सिठ्ठी बजाउँदै सडकमा उत्रिए मकवानपुरे विद्यार्थी

सिडिओले डाके बैठक
नवयुग संवाददाता
२८ चैत्र २०७५, बिहीबार ०९:३४

मकवानपुर । सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडक आन्दोलन सुरु गरेका हुन् ।

पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार विद्यार्थीहरुले आज (बिहीबार) सिठ्ठी आन्दोलन गरेका हुन् । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसका गरी करिब डेढ सय भन्दा बढी विद्यार्थीले सडकमा सिठ्ठी बजाएर नाराबाजी गरेका छन् । हेटौंडाको सीमा चोकमा कोण सभा गरी सिठ्ठी आन्दोलन समापन गरिएको संयुक्त विद्यार्थी मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा गत फागुन २७ गते भएको सहमतिको हुबहु कार्यान्वयन हुनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अनुसार भोली (शुक्रबार) हेटौंडामा सडक नाटक देखाई सडक बहस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी(सिडिओ) आस्मान तामाङले विद्यार्थीहरुसँगको बठैक बोलाएका छन् । सिडिओ तामाङले भोली (शुक्रबार) दिउँसो २ बजेलाई बैठक बोलाएको ४५ प्रतिशत छुट अभियानका अभियान्ता रामकृष्ण शिवाकोटीले बताए । वीरगञ्ज–हेटौंडामा सडकखण्डमा चल्ने यातायातहरुले समेत विद्यार्थीलाई छुट नदिने गरेको विद्यार्थीहरुको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*