित हामी बिदा भयांै । राती फेरी कुरा भयो कुरै कुरा मा मैले सामान्य हिन्ट दिए उसले चिन्यो । प्रत्येक दिन हामी च्याट गर्न थाल्यांै । विस्तारै लगाव हुन लाग्यो उ प्रति । म सहि थिए गलत थिए केहि थाहा भएन तर यति थाहा थियो कि उ संग कुरा नगरी बस्न नसक्ने भएको थिए अथवा यसरी भनौ कि आदत भयो उसको । उ पनि नहिचकिचाई घण्टौ कुरा गर्दथ्यो तर मेरो बारेमा के सोच्थ्यो थाहा छैन म भने दिन व दिन उसको हुदै गए । एकदिन कुरा नहुँदा सबै सकिएजस्तो र एकछिन उसको साथ हुदा संसार जितेजस्तो । उसमा यस्तो अदृश्य शक्ति थियो कि म उ प्रति नतमस्तक हुदै गए ।

हामि बीच औपचारिकता बाँकी थिएन, क्रमशः म उ तिर आकर्षित हुँदै गएँ । जादु थियो उसको आवाजमा जसले म जस्तो पत्थर दिल मान्छेलाई मैन बनाएको थियो । जबकि मलाई थाहा थियो यो आकर्षण को या भनौ उ प्रति उम्रदै गएको मायाको कुनै गन्तव्य छैन । म आफैले एकदिन यो मुना लाई निमोठेर फाल्नुपर्छ तरपनि म रोक्न सकिरहेको थिईन आफुलाई । उसको साथमा म यति रमाउन थाले कि मैले आफ्नो वास्तविकता भुल्न थालीसकेको थिए । पृष्ठभुमि बिर्सेर मैले माया गरे उसलाई, हो माया नै हो जे मैले गरे । प्रेम पाउने र गुमाउने, सफल र असफल हुने कुरा होईन प्रेम त केवल प्रेम हो । मलाई यो सब स्मरण गर्दा कुनै पश्चाताप छैन कि मैले जसलाई माया गरे उ मेरो थिएन कैले पनि थिएन, किनकि प्रेम आफ्नो, अर्का, फाईदा बेफाईदा, हेरेर गरिन्न यदि गरिन्छ भने त्यो प्रेम होईन । “जीवनमा कोही किन यति खास लाग्छ ? कोहीको एक शव्दले मन चङ्गा भईदिन्छ ? कोहीको मौनता मनमा उथलपुथल गराईदिन्छ , के प्रेम हुन भेट्नु जरूरी छ ? ? घण्टौ कुरा गर्नु जरूरी छ ? छुन जरुरी छ ? प्रेम के हो आखिर ??” कतै पढेका यी कुराले मलाई पनि कोट्टाउंदै थियो ।

उसको निम्ति मेरो प्रेमले शिखर चुम्दै थियो, तर यो नितान्त गलत पनि थियो । उसले पनि प्रेम नगरेको त पक्कै होईन नत्र कसैसंग घण्टौ कुराकानीमा किन व्यतित हुदो हो हाम्रो दिन रात । हामी दुवैले आफ्नो धरातल बिर्सेका भने कदापि होईन, म विवाहित नारी , उ अविवाहित ठिटो एक अनमेल सम्बन्ध । कहिले कहिले त झोक नि चल्थ्यो बाउ आमालाई किन हतार परेको होला मेरो बिहे गर्न भनेर । मैले आफ्नो वैवाहिक सम्बन्धमा सायद त्यति आत्मियता कहिल्यै महसुस गरेको थिन जति उ संग गरे । २ – ४ महिना यसरी नै बित्यो उ आफ्नो लागी केटि हेरेको कुरा सुनाउथ्यो म केहि निराश पक्कै हुन्थे तर उसको अगाडी पनि उसको पुरा भविष्य थियो म हौसला दिन्थे आखिर एकदिन गर्नु नै छ किन ढिला गर्ने , मन कुडाएर उसलाई प्रेरणा दिन्थे । उसले कैले मसंग प्रेमको दाबी गरेको थिएन तर यसको मतलब यो पक्कै होईन कि उसले मसंग प्रेम नै गरेन । हरेक प्रेमले जीवनमा नाम पाउनु जरुरी छैन, म त यसमै खुशि थिए कि मैले आफ्नो जीवनभरको लागी चाहिने आत्मियता उ बाट बटुलिसकेको थिए ।

कुनै चलचित्र भन्दा कम थिएन हाम्रो कथा, न चिनजान थियो न देखेका थियौं बेलगाम घोडा जस्तो मन चाहि दौडिरहने यताबाट उता , उता बाट यता । सिन्दुर पोतेको भारलाई चिर्दै माथि उठेको थियो मेरो मुटु । सरसर्ति हेर्दा केहि कमि छैन मेरो जीवनमा धन, सम्पत्ति, भरिपुर्ण परिवार सबै थियो तर पनि मनको कुनै कुनामा केहि असन्तुष्टी जीवितै रैछ जसले मलाई चोरबाटो हुदै उसको समिप पुर्यायो । केहि समयकै लागी सहि तर म पनि खुशि भएँ ।

एकदिन अचानक उसले भन्यो मेरो त बिहे तय भयो नि ।

मेरोलागी त्यो सहज पक्कै थिएन तर नौलो पनि थिएन । थाहा थियो यो त हुन्छ एक न एक दिन । उसको हात समाएर आफ्नो पुरानो जिन्दगी त्याग्न सक्ने हिम्मत थिएन र त मैले पनि हाम्रो छलाछुल्ल पोखिएको माया वश हेरिमात्र रहे । उसलाई नयाँ जीवनको शुभकामना दिदै बिस्तारै हाम्रो कुराकानी कम हुदै गयो । अन्तत हामी आ– आफ्नो बाटो लाग्यौ । सपना जस्तो थियो हाम्रो प्रेमिल सम्बन्ध छन त थियो यसमा दुईमत छैन तर यर्थाथको धरातलमा केहि अवशेष बाँकि छैन ।

सपनामा जस्तै पात्रहरु जीवितै थिए तर कुनै पात्र लाई केहि भनको छैन शिवाय उ र म ।
आज न कुनै गुनासो छ मलाई उप्रति, न खेद नै छ आफुप्रति, अरुको नजरमा उमेरको उन्माद होला त्यो तर मेरो नजरमा चोखो प्रित थियो, मिठो याद थियो, सदाको लागी साँच्ने सम्झना थियो । सुबिन भट्टराई को शब्दमा “हामिबीच प्रेम थियो कि थिएन थाहा छैन तर जे थियो त्यो प्रेम जस्तै मिठो थियो” ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*