स्टासेफ औषधिमा रेमडेसिभिरको स्टिकर टाँसी बिक्री गर्ने पक्राउ

नवयुग संवाददाता
२४ बैशाख २०७८, शुक्रबार २०:१४

Advertisement

मोरङ । विराटनगरमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा लगाइने रेमडेसिभिर औषधिको नक्कली स्टिकर राखेर बिक्री भइरहेको फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार विराटनगरस्थित नोबेल शिक्षण अस्पताल नजिकको साथी मेडिकल पसलबाट स्टासेफ नामक औषधिलाई रेमडेसिभिर भन्दै बिक्री गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कोरोनाको औषधि रेमडेसिभिरको नक्कली स्टिकर टाँसेर बिक्री गर्दै आएका महानगरपालिका–१० का २६ वर्षीय सोनु आलम र महानगरपालिका १६ का २३ वर्षीय श्रवण यादवलाई पक्राउ गरिएको हो।

Advertisement

प्रहरी प्रवक्ता राईले विशेष सूचनाका आधारमा कोरोना महामारीबीच रेमडेसिभिर औषधि नक्कली स्टिकरसहित बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए। प्रहरीले दिउँसो करिब १ बजे सोनु आलमलाई औषधि पसलबाट स्टासेफ औषधिको ४ वटा बट्टा सिसी र रेमडेसिभिरको १ बट्टा सिसी बरामद गरेको थियो।

Advertisement

प्रहरीका अनुसार औषधि पसलबाट नक्कली रेमडेसिभिर बनाउने क्रममा ९० रुपैयाा स्टासेफ खरिद गर्दै उनीहरुले ८ देखि २० हजार रुपैयासम्म विक्री गर्दै आएका थिए। प्रवक्ता राईले पक्राउ परेकाहरूले औषधिमा लाग्ने स्टिकर भारतको पटनाबाट ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। पक्राउ परेका आलम र यादवलाई प्रहरीले लागुऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

यादव गत वर्ष कार्तिक २५ गते विराटनगर बसपार्कस्थित एक होटलबाट लागुऔषध ब्राउन सुगर बरामदका क्रममा फरार रहेका थिए। कोरोना संक्रमण बढेसँगै रेमडेसिभिर विक्री गर्ने गिरोह नै परिचालित भएको प्रहरीको आशंको छ। उनीहरूले अस्पतालका विभिन्न औषधि पसलमा सम्पर्क गर्दै नक्कली औषधि संक्रमितका बिरामीलाई दिएर रकम असुल्ने गरेको पाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*