खसेको पाठेघर वर्षाैंसम्म बोकेका आमाहरू

नवयुग संवाददाता
९ फाल्गुन २०७७, आईतवार १०:२५

Advertisement

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका-९ की ६६ वर्षीय तुलसरा खासुका ३ छोराछोरी छन्। जन्मिएकामध्ये एक सन्तान बाँचेनन्।

Advertisement

तीन वर्षअघि मात्र तुलसराले पाठेघरको अपरेशन गराएकी छिन्। छोरा-बुहारीले फकाइफुलाई गरी अस्पताल भर्ना गरीदिएपछि उनको खसेको पाठेघरको अपरेशन भएको हो। उनको पाठेघर खसेको भने दुई दशक अघिदेखि हो।

Advertisement

२०४२ सालमा तुलसराका कान्छा छोरा जन्मिए। कान्छा छोरा जन्मिएको केही वर्षपछि उनको पाठेघर खसेको हो।

Advertisement

गाउँघरतिर यसलाई ‘आङ खस्नु’ भनिन्छ। उनले आफ्नो पाठेघर खसेर समस्या भएकोबारे श्रीमानलाई चार वर्षपछि मात्र भनिन्।

‘कान्छो छोरो जन्मिएको केही समयपछि यस्तो भएको हो, यस्तो भएको चार वर्षजति भएको थियो होला श्रीमानसँग आङ खसेको छ भनेर भनें,’ तुलसराले भनिन्, ‘श्रीमानलाई पनि उपचार कसरी गर्ने भन्ने केही दाउ आएन होला, अब यसै मर्ने त होला भनेर भन्नुभयो।’

दूरदराजमा पाठेघर खस्ने समस्यालाई श्रापका रूपमा समेत लिने चलन छ। यो समस्या भएका महिलाहरूले असह्य नहुन्जेल पीडा सहन्छन्, तर अरूलाई भन्न चाहँदैनन्। घरका परिवारलाई समेत यो कुरा भन्न लाज मान्छन्।

बराहताल-४ की मनिसरा पुलामीको ९ वर्षअघि पाठेघर खस्यो। त्यसको लामो समयपछि उनले श्रीमानलाई भनिन्। श्रीमानले उपचार गर्न धेरै बल गरे। र उनले श्रीमानको कुरा मान्दै मानिनन्।

‘आङ खसेकै थियो, त्यसैमा घाँसदाउरा, पानी बोकें,’ मनिसराले भनिन्, ‘साप्राहरूमा ठोक्किएर आपत् हुन्थ्यो, दुखेर हैरान भएपछि मात्र श्रीमानलाई भनें। अरू केही समस्या भए त उतिबेलै भन्न सजिलो हुन्थ्यो नि।’

७८ वर्षीय पुलामीका अहिले ५ छोरा, दुई छोरी छन्। उनका जन्मिएका सन्तान भने ८ जना हुन्।

मनिसराले आफ्नो खसेको पाठेघर ८ वर्षसम्म बोकिन्। अस्पताल जानै लाज मानिन्। श्रीमानले सम्झाउँदा पनि उनले मानिनन्।

‘उहाँको पाठेघर खसेको त उहिल्यैदेखि रहेछ, हामीलाई भन्दै भन्नुभएको थिएन,’ महिला स्वास्थ्य स्वंयसेविकासमेत रहेकी उनकी बुहारी हरिकला पुलामीले भनिन्, ‘पछि हामीलाई ससुराले भन्नुभयो र जबर्जस्ती स्वास्थ्यचौकी लिएर गयौं।’

पाठेघर खसेको ८ वर्षपछि स्वास्थ्यचौकी गएपछि मनिसराको पाठेघरमा ‘रिङ पेसरी’ राखिएको छ। एक वर्षयता रिङ राख्ने र निकाल्ने गरिएको उनले बताइन्।

गत बुधबार गाउँमा भएको पाठेघरसम्बन्धी शिविरमा जचाउँन जाँदा उनलाई चिकित्सकले प्रदेश अस्पतालमा गएर पुनः चेकजाँच गराउन सिफारिस गरेका छन्।

बराहताल-१० की ७० वर्षीया अमृता सुनारले पनि पाठेघरमा दुई वर्षदेखि रिङ पेसरी राखेर बसेकी छिन्। तीन वर्षअघि बारीमा काम गर्न जानेबेला लडेर ढुंगामा बजारिएपछि अमृताको पाठेघर खसेको थियो। अमृताले १० जना सन्तान जन्माएकी थिइन्। तीमध्ये अहिले ६ जना छन्।

‘आङ खसेको केही दिनसम्म त लाज मानेर मैंले पनि कसैलाई भनिन्, पछि बसेर भात खान पनि नसकिने भयो,’ अमृताले भनिन्, ‘त्यसपछि परिवारलाई भनें, अस्पताल लिएर रिङ राखिदिए। रिङ राख्यो भने पहिलाको भन्दा धेरै सजिलो हुने रहेछ।’

गाउँघरमा लाज मान्ने हुनाले पाठेघर खसेको जस्तो गम्भीर समस्या महिलाहरुले वर्षौंसम्म बोकेर बस्नु परेको बराहताल-९ की महिला स्वास्थ्य स्वंयसेविका कल्पना पुलामी बताउँछिन्। आफूलाई असह्य भएपछि र परिवारका सदस्यले सुइँको पाएमा मात्र महिलाका यस्ता पीडा बाहिर आउने गरेको उनले बताइन्।

‘गाउँमा लामो समयसम्म यस्तो ठूलो पीडा बोक्नुको पहिलो कारण त लाज मान्नु नै हो,’ पुलामीले भनिन्, ‘हामी त गाउँमा गएर यस्ता समस्या छन् कि भनेर बुझ्ने पनि गर्छौं, महिला समूह बसेको बेला पनि उहाँहरूको स्वास्थ्य समस्या के(के छन् भनेर सोधखोज गर्ने गरेका छौं।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*