रोजगारी अभिवृद्धिका लागि दक्ष जनशक्तिको अभाव

नवयुग संवाददाता
२४ मंसिर २०७७, बुधबार १४:४५

Advertisement

काठमाडौं । नेपाली श्रम बजारमा वार्षिक झन्डै ४ लाख नयाँ जनशक्ति थपिन्छ । तर यहाँ रोजगारीका अवसरहरू कम भएकाले युवाहरू विदेश जाने क्रम जारी छ । वस्तुतः तत्कालीन सरकारहरूबाट यहाँ रोजगारी सिर्जनाका लागि खास पहल नभएका कारण आर्थिक वर्ष २०७४/७५ सम्म श्रम स्वीकृति लिई ४० लाख ३ हजार ४ जना विदेशमा रोजगारीका लागि गए ।

Advertisement

अवैध तरिकाले विदेशमा रोजगारीका लागि जाने र छिमेकी राष्ट्र भारतमा काम गर्न जानेहरूको संख्या जोड्ने हो भने करिब १ करोड युवाहरू बिदेसिएको अनुमान छ । तर चालू आर्थिक वर्षमा भने कोरोनाका कारण वैदेसिक रोजगारीमा सुस्तता आएको छ ।

Advertisement

हुन त वैदेशिक रोजगारीमा जानु भनेको नेपाली समाजका लागि कुनै नौलो कुरा होइन । सुगौली सन्धि भएपश्चात् यहाँका युवाहरू ब्रिटिस आर्मीमा भर्ती हुन थालेदेखि वैदेशिक रोजगारीको सुरुवात भएको महसुस हुन्छ । हालसम्म पनि ब्रिटिस आर्मी तथा छिमेकी राष्ट्र भारतमा रोजगारीको लागि जाने क्रम रोकिएको छैन ।

Advertisement

संख्यात्मक र गुणात्मक दृष्टिकोणले युवावर्गलाई देशको महत्वपूर्ण वर्गका रूपमा अंगीकार गरिन्छ । यति मात्र होइन, उक्त वर्गलाई राष्ट्रको सर्वतोमुखी विकासका लागि कर्मठ एवं सक्रिय जनशक्ति भनी मानिन्छ । परन्तु यहाँको राजनीति तथा सरकारको गलत आर्थिक नीतिका कारण आज कुल जनसंख्याको झन्डै १५ प्रतिशत बिदेसिएका छन् । यसबाट देशलाई केही फाइदा भए पनि परनिर्भरता भने बढेको छ । योबाहेक देशका विभिन्न भागमा कृषि तथा अन्य क्षेत्रहरूमा काम गर्नेहरूको संख्या पनि दिनप्रतिदिन घट्दै गएको छ । यसबाट देशको अर्थतन्त्रमा समेत खतरात्मक प्रभाव पर्न गएको छ ।

हाल यहाँका उत्पादनमूलक तथा निकासीजन्य उद्योगहरूमा दक्ष जनशक्तिको अभाव छ । एकातिर यहाँका युवाहरू कामको खोजीमा मलेसिया र खाडीमा गइरहेका छन् भने अर्कातिर देशभित्रकै उद्योग तथा प्रतिष्ठानहरूमा दक्ष जनशक्तिको अभाव छ । त्यसैले यी उद्योग तथा प्रतिष्ठानहरूमा भारतीय तथा बङ्गलादेशी कामदारहरू कार्यरत छन् ।

वास्तवमा आवश्यक दक्ष जनशक्ति नहुनाले यहाँको बेरोजगारीको समस्या बढेको हो । यहाँका धेरैजसो उत्पादनमूलक उद्योगहरू केही वर्ष अघिदेखि नै बाह्य मजदुरहरूको भरमा सञ्चालन भइरहेका छन् । यहाँका उद्योगहरू विदेशी उद्योगहरूसँग प्रतिस्पर्धी हुन नसक्नुको कारण विदेशी कामदारहरूलाई बढी ज्याला दिएर भित्र्याउनुपर्ने भएकाले हो । कच्चा पदार्थ र ढुवानीमा समेत बढी खर्च गर्नुपर्ने भएकाले यहाँका औद्योगिक उत्पादनहरूको लागत बढ्नु स्वाभाविक हो । परन्तु यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न गएको छ ।

