विचारको राजनिती र मुकेश चौरसियाको हत्या

पुरूषोत्तम पौडेल
२०७७, ११ कार्तिक मंगलवार १६:३०

Advertisement

उहिले उहिले नेपालका कम्युनिष्ट हरूलाई “चिनमा पानी पर्दा नेपालमा छाता ओड्ने’’ पार्टी भनेर आरोपित गरिन्थ्यो । नेपाली कम्युनिष्टहरूपनि “चिनका माओ हाम्रा माओ र चिनका अध्यक्ष हाम्रा अध्यक्ष ” भन्न तयार हुन्थे । त्यो परिस्थिति अहिले छैन । लामो समय सम्म मार्क्सवाद–लेनीनवाद र माओत्सेतुङ विचारधारा नेपालका कम्युनिष्ट पार्टीहरूको मार्ग दर्शक सिध्दान्त रह्यो । अहिले नेकपाले मार्क्सवाद–लेनीवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेको छ तरपनि आफ्नै ढंगले चल्ने परिपाटी सुरू भएको छ । अवत सिद्धान्त र विचार जेसुकै भएपनि नेताको मनमा लागेको काम कुरा अघि वढाऊने प्रविर्ती वढ्दै गैरहेको छ । कुनैपनि विषय र एजेन्डाहरूलाई सिद्धान्त र विचारको कसिमा राखेर घोटी रहनु जरूरी पनि ठानीदैन ।

Advertisement

मलाई पनि कम्युनिष्ट भन्ने मानिस गज्जव लाग्थ्यो । “संसार भरीका श्रमिकहरू एक हौँ” भनेर नारा लगाऊने गर्थ्यौ । देश भरीका मजदुरहरू एक हौ भन्थ्यौ । ग्वाटेमालामा कम्युनिष्टहरूले गोली खादा संसार भरिका कम्युनिष्टहरूलाई दुख्थ्यो । भियतनाममा कम्युनिष्ट छापामारहरू माथी अमेरिकी साम्राज्यवादले गोलावारी गर्दा विश्वभरीका कम्युनिष्ट पार्टीहरूलाई पिडा हुन्थ्यो र विरोधमा आवाज उठाऊथे । यस्तै गरी निकारागुवाका कम्युनिष्टहरूलाई तानाशाही सरकार ले धेरावन्दीमा पार्दा या थुनामा राख्दा हाम्रो टाउको दुख्ने गर्दथ्यो । हामी पनि उफ्री उफ्री जुलुस जान्थ्यौ र नारावाजी गर्ने गर्दथ्यौ । कम्युनिष्टहरूको समस्याको कुरा मात्र होईन पाकिस्तानमा भुट्टोलाई फासी दिदा नेपालमा विद्रोह भएर वहुदल आयो ।

Advertisement

यि सव घटनाहरू त्यसै भएका होईनन । यी प्रतिकृया र व्यवहारहरू असल कम्युनिष्टका स्वभाविक प्रतिकृया र धर्म थिए । तर आज स्थीती त्यती सुन्दर छैन । वर्गीय प्रेमले ओतप्रोत हुदै एकता वध्द भएर अघि वढनु पर्ने कम्युनिष्टहरू आपसमा लडिरहेका छन । देशमा अनेक नामका कम्युनिष्ट पार्टीहरू संगठित छन । आपसमा अनेक विवाद र झगडा विद्यमान छन । एउटै कम्युनिष्ट पार्टी भित्र मारामार र पानी बाराबार छ । एक अर्काको विरूध्द मोर्चाहरू खुलेका छन । विचारको लडाई गरि रहेका कम्युनिष्ट पार्टीका एउटा गाऊ कमिटीको बैठक समेत सहज छैन । सामान्य शपथ ग्रहण कार्यक्रममा समेत घातक आक्रमण हुने र नेताहरूको ज्यान जोखिममा पर्ने या मारीने सम्मका घट्ना हुन थालेका छन ।

Advertisement

भनिन्छ कम्युनिष्टहरू सिद्धान्तमा अडिग हुन्छन । विचारमा अव्वल र दृढ हुन्छन । उनिहरूलाई कुनै कुराले हल्लाउन सक्दैन । मार्क्सवाद यस्तो विचार हो जस्ले व्यक्तिलाई स्पात वनाई दिन्छ । मार्क्सवाद राम्रो वुझेको राजनीतिक नेता कार्यकर्ता भनेका घनघोर जङ्गलका सत्तीसाल हुन । उनिहरूलाई कुनै लोभ, लालच र प्रलोभनले आकर्षण गर्न सक्दैन । नेपालकै कम्युनिष्टहरूका तिलस्मी कथाहरू छन । ठुल ठुला खतरा मोल्दै ज्यान हत्केलामा राखेर आएका थुप्रै नेताहरू हाम्रै सामुन्ने सरकार चलाई रहेका छन । कमरेड पुष्पलाल, कमरेड तुलसीलाल, कमरेड नेत्रलाल जस्ताको जीवन कथा सम्झेर ल्याउदा अहिले पिडा हुन्छ । आजको हाम्रो जीवन शैली हेर्दा उदेक लागेर आऊछ । सानो पद र तुच्छ स्वार्थको लागी मरिहत्ते गरेको देख्दा आश्चार्य पनि लाग्छ ।

