लागुऔषध मुद्दामा मुछिएका शीर्ष ६ बलिउड अभिनेत्री

नवयुग संवाददाता
७ आश्विन २०७७, बुधबार १७:५८

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको अनुसन्धान अहिले बलिउडमा लागुऔषध मुद्दासँग जोडिएको छ । यो मुद्दामा एकपछि अर्को गर्दै बलिउडका थुप्रै ए-ग्रेडका कलाकारहरुको नाम सार्वजनिक भइरहेको छ ।

लागुऔषधको मुद्दामा अहिले एनसीबीले सोधपुछ जारी गरिरहेको छ । सोधपुछको क्रममा बलिउडका शीर्ष ६ जना अभिनेत्रीहरुको नाम सार्वजनिक भएको छ । यी सबै अभिनेत्रीहरुको सम्बन्ध कुनै समय क्‍वान कम्पनीका ट्यालेन्ट म्यानेजर रहेकी जया शाहसँग रहेको अनुसन्धानले देखाएको छ ।

एनसीबीले अहिले जया शाहसँग सोधपुछ गरिरहेको छ । रिया चक्रवर्तीसँगको लागुऔषधसम्बन्धी गरेको कुराकानीमा उनको नाम आएपछि एनसबीले अहिले उनीसँग सोधपुछ थालेको हो । उनले सुशान्तलगायत बलिउडका थुप्रै कलाकारसँग काम गरिसकेकी छन् । रियाका साथै जयाले पनि थुप्रै बलिउडकर्मीहरुको नाम एनसीबीलाई दिएकी छन् ।

लागुऔषध मुद्दामा मुछिएका बलिउडका शीर्ष ६ अभिनेत्री

रिया चक्रवर्ती

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणकी मुख्य आरोपित रिया चक्रवर्ती लागुऔषध मुद्दामा नाम आएकी पहिलो अभिनेत्री हुन् । अनुसन्धानका क्रममा उनको ह्वाट्स एपमा भएको ‘ड्रग्स च्याट’ भेटिएपछि उनलाई एनबसीले निगरानीमा राखेर अनुसन्धान सुरु गरेको थियो ।

जसमा उनले सुशान्तको लागि लागुऔषध किन्‍ने गरेको र कहिलेकाँही आफूले पनि सेवन गर्ने गरेको स्वीकार गरेकी थिइन् । ड्रग्स पेडलरसँग लगातार सम्पर्कमा रहेको स्वीकार गरेकी उनलाई ६७ एनडीपीएस ऐन अन्तर्गत पक्राउ गरिएको थियो । पक्राउ पछि एनसीबीले उनलाई धारा ८ (सी), २७ (ए), २९, २० (बी) र धारा २८ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

सारा अली खान

रिया चक्रवर्तीसँगको सोधपुछमा बलिउडका थुप्रै कलाकारहरुको नाम बाहिरिएको छ । भारतीय मिडियाका अनुसार एनसीबीले गरेको सोधपुछमा रियाले सारा अली खानले पनि उनी र सुशान्तसँगै बसेर लागुऔषध सेवन गर्ने गरेकी बताएकी थिइन् । बयानमा रियाले यो पनि भनेकी थिइन की, सुशान्तले पहिलो पटक सारासँगै बसेर लागुऔषधको ‘हेभी डोज’ लिएका थिए । रियाले बयानमा भनेकी छिन्,“केदारनाथ चलचित्रको छायांकनका क्रममा सुशान्तको लागुऔषधको लत बढेको थियो ।”

केदारनाथको छायांकन स्थल हिमाली भेगमा गरिएको र त्यहाँ सजिलै र निशुल्क लागुऔषध पाइने गरेको र केदारनाथको पुरै टिमले नै लागुऔषध सेवन गर्ने साराले बयानमा बताएकी थिइन । उनीहरुले ‘कैनबिस’ नामक लागुऔषध लिने गरेको रियाले बताएकी थिइन् । उक्त लागुऔषधले धेरै भोक लाग्‍ने भएको हुँदा छायांकन सकाएर आँउदा सारा र सुशान्त दुबैको तौल बढेको तर हिमाली भेगमा छायांकनमा जाँदा तौल बढ्ने सम्भावना नै नहुने रियाको दाबी थियो ।

