कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

नवयुग संवाददाता
३ जेष्ठ २०७८, सोमबार १६:१४

Advertisement

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। आज दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री गोपाल शर्मा र सीता नेपालीलाई सपथ खुवाएका हुन्।

Advertisement

आइतबार राति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपालीलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। नेपाली संसदीय दलको प्रमुख सचेतक हुन् भने शर्मा माओवादी नेता जनार्दन शर्माका भाइ हुन्।

Advertisement

योसहित मुख्यमन्त्री शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा उनले माओवादीको तीन जनालाई मन्त्री बनाएका थिए। तीमध्ये बिन्दमान बिष्ट सपथ खान नपाएरै फिर्ता हुनु परेको छ। गत साताको बुधबार उनलाई आन्तरिक मामिला, शर्मालाई आर्थिक मामिला र नेपालीलाई जलस्रोत मन्त्रालयमा नियुक्त गरिएको थियो। सत्ता साझेदार दल नेपाली कांग्रेसलाई मिलाउन मुख्यमन्त्रीले एकजना मन्त्रीलाई सपथ नखुवाएरै फिर्ता गर्नु परेको हो।

Advertisement

नेपालीलाई मन्त्री बनाउन मुख्यमन्त्रीले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाएको जलस्रोत तथा उर्जा मन्त्रालय हाल आफैंले राखेका छन्। सामाजिक विकास मन्त्रालय पनि अहिले मुख्यमन्त्रीसँगै छ। वैशाख ३ गते मुख्यमन्त्री शाहीले एमालेका चार जना सांसदको सहयोगमा विश्वासको मत पाएपछि ४ गते पहिलो पटक मन्त्रिपरिषद पुनःगठन गरेका थिए। त्यसबेला उनले आफूलाई विश्वासको मत पुर्‍याउन फ्लोर क्रस गरेका एमालेका चार जना सांसदमध्ये तीन जनालाई मन्त्री बनाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*