‘ओलीले देशलाई अन्धकारतर्फ धकेल्न खोजे’: अध्यक्ष दाहाल

नवयुग संवाददाता
२६ पुष २०७७, आईतवार २२:३०

Advertisement

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री केपी ओलीले संविधान माथि आक्रमण गरेर देशलाई अन्धकारतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । आज हेटौंडामा नेकपा बहुमत समूहको (पुष्पकमल दाहाल–माधव नेपाल) जनवर्गिय संगठनहरुको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गैरसंवैधानिक कदम चालेर देशमा अस्थिरता कायम गर्दै पश्चगमनतर्फ धकेल्ने कोशिस गरेको बताएका हुन् ।

Advertisement

ओलीले चालेको कदम देश, जनता र लोकतन्त्रमाथिको प्रहार भएकाले सबैले एकसाथ प्रतिकारमा उत्रनुपर्ने अध्यक्ष दाहालले बताए । प्रधानमन्त्रीको कदमलाई उनकै आशेपासेले समेत खुलेर ठिक छ भन्न नसकेको उल्लेख गर्दै संविधानले नदिएको अधिकार प्रयोग गरेर जनताको मतमाथि भएको प्रहारको प्रतिफल ओलीले चाडै पाउने उनले उल्लेख गरे । उनले ओलीको गैरसंवैधानिक कदम धेरैदिन नटिक्ने बताए ।

Advertisement

ओलीको हावा गफमा लागेर गैरसंवैधानिक कदमको पछि नलाग्न आमकार्यकर्ता र सर्वसाधारणमा आग्रह गर्दै उनले न्यायलयदेखि राजनीतिमा समेत सत्यको जित अवश्यक हुने अध्यक्ष दाहालले दाबी गरे । उनले भने– हामी चुनावदेखि डराएका छैनौ । जनता हाम्रै पक्षमा छन् । तर अहिले चुनाव भन्दा पनि संविधान र गणतन्त्र माथिको प्रहारलाई बचाउनु प्रमुख कुरा हो ।’

Advertisement

उनले रगत बगाएर ल्याएको परिवर्तनलाई कसैको सनकको भरमा सिध्यादिन्छु भनेर कल्पना गरेको भए त्यो सपना मात्र हुने बताए । देश र जनतामाथि प्रधानमन्त्री ओलीले गरेको हर्कतलाई जनताले हेरिरहेकाले अब आन्दोलनमार्फत् उनलाई जवाफ दिनुपर्ने उल्लेख गरे । उनले न्यायलय र निर्वाचन आयोग पनि सत्य र बहुमतको पक्षमा लाग्नेमा विश्वास व्यक्त गरे ।

नेकपा मकवानपुरको आयोजनामा भएको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान, प्रदेश सदस्य सर्केश घलान, ललित घलान, जिल्ला कार्यालय सदस्य बद्री लम्साल, श्रीधर पोखरेल, कमानसिं पाख्रिन, शेरबहादुर पहरी, गोविन्दराम चेपाङ, युवा संघ मकवानपुरका इन्चार्ज सुमन पाख्रिनलगायतको सहभागिता रहेको थियो ।

नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष भगवती पुडासैनी, युवा संघ मकवानपुरकी जिल्ला सहइन्चार्ज आरती पाठक, युवासंघका सहसंयोजक राज मोक्तान, अनेरास्वियुका केन्द्रीय सदस्य किशोर टण्डन, पविना स्याङ्तान, महिला संघकी केन्द्रीय सदस्य मानकुमारी नेपालीलगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।

विभिन्न जनवर्गिय संगठनका इन्चार्ज, सहइन्चार्ज, संयोजक, सहसंयोजक र सदस्य तथा पार्टीका नेताहरुको सहभागिता रहेको कार्यक्रम नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*