सम्झनामा २०७५: यी घटनाक्रमले मकवानपुरमा चर्चा कमायो

उज्वल अधिकारी
३० चैत्र २०७५, शनिबार ११:३९

विक्रम संवत् २०७५ सालमा मकवानपुरमा धेरै विषयले चर्चा कमायो । प्रदेश नं ३ को राजधानी समेत रहेको जिल्ला भएकोले पनि मकवानपुरमा धेरै घटनाक्रमहरु चर्चित बने । नववर्ष २०७६ सुरु हुँदै गर्दा मकवानपुरमा चर्चित बनेका केही घटनाहरुलाई संक्षिप्तिकरण गर्ने प्रयास गरिएको छ ।

जिल्ला प्रमुखहरुको विद्यार्थी भर्ना अभियान:

बैशाख १० गते मकवानपुरमा नेपाल सरकारको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन जनप्रतिनिधिसंगै स्थानीय प्रशासन पनि अग्रसर बनेको थियो ।
मकवानपुरमा जिल्ला समन्वय समिति,हेटौंडा उपमहानगरपालिकासंगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पनि सरकारको अभियानलाई सफल बनाउन बालबालिकालाई भर्ना गरेर अभिभावकत्व लिएका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसंगै,हेटौंडा उपमहानगरपालिका वडा नमबर ९ का वडा अध्यक्ष, वडा सदस्यसंगै प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा,प्रहरी उपरिक्षक विकासराज खनाल, जिल््ला समन्वय अधिकारी नारायण प्रसाद मैनालीले एकै साथ विद्यार्थी भर्ना गरेर सरकारको अभियानलाई सहयोग प्रदान गरेका थिए ।

सुन प्रकरणमा तत्कालिन एसपी विकासराज खनाल पक्राउ:

३३ किलो सुन प्रकरण अनुसन्धानका क्रममा मकवानपुरका तत्कालिन एसपी विकासराज खनाललाई नियन्त्रणमा लिइएको थियो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको सुन तस्करी छानविनका सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बैशाख ११ गते बहालवाला एसपी खनाललाई नियन्त्रणमा लिएको थियो । एसपी खनाल पक्राउ परेपछि मकवानपुरमा खैलाबैला मच्चिएको थियो ।

एसपी लोकेन्द्र श्रेष्ठको ४२ दिनमै सरुवा:

मकवानपुरका तत्कालिन एसपी लोकेन्द्र श्रेष्ठको छोटो कार्यकालमै सरुवा भएको थियो । मकवानपुर आएको ४२ दिनमै एसपी श्रेष्ठको असारमा सरुवा भएको थियो ।
४२ दिनको अवधीमा उनले गाँजा फाँड्ने मेसिन ल्याउनुका साथै जिल्ला प्रहरी कार्यालयको सुधार गर्दै वाईफाई, टिभी तथा कम्प्युटरको समेत ब्यवस्था गरेका थिए । विभिन्न ठाउँमा सामाजिक कार्यक्रम तथा लागुऔषधी दुव्र्यसनीका विरुद्धमा कार्यक्रम समेत गर्दै आएका थिए । कतिपयले उनले इन्काउन्टर गर्छु भन्दै दिएको वक्तव्य र उनले कानुनलाई बलियो बनाउन तथा सामाजिक परिवर्तनको लागि गरेका कार्यहरुको विरोधीले उनको सरुवा गर्न सफल भएको बताएका थिए ।
श्रेष्ठको ४२ दिनमै सरुवा भएको विषयले मकवानपुरमा तहल्का पिटेको थियो ।

प्रधानमन्त्रीको प्रदेश न ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन:
जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीले देशमा जनताको सरकार भएका कारण कोही पनि भोकै नमर्ने बताएका थिए । सरकारले जनताको आर्थिक स्तर उकास्ने खालका कार्यक्रम ल्याउने दावी गर्दै सरकारले कसैलाई पनि भोकै रहन नदिने बताएका थिए । बन्द अवस्थामा रहेका कलकारखाना सञ्चालनमा ल्याउने भन्दै उनले त्यसका लागि सरकारले तयारी सुरु गरिसकेको बताएका थिए ।

ओम्याक्स सिनेमामा आगलागीः
साउन २३ गते बुधवार ओम्याक्स सिने हलमा आगो लागि भएको थियो । हेटौंडा उप–महानगरपालिका र नेपाल आयल निगमको दमकलले आगो निभाएको थियो । आगलागीबाट हल भित्रका सबै सामानहरु जलेर नष्ट भएको थियो । हेटौंडाको पहिलो अत्याधुनिक हल ओम्याक्स हल आगोलागीले क्षण भरमै ध्वस्त भएको त्यो क्षण हेटौडावासीले बिर्सन सक्दैनन् ।

२०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल दुई घण्टामै ध्वस्त भएको थियो । चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य रहेका नरेन्द्र महर्जन हलका संचालक हुन् ।

तीन करोड लागतमा निर्माण गरिएको ओम्याक्स हेटौंडामा बनेको सुविधा सम्पन्न पहिलो हल थियो । ८ कठ्ठा क्षेत्रफलमा बनेको हलमा एक साथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्थे । हलमा कायरा फिल्म प्रर्दशन भइरहेको थियो ।

सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्स फिल्म हल काठमाडौंको सिभिल महलको जस्तै क्यूएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन रहेको थियो । काठमाडौंको जय नेपाल हलमा भए जस्तै व्यवस्थापन रहेको हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधा थिए । सिनेमा हलले १५ जनालाई रोजगार दिएको थियो । सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । हाल हलको पुन निर्माण कार्य जारी छ ।