हामीहरूलाई सिकाऊने गरिन्थ्यो “हारे के छ र ? जीते संसार छ । हारे केवल यो ज्यान हो । जावो ज्यान त एकदिन छोडेर जानै पर्छ । संसारमा अजम्मरी कोहि छैन क्यारे, भन्दै त्याग तपस्या र वलीदानको कथाहरू पढाइन्थ्यो । कार्ल–मार्क्स लेनीन, माओ र होचिमिन्हका क्रान्तिका आकर्षक कथाहरूले भित्रै देखी आकर्षण पैदा हुन्थ्यो । देशका सामन्त हरूको अगाडी शिर निहुर्याएर वस्नु भन्दा स्वतन्त्रता र स्वाभिमानको मिठास सहित वाच्नु आनन्द दायक हुन्छ । अझ श्रमीक वर्गको नेतृत्वमा समानतामा आधारित समाजवादी सत्ता स्थापना गरेर आफैले शासन गर्नुको मज्जा अर्कै हुन्छ । यस्ता राजनैतीक तथा वैचारिक शन्दर्भहरूले नया विश्वास र जागर पैदा हुन्थ्यो । आज ति कथाहरू कसैले सुनाउदैन । विचार र सिद्धान्तको कुरा गर्दैनन । अव सत्ता र सत्ताको उपभोगको कुरा मात्र हुन लागेको छ । त्यसैको निम्ती गॉड कोराकोर र छिनाझप्टी पनि भैरहेको छ ।

समाज वर्गीय हुन्छ । वर्गीय समाजमा वर्ग संघर्ष अनिवार्य हुन्छ । जहा वर्ग संघर्ष हुन्छ त्यहा वर्गीय प्रेम पनि हुन्छ । समाजमा शोषक र शोषित दुई वर्ग छन । शोषक वर्गले शोषित वर्ग अर्थात मजदुर किसानलाई शोषण गरि रहेको छ । कम्युनिष्ट पार्टीले श्रमिक वर्गलाई अगुवा मानेको छ । शोषीत वर्गको मुक्तीलाई आफ्नो लक्ष्य ठानेको छ । मजदुर किसान तथा सवै गरिखाने वर्गलाई संगठित गरेर मुक्ती आन्दोलन चलाउने वाटो छानेको छ । संसारमा ९५ प्रतिशत गरिखाने वर्ग छन । कम्युनिष्ट पार्टी तिनैको नेता हो । एक दिन कम्युनिष्ट पार्टीले संसार विजय गरि छाड्ने छ । संसार भरी समाजवाद हुदै साम्यवाद आऊनेछ । साम्यवादमा हरेकलाई काम र आवस्यकता अनुसारको दाम दिने व्यवस्था हुनेछ । यसरी साम्यवाद प्रतीको आशा र विश्वासमा व्यापक युवाहरू कम्युनिष्ट पार्टीमा आएका हुन । आम जनता आकर्षित भएका हुन । हामीले भनेको साम्यवादी लक्ष्य तिरको गन्तव्य अहिले धुमिल हुन थालेको देखीदैछ ।

वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ । सर्पको खुट्टा सर्पले मात्र देख्छ अरूले देख्दैन । अर्थात गरिव र गरिव विचको प्रेम मात्र दिगो हुन्छ । गरिवको दुख गरिवले मात्र वुझ्न सक्छ । गरिव र गरिव विचको प्रेम मात्र निस्वार्थ हुन्छ । स्वार्थ रहित वर्गीय प्रेमको वकालत गर्ने विचार मार्क्सवाद हो । त्यसको नेतृत्व गर्ने पार्टी कम्युनिष्ट पार्टी हो । तर विचार र व्यवहारको यो आदर्श अव खोज्नु पर्ने हुन लाग्यो । कम्युनिष्ट पार्टीलाई आफ्नो समर्थन, माया,प्रेम, आदर्श र सम्पूर्ण जीवन दिएर यहा सम्म ल्याऊने जनताहरू नै अहिले छक्क पर्न थालेका छन । समाजमा एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई गरेको व्यवहार हेर्दा कम्युनिष्टहरू नै छक्क पर्ने अवस्था छ । एउटै कम्युनिष्ट पार्टीको एउटा नेताले अर्को नेतालाई गरेको व्यवहार हेरेर दुनीया हास्ने अवस्था छ । विश्व कम्युनिस्ट भाइचाराको कुरा नगरौ । कमसेकम एऊटै पार्टीभित्र भाइचारा खोज्नु पर्ने अवस्था कसरी आयो । विषय वडो गम्भीर छ ।

