कानूनका कुराः सम्बन्ध बिच्छेद
सम्बन्ध बिच्छेदः महिला पुरुष जन्मन्छन हुर्कन्छन पढ्छन र योग्य भई २० बर्ष पछि बिबाह गर्छन, कसैले प्रेममा फसेर २० बर्ष भन्दा अगाडि नै बिबाह बन्धनमा बाधिन पुग्छन र बिबाह गर्न मिल्ने उमेरमा काखमा बच्चा च्यापेर वकिलको अफिसमा मेरो पतिले खान लाउन दिएनन, कुटपिट गर्यो, घरबाट निकाल्यो, कसै संग बोल्यो कि शंकाले हेर्ने, अर्को केटि बिबाह गर्यो भनि बिभिन्न कारणले महिलाहरु पति पत्नीको नाता सम्बन्ध बिच्छेद गर्न भनि आउछन भने कति पय पुरुषहरु पनि मेरो पत्निले मलाई हेला गर्न थालिन, सानो सानो निउमा झगडा गर्ने, कुनै केटि संग बोल्यो हिड्यो भने शंका गर्ने, मोवाईल चेक गर्ने, घर परिवार संग नमिल्ने, बिदेशबाट कमाएर पठाएको रकम हिनामिना गरिन, अर्कै केटा संग नजिको सम्बन्ध रहेका मेसेजहरु फोटाहरु रहेछन, छुट्टै कोठा खोजेर राख्ने भए राख नभए सम्बन्ध बिच्छेद गरौ भन्छिन भनि आफू पत्नीबाट पिडित भएको गुनासाका साथ वकिल कहा र अदालतमा महिला पुरुषहरु आएको देखिन्छ ।
पति पत्नि बिच रगतको नाता नभएका कारण सानो सानो कुरामा मन नमिल्दा पनि सहने, समझदारी गर्ने, आफ्ना गल्ति स्विकार गरी परिबर्तन हुन भन्दा पनि तत्काल रिषको झोकमा त भन्दा म के कम, तैले केटा पाउछेस भने मैले पनि केटो पाउँछु भन्ने ईगोको कारण पति पत्निहरु नाता सम्बन्ध बिच्छेद गर्न आएको देखिन्छ ।
पतिले सम्बन्ध बिच्छेद गर्न पाउने अबस्थाहरुः पत्नीले कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेमा, पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समय देखि अलग बसेमा, पत्नीले पतिलाई खानलाउन नदिएमा, घरबाट निकाला गरेमा, पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको पुष्टि भएमा पुरुषले जिल्ला अदालतमा नालेश दिई आफ्नो श्रीमती संग सम्बन्ध बिच्छेद गर्न सक्दछन ।
पत्नीले सम्बन्ध बिच्छेद गर्न पाउने अबस्थाहरुः कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पन्नी भिन्न बसेमा, पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समय देखि अलग बसेमा, पतिले पत्नीलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरेमा, पत्नीको अंगभंग हुने कार्य गरेमा, शारीरिक वा मानसिक पिडा कष्ट हुने कुनै कार्य गरेमा, जाल प्रपञ्च गरेमा, पतिले अर्को बिबाह गरेमा, पतिले अन्य कुनै महिला संग यौन सम्बन्ध राखेको ठहरेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको अबस्थामा महिलाले आफ्नो पति संग नाता सम्बन्ध बिच्छेद गर्न पाउछीन । दुबै जनाको चाहना छ भने २र३ दिनमा नै सम्बन्ध बिच्छेद हुन्छ भने एक जनाको मात्र चाहना छ तर अर्कोको चाहना छैन भने १ एक बर्ष समय लाग्दछ । अदालतबाट पतिपत्नीलाई सम्झाउने बुझाउने र सके सम्म मिलाएर पठाउने पहल पनि हुन्छ ।
सम्बन्ध बिच्छेद गर्दा महिलाले पाउने सुबिधाः महिलाले सम्बन्ध बिच्छेद गर्दा अंश तथा मानाचामल भराउन लिन सक्छिन ।लिन नचाहेमा नलिईकन पनि सम्बन्ध बिच्छेद हुन्छ । नाबालक छोरा छोरी पनि आफ्नो साथमा राख्न पाउछिन । आमाले बालबच्चा साथमा राख्न नचाहेमा बाबुको जिम्मा राख्नु पर्ने हुन्छ ।पत्नीको कारणले सम्बन्ध बिच्छेद गर्ने अबस्था सृजना भयो भने त्यस्तो महिलाले अंश मानाचामल खर्च लिन भराउन पाउदिनन् । पुरुषले मेरो श्रीमतीको कारणले गर्दा म सम्बन्ध बिच्छेद गर्न बाध्य भए भनि स प्रमाण अदालतमा फिराद पत्र दिन्छ भने प्रमाणले ठहरेमा अदालतले पनि त्यस्तो महिलालाई अंश तथा मानाचामल खर्च दिनु पर्दैन । सम्बन्ध बिच्छेद गर्नु पर्ने कारण परेको मितिले ३ महिना भित्र अदालतमा नालेश दिनु पर्ने हुन्छ ।