वस्तुतः कुनै पनि देशमा दक्ष जनशक्ति उत्पादन गर्ने काम सम्बन्धित सरकारको हो । परन्तु सीमित बजेट र कार्यक्षमता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० लाई उक्त कामको जिम्मा दिएर सरकारको दायित्व पूरा भएको महसुस गर्न सकिँदैन । बरु यसका लागि निजी क्षेत्रलाई विशेष सुविधा प्रदान गरी यस क्षेत्रमा आबद्ध गर्न नितान्त आवश्यक छ । हाल देशका विभिन्न क्षेत्रहरूमा र खास गरेर सहरी क्षेत्रहरूमा विभिन्न किसिमका निर्माणका कामहरू तीव्र रूपले दिन–प्रतिदिन बढिरहेको छ । निर्माण व्यवसायीहरूका अनुसार यहाँको निर्माण क्षेत्रमा मात्र दुई लाख दक्ष जनशक्तिको अभाव छ । कतार जाने अधिकांश नेपाली निर्माण क्षेत्रमा काम गर्छन् । यदि स्वदेशमै निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने हो भने मातृभूमि छोडेर मरुभूमिमा काम गर्न जाने युवाहरू कमै हुने थिए । यसो गर्न सकेमा विदेशी मजदुरहरूमा पनि भर पर्नुपर्ने थिएन र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने थियो । तर, हालसम्म पनि उक्त कुरालाई सम्बन्धित पक्षले ध्यान दिन सकेको छैन ।

आज यहाँ उत्पादनमूलक क्षेत्रमा मात्र नभई कृषि क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव छ । सेवा क्षेत्रमा मजदुरहरूको जुन प्रकारको उच्च माग छ त्यसको तुलनामा आपूर्ति हुन सकेको छैन । यी कुराहरूलाई समयमै यथोचित ध्यान दिन सकेमा यहाँको श्रमशक्तिको परिपूर्ति भई अर्थव्यवस्थामा समेत सकारात्मक प्रभाव पर्ने थियो । तर यस सम्बन्धमा पनि सरकारको ध्यान जान सकेको छैन ।

कृषि नेपालीहरूको परम्परागत पेसा हो । उक्त क्षेत्रको ठोस विकासका लागि यहाँका अधिकांश कृषकहरूलाई छोटो अवधिको तालिम प्रदान गर्न सकेमा यहाँको आर्थिक विकासमा निकै योगदान पुग्न सक्छ । वास्तवमा कृषिमन्त्रालयद्वारा बेलाबेलामा विभिन्न किसिमका तालिमहरू आयोजना गरेको महसुस हुन्छ । तर यी तालिमहरू पर्याप्त छैनन् । यसैले विभिन्न क्षेत्रमा विभिन्न किसिमका तालिमहरू आयोजना गर्न सकेमा कृषि क्षेत्रबाट धेरै नै फाइदा लिन सकिन्छ ।

वर्तमान सरकारले आगामी पाँच वर्षभित्र यहाँका युवाहरूलाई विदेश जानु नपर्ने कुरा बारम्बार दोहो¥याएको छ । देशमा औद्योगीकरण गरी सबै युवालाई रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य भए पनि हालसम्म पनि यस सम्बन्धमा कुनै नीति तथा कार्यक्रम प्रकाशमा नआएकाले पत्याउन सकिँदैन । वास्तवमा सरकारले रोजगारी सिर्जना गर्दा कुन उद्योगलाई प्राथमिकता दिने र कस्तो रणनीति लिने भन्ने विषयमा प्रस्ट हुनुपर्छ । तर बेरोजगारहरूलाई दक्ष जनशक्तिमा रूपान्तरण नगरेसम्म यो सम्भव छैन ।

नेपाली युवाहरू रोजगारीका लागि विदेश जान्छन् । परन्तु देशभित्रका उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूमा भने जनशक्तिको अभाव छ । यो कुरामा सम्बन्धित पक्षको ध्यान आकृष्ट भएको छैन । नेपालमा हालसम्म पनि जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएको पाइँदैन । प्रविधिको विकासका कारण अधिकांश काममा बढी जनशक्ति नचाहिने वर्तमान अवस्थामा दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता हो । यस सम्बन्धमा सम्बन्धित क्षेत्रको ध्यान यथाशीघ्र आकृष्ट हुन जरुरी छ ।

वर्तमान समयमा सरकारले कामका लागि विदेश जाने नेपालीहरूलाई रोक्नुभन्दा पनि उनीहरूको आम्दानी बढाउने कुरामा ध्यान दिनु जरुरी छ । यसका लागि उनीहरूलाई दक्ष बनाउन आवश्यक छ । यतिमात्र होइन, स्वदेशी उद्योगहरूमा काम गर्ने व्यक्तिहरूलाई दक्ष बनाउन विभिन्न क्षेत्रमा आवश्यकताअनुसारका प्रशिक्षण केन्द्रहरू स्थापना गर्न आवश्यक छ ।

हाल पर्यटन क्षेत्रमा र त्यसमा पनि खास गरेर होटेल क्षेत्रबाहेक अन्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्रको लगानी देखिँदैन । त्यसैले उक्त जनशक्ति उत्पादनका लागि सरकार र निजी क्षेत्र एकजुट भई काम गर्नु आजको आवश्यकता हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*