सरकार मनको गरिब छैन, राज्यले तेरो मेरो भन्दैन: प्रधानमन्त्री

नवयुग संवाददाता
२०७७, ११ मंसिर बिहीबार १४:४८

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । र, निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको उनले बताएका छन् । धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताएका छन् ।

Advertisement

बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको भन्दै प्रशंसा गरे । प्रधानमन्त्री ओलीले भने, ‘पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको छ । नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजी क्षेत्रले गरेको छ ।’

Advertisement

निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यहाँहरुलाई सफलता बनाउन सरकारले सहयोग गर्छ ।’

Advertisement

प्रधानमन्त्री ओलीले कोरोनाका कारण देशको अर्थतन्त्र निकै नराम्रो अवस्थामा पुगेको र यसको पुनरुत्थानमा निजी क्षेत्रको भूमिा निकै महत्वपूर्ण हुने बताए । धेरै देशहरुले कोरोना पछि निजी क्षेत्रका लागि निकै आकर्षक राहत दिए पनि नेपाल सरकारले आर्थिक अवस्थाका कारण दिन नसकेको उनले स्वीकारे ।

तर, सरकार धनको गरिब भए पनि मनको गरिब भने नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘उद्योगी व्यवसायी साथीहरुले कुरा उठाउनु भएको छ । कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो नेपाल सरकारले किन दिएन रु भन्ने कुराहरु उठेका छन्’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मनको गरिब होइन, फाइनान्सियल अवस्था तपाईहरुलाई थाहा नै छ ।’

उद्योगीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सवल बनाउन ऐन, नियम बनाउने लगायतका सहयोगका कामहरु सरकारले गर्ने बताए । उनले सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको बताए ।

‘सरकारले गच्छे भन्दा एक कदम अगाडि बढेर तपाईहरुलाई साथ सहयोग गर्न हात बढाउनेछ, हामीसँग रिजर्भ सेभिङ्ग छैन’ प्रधानमन्त्रीले भने, ‘हामीले फेरि पनि साझा प्रयासबाट हाम्रो अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु यसमा केन्द्रित छन् ।’

प्रधानमन्त्री ओलीले दलाल पुँजीवाद र पुँजीवादको समेत चर्चा गर्दै राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका र कर तिरिरहेका सबै उद्योगी व्यवसायीहरु राज्यका लागि समान हुने बताए ।

राज्यले तेरो मेरो भन्दैन

‘दलाल पुँजीवाद, नवउदारवादलाई प्रधानमन्त्रीले प्रश्रय दियो, पुँजीवादीलाई प्रश्रय दियो भनेर उद्योगी व्यवसायीहरुलाई त्रसित बनाउने अभिव्यक्ति आएर तपाईहरुलाई नराम्रो लागेको हुन सक्छ’ प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई आश्वस्त पार्दै भने, ‘म तपाईहरुलाई प्रष्ट पार्न चाहान्छु, उद्योगी व्यवसायीहरु मेरो वा तेरो होइन । राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका, कर तिरिरहेका, राज्यका लागि काम गरिहेका सबै राज्यका लागि समान छन् । राज्यले सबैलाई कानुनसम्मत ढंगले संरक्षण र सुरक्षा दिन्छ ।’

कसैले राजनैतिक खपत, मान्छे अल्मल्याउन वा कार्यकर्तालाई वर्गल्याउन कुनै हिसाबले अतिवादी आफ्नो सोचहरुको प्रकटीकरण गरेको हुन सक्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘सरकार बहुत स्पष्ट छ । नेपालका उद्योग व्यवसाय व्यापार सेवाका क्षेत्रहरु वा अरु व्यवसायहरुलाई साथ सहयोग दिन सरकार तयार छ । के(के गर्नुपर्छ भन्ने कुरा साधारणसभाबाट निष्कर्ष निकाल्नुस् ।’

देशलाई माया गर्नोस्, लगानी विदेश नलैजानोस्

प्रधानमन्त्री ओलीले स्वदेशी उद्योगपतिहरुलाई सबल बनाउनुपर्ने बताए । उनले भने, ‘हाम्रालाई सबल बनाउन सकेको भए बाहिरका खोज्नुपर्ने थिएन । यसकारण हामीले हाम्रा उद्यमीहरुलाई ठूला ठूला आयोजनाहरुमा लगानी गर्न सक्ने गरी त्यस स्तरमा विकास गर्नुपर्छ ।’

हामी विदेशी पुँजी आमन्त्रण गरिरहेको र यसका लागि सहुलियत दिइरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली उद्यमीहरुलाई विदेशमा लगानी नलैजान आग्रहसमेत गरे । प्रधानमन्त्रीले भने, ‘हाम्रै उद्यमीहरुले २र४ पैसा बढी कमिन्छ भनेर बाहिर लैजानुभएन । हामीले देशप्रति माया गर्नुपर्‍यो । हाम्रोमा लगानीको अवसर सकिएको छैन । अझ धेरै छन् । हाम्रोमा श्रम बजार सस्तो छ । यसकारण पनि तपाईहरुको उद्यम नाफामा जान्छ ।’

प्रधानमन्त्रीले थपे, ‘के के प्रयोजनका लागि बाहिरतिर लगानी लैजाने सोच्ने, त्यो होइन । म आग्रह गर्न चाहन्छु, यहाँहरुलाई चाहिने छुट सहुलियत कानुनसम्मत वा न्यायोचित कुराहरु कानुन बदलेर पनि दिन्छौँ । हामीसँग ठूला बजार छन् । डिपार्टमेन्ट स्टोहरु छन्, हामीसँग उत्पादन छैन । हामी उत्पादन गरौं र निर्यात गरौँ । यी विषयमा सल्लाह गरेर सहकार्य गर्न सरकार तयार छ ।’

बिहीबारदेखि सुरु भएको नेपाल यद्योग वाणिज्य महासंघको साधारण सभा पर्सीसम्म चल्ने छ । यो साधारण सभाले महांघको नयाँ नेतृत्व चयन गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*