श्रद्धा कपुर

भारतीय मिडियाका अनुसार एनसीबीले अभिनेत्री श्रद्धा कपुरसँग पनि सोधपुछ गर्न सक्छ । किनभने अनुसन्धानका क्रममा ‘ट्यालेन्ट म्यानेजर’ जया साहा र श्रद्धाबीचको ‘ड्रग्स च्याट’ पनि एनसीबीले पत्ता लगाएको छ । श्रद्धासँगको ड्रग्स च्याटमा उनले जयासँग ‘सीबीडी ओयल’ मागेको देखिन्छ ।

‘सीबीडी ओयल’ लागुऔषधकै एक प्रकार हो, जुन भारतमा प्रतिबन्धित छ । जया स्वयंले पनि श्रद्धाको लागि ‘सीबीडी ओयल’ किन्‍ने गरेको स्वीकारेकी छन् । सोधपुछका क्रममा उनले अन्य बलिउड अभिनेत्रीहरुको पनि नाम सार्वजनिक गरकी छिन् ।

रकुल प्रित सिंह

भारतीय सञ्‍चारमाध्यमका अनुसार रियाले साराका साथै रकुलप्रितको पनि नाम लिएकी थिइन् । सारा, रकुल सुशान्तको फार्महाउसमा हुने ‘ड्रग्स पार्टी’मा सहभागी हुने गरेको रियाले बताएकी छिन् । यद्यपि सञ्चारमाध्यममा लागुऔषधको मुद्दामा नाम मुछिएपछि रकुलले दिल्ली उच्च अदालतमा ‘मिडिया ट्रायल’विरुद्ध उजुरी दर्ता गराएकी छन् । उनको उजुरीमा सुनुवाइ गर्दै उच्च अदालतले केन्द्रसँग ‘मिडिया ट्रायल’ विरुद्ध जवाफ मागेका छन् ।

दीपिका पदुकोण

ड्रग्स च्याटमा नामको पहिलो अक्षर एन, जी, एस, दी र के बीचको च्याट पनि सार्वजनिक भएको छ । दी अर्थात दीपिका पदुकोण भएको र उनले के नामका व्यक्तिसँग ‘माल’ अर्थात लागुऔषध माग गरेको पाइएको छ । के अर्थात करिष्मा, उनी पनि क्‍वान ट्यालेन्ट म्याजमेन्ट एजेन्सीकै कर्मचारी हुन् भने दीपिकाकी म्यानेजर पनि हुन् । उनको र दीपिकाको सन् २०१७ मा गरिएको ‘ड्रग्स च्याट’ एनसीबीले अनुसन्धान गरिरहेको छ ।

करिष्माले आफूसँग घरमा भएको र अर्को व्यक्तिलाई लिन पठाएर दीपिकालाई लागुऔषध दिएको उनीहरुको च्याटले देखाउँछ ।

दीया मिर्जा

लागुऔषध मुद्दामा अभिनेत्री दीया मिर्जाको नाम पनि आएको छ । तर दीयाले विज्ञप्ती जारी गर्दै उक्त खबर गलत भएको भन्दै खण्डन गरेकी छन् । उनले विज्ञप्तीमा लेखेकी छिन्, “मेरो छवि बिगार्ने प्रयास गरिएको छ । म कानुनी लडाइँ लड्ने छु ।”

साथै उनले ट्विटमार्फत पनि भनेकी छिन्,“यस्तो खालको समाचारले सीधै मेरो छविमा असर पर्छ । यस्ले मेरो कडा मेहेनतले बनाएको करियर खराब गर्न सक्छ ।”

अर्को ट्विटगर्दै लेखेकी छिन्, “मैले कहिले पनि नारकोटिक वा अरु कुनै प्रतिबन्धित कुराको प्रयोग गरेकी छैन । भारतीय नागरिकको हिसाबले उपलब्ध कानुनी उपायमा जानेछु । मेरो साथ हुनु भएका सबैलाई धन्यवाद ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*