हरिण ठानेर हान्दा घाँसको भारी बोकेर घर फर्किंदै गरेकी महिलालाई गोली लागेपछि…
दाङ । रोल्पामा वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी एक महिलाई गोली प्रहार भएको छ। रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुनमाथि सोमबार बेलुका वनमा बाख्रा चराएर घाँसको भारीसहित घर फर्किने क्रममा गोली प्रहार भएको हो।
प्रहरीका अनुसार स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेका थिए। रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार बरुको टाउकोमा गोली लागेको थियो। मंगलबार बिहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि घाइतेलाई भैरहवा मेडिकल कलेजमा उपचारका लागि लगिएको डिएसपी सुवेदीले सेतोपाटीलाई बताए।
डिएसपी सुवेदीले भने, ‘गोली टाउकोमै लागेको छ र गिदी पनि बाहिर निस्किएको हुँदा घाइतेको अवस्था निकै चिन्ताजनक छ।’गोली हान्ने पुनलाई मंगलबार बिहान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको डिएसपी सुवेदीले बताए।
पक्राउ परेका पुनले हरिणले गहुँबाली खाएर स्वाहा पार्न थालेपछि हरिण मार्न भनेर आफू बथाना बसेको र घाँसको भारी बोकेकी महिला आउँदा बेलुकी पख हरिण ठानेर गोली चलाएको भन्ने बयान प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीका अनुसार घटना सोमबार बेलुका साढे ७ बजेतिरको हो।
‘घाँसको भारी बोकेर काल्नोमाथि उक्लिँदै गरेकी महिलालाई हरिण ठानेर मैले गोली हानें,’ पुनको भनाइ उद्धृत गर्दै डिएसपी सुवेदीले भने, ‘म हरिणबाट आजिद थिएँ, झिसमिसे साँझ भएको हुँदा लुकेर बसेको मैले हरिण नै आयो कि भनेर गोली चलाएको थिएँ। मान्छेलाई मैले किन गोली हान्थें र!’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
