कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन
काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले दोस्रो संस्करणको घोषणा गरेको हो ।
आयोजक पक्षका अनुसार कमेडी च्याम्पियन–२ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको पनि कार्यक्रममा जानकारी गराइएको छ । जसबाट उत्कृष्ट २४ प्रतियोगी छनोट भएका छन् । उनीहरूको नाम चाँडै सार्वजनिक गर्ने पनि आयोजक पक्षले जनाएको छ ।
कोभिडका कारण दर्शकहरू निकै पीडामा रहेको बेला केही मात्रामा भए पनि खुसी पस्कन आफूहरूले कमेडी च्याम्पियनको दोस्रो संस्करण ल्याउन लागेको यसका निर्देशक विशाल भण्डारीले बताएका छन् । पहिलोभन्दा दोस्रो सिजन अझ भव्य हुने पनि उनको कथन छ ।
विगतको अनुभव सुनाउँदै निर्देशक भण्डारीले कार्यक्रममा भने, ‘गत वर्ष हामीलाई आर्थिक रूपमा पनि धेरै समस्या प¥यो । जसको कारण कतिपय सपनाहरू पूरा हुन सकेनन् ।’ यस वर्ष आर्थिक पक्षको चिन्ता नभएकाले ढुक्क रूपमा काम गर्न पाइएको पनि उनले बताए ।
कमेडी च्याम्पिएनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनबाट २१ फागुनबाट प्रसारण सुरु हुने पनि सोही कार्यक्रममा जानकारी गराइएको छ । कान्तिपुर टिभीका स्टेसन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताए,’ कमेडी च्याम्पियन अर्गानिक सोको रूपमा स्थापित भएको छ र यसलाई जैविक सोको रूपमा अघि बढाउने निर्णयसहित हामीले गत सिजनको अन्त्यमा नै पाँच वर्षको लागि सम्झौता गरेर लिइसकेका छौं,’ यो कार्यक्रममा अझै लामो समयसम्म आफ्नो टेलिभिजनमा प्रस्तुत गर्ने पनि उनले बताए ।
आयोकज पक्षका अनुसार कमेडी च्याम्पियनका निर्णायकमा यस वर्ष कुनै परिवर्तन भएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै निर्णायक भएको पनि कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले गर्ने पनि निर्देशक भण्डारीले बताए । थ्री प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।