एउटा कम्युनिष्ट नेताले अर्को कम्युनिष्ट नेतालाई गर्ने व्यवहारको कुरा त अलग छ । नेपाल कम्युनिष्ट पार्टीको उपल्लो तहका नेताहरूको छेडखान सुनेर तलका कार्यकर्तालाई लाज लाग्ने अवस्था आको छ । नेकपाको सचिवालयकै वैठक मा नेताहरूको प्रस्तुतीका कारण प्रभावित भएको खवर आऊछ । यहा सम्मकी एउटा नेताले अर्को नेतालाई दिएको शुभकामना समेत अस्वीकार गर्ने व्यवहार भएको खवर आऊछ । प्रदेश र जील्ला कमिटीहरूका वेठकहरू वर्षौ वर्ष सम्म वस्दैनन । आफु अनुकुल भए मात्र वैठक वस्ने अन्यथा गुट चलाएर वस्ने परिपाटी सुरू भएको छ । यसले पार्टीमा वर्गीय प्रेम होइन पार्टी प्रेम पनि हराउदै गएको छनक दिन्छ । यसले पार्टीका नेताहरूको समेत पद र प्रतिष्ठाको प्राप्ती संगै वर्ग परिवर्तन भएको र वर्ग परिवर्तन संगै प्रेमको आधार पनि परिवर्तन हुदै गएको संकेत गर्दछ ।

अवत पार्टीमा निषेधको राजनितीले जबरजस्त प्रवेश पाएको छ । कसैलाई निषेध गर्नकैलागी घेराबन्दी गर्ने, काल्पनिक आरोप लगाऊने, अख्तीयार र अदालतको प्रयोग गर्ने अनी कुनै उपाय नलागे पछि झगडाको मुद्दा वनाएर व्यक्तिगत आक्रमण गर्ने सम्मका कुकर्म सुरू भएका छन । यसैगरी निषेध को प्रतिशोध पनि हुन थालेको छ । लखेट्ने भगाऊने तथा भाग्ने क्रम पनि सुरू भएको छ । हुदा हुदा साङ्घातिक आक्रमण गरेर हत्या गर्ने सम्मको प्रकृया सुरू भएको छ । हालै पर्सा जिल्लाको विन्दवासीनी गाउमा पार्टीको शपथ ग्रहण समारोहमा आक्रमण गरि कमरेड मुकेश चौरसीयाको दर्दनाक हत्या गर्नुले त्यही वताउछ । विचारको राजनिती गर्ने पार्टी भीत्र हत्याको राजनिती प्रवेश गर्नु नेपाल कम्युनिष्ट पार्टीको सुन्दर भविष्यको संकेत होईन । यस्तो प्रविर्तीलाई तत्काल नियन्त्रण गर्नु पर्दछ ।

उहिले रूसमा स्टालीनले आफ्नो नेतृत्वमा चुनौती भएका केहीलाई हत्या गरेको सुनेका थियौ । चिनमा लिनपियाओले कमरेड माओत्असेतुङ कै हत्याको योजना वनाएको पोल खुलेको थियो । नेकपा माओवादीले पनि युध्द कालमा यान प्रसाद गौतमलाई मृत्युदण्ड दिएको सुनिएको थियो । होईन भने पशुले पनि सजातीय हत्या र भक्षण गर्दैन । हामी त विचारको राजनिती गर्ने मान्छे पो हौ । हाम्रो पार्टीलाई पनि विचारको राजनिती गर्ने पार्टीको रूपमा चिनाऊदै आएका हौ । विचारको राजनिती गर्ने कम्युनिष्ट पार्टी भीत्र अपराधीकरण र हत्याको राजनिती प्रवेश गर्नु अत्यन्त आपत्ती जनक र चिन्ताको विषय हो ।

यस्तो कुकर्मलाई कदापी स्वीकार गर्न सकिन्न । सम्पूर्ण पार्टी पक्ती एकतावध्द भएर यस्तो खाले दुष्कर्मको विरोध र भण्डाफोर गर्नु पर्दछ । कमरेड मुकेश चौरसियाका हत्यारा जोसुकै हुन तिनीहरू कहिल्यै कामरेड हुन सक्दैनन । हत्याराहरूलाई कडा भन्दा कडा कार्वाही गरेर तिनीहरूलाई असफल गरि दिनु पर्दछ । कम्युनिष्ट पार्टी भीत्र विचारको राजनितीलाई जीवीत राखी रहन वैचारीक वहसलाई तिव्र वनाऊनु पर्दछ । यो नै पर्सेली कमरेड मुकेश चौरसिया प्रतीको सच्चा श्रध्दान्जली हुन्छ ।
लेखक पौडेल पूर्व खेलकुद मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*