मृत्यु भएको ५ महिनापछि अन्त्येष्टि

नवयुग संवाददाता
४ मंसिर २०७७, बिहीबार १२:१४

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको ५ महिनापछि संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधवार अन्त्येष्टि गरिएको छ ।

यूएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ संकलन गरेका थिए ।

नेपाली समाज यूएई र नेपाली समाज यूएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि झापाको मेचीनगरमा रहेकी उनकी छोरी रीतु थापा र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको यूएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुंगानाले जानकारी दिए ।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ को नोभेम्बर महिनातिर यूएईको रसअल खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए । उनले १३ नोभेम्बर २०१९ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए ।

उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद ५ अक्टोबर २०२२ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए ।

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीसँग मिलेर कोठा भाडामा बसेका र उनलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपाली सँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाएका थिएनन् । उनको पासपोर्ट पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*