तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

नवयुग संवाददाता
४ मंसिर २०७७, बिहीबार १२:३१

ताप्लेजुङ । ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिइएको जनाइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोेजनाको काम विसं २०७८ को असोज महिनाबाट निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । काम शुरु गरेको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।

नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ । फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् । स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*