केशव स्थापित मन्त्रीबाट बर्खास्त
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा विकास विकास मन्त्री केशव स्थापितलाई पदबाट कार्तिक १६ गते शुक्रबार बर्खास्त गरेका थिए ।
स्थापितलाई संविधानको धारा १ सय ६९ बमोजिम पदबाट बर्खास्त गरिएको थियो । मन्त्री स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम बर्खास्त गरिएको हो । स्थापितको मन्त्रालय हाल मुख्यमन्त्रीलेनै समालिरहेका छन् । संविधानको धारा १ सय ६९को उपधारा २ (ख) मा मुख्यमन्त्रीले पदमुक्त गरेमा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ ।

कार्तिक १४ गते बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुव्र्यवहार गरेका थिए । मूख्यमन्त्री पौडेललाई मुख छोडेर गाली गरेपछि मुख्यमन्त्री पौडेल यसबारे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य नेताहरूसँग कुरा गर्न काठमाडौं समेत पुगेका थिए । भेटका क्रममा स्थापितसँग आफूले काम गर्न नसक्ने बताएका थिए ।
हेटौंडाको मुख्य सडकलाई १०० दिनभित्र फराकिलो बनाउछु भन्दै आएका स्थापितको बर्खास्ती समेत मकवानपुरमा चर्चित बन्यो ।

सञ्चारकर्मी मनोहर ढकालको हत्या

पुस २५ गते मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्या भयो । ढकालको हत्यालाई एक दुर्घटना भनियता पनि त्यो भनाईमा मात्र सिमित रह्यो । ढकालको हत्या भएको भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० दिनपछि माघ ५ गते पुष्टी गरेको थियो ।

हेटौंडा १ भैरव डाँडा स्थित उनको हत्या गरिएको थियो । सामुदायिक रेडियो रेडियो पालुङका पूर्वस्टेशन म्यानेर रहेका ढकाल शिक्षण पेशामा समेत आवद्ध थिए । ढकालको हत्याको विषयले पनि मकवानपुरमा निकै चर्चा कमाएको थियो ।

मकवानपुरगढीमा राष्ट्रपति विद्यादेवी भण्डारी:

माघ १० गते राष्ट्रपति विद्यादेवी भण्डारी मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार आएकी थिइन् । मकवानप’रगढी दरबारको २५६ औं विजय उत्सवको उद्घाटन गर्न राष्ट्रपति भण्डारी यहाँ आएकी थिइन् ।

राष्ट्रपति भण्डारीले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुर गढी नेपालको एकीककरण अभियानको कोशेढुङ्गा सावित भएको बताएकी थिइन् । राष्ट्रपति भण्डारीले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएको बताएकी थिइन् ।

मकवानपुर देशकै पहिलो सडकमानव मुक्त जिल्ला घोषणा:

फाल्गुन ४ गते मकवानपुर देशकै पहिलो सडकमानव मुक्त जिल्ला घोषणा भएको थियो । घोषणासँगै जिल्लाका कुनै पनि सडकमा बेसहारा, मानसिक सन्तुलन बिग्रिएका कोही पनि मानवले सडकमा रात बिताउनुपर्ने अवस्था छैन् ।

जिल्ला समन्वय समितिको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरलाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरेका हुन् । घोषणा गर्दै मुख्यमन्त्रीले अभियानलाई प्रदेशका १३ बटै जिल्ला र्पुयाउने बताएका थिए । २०६९ भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट सुरुआत भएको मानवसेवा आश्रमले थालेको सडक मानबको उद्धारसहित पालन पोषणको कामले जिल्लालाई सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा गरिएको हो ।

हेटौंडामा सडक क्षेत्र १६ मिटर बनाउने निर्णय:

फाल्गुन ५ गते प्रदेश ३ सरकारले हेटौंडाको मुख्य बजारको राजमार्ग क्षेत्र १६ मिटर कायम गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले हेटौंडा क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडकलाई सडकको दायाँ बायाँ १६ –१६ मिटर कायम गर्ने निणर््य गरेको थियो ।

हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा विकास गरेर ४ लेनको सडक निर्माण गर्ने, त्यसमा ग्रिन बेल्ट (सडकको दायाँ बायाँ बगैचा) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाईपास सडक निर्माण गरेर राजमार्गका रुपमा विकास गर्ने निर्णय गरेको थियो । जुन विषय मकवानपुरमा निकै चर्चित बन्यो ।

हेटौंडामा बर्ड फुलू भेटियो:
फागुनमा हेटौंडामा बर्ड फ्लू भेटिएको थियो । हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित कुलप्रसाद चौलागाईको कमर्सियल लेयर्स फर्मको कुखुराको नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो ।

बर्ड फ्लू पुष्टि भएपछि यहाँका हजारौं कुखुराहरु नष्ट गरिएको थियो । जुन विषयले मकवानपुरमा मात्र नभई देशभर चर्चा कमायो ।

‘गोल्डकप’ को उपाधि जित्न मकवानपुर सफल

चैत्र १६ गते हेटौंडामा सम्पन्न भूगर्भ सिमेन्ट दोस्रो शहीद स्मृति ‘मकवानपुर गोल्डकप’ को उपाधि मकवानपुरले जितेको थियो ।
सुदूरपश्चिम क्लबदेखि इलामको माइभ्याली गोल्डकपमा आफ्नो आधिपत्य जनाइसकेको क्यामरुनको पाहुना टोली डाफिन्स क्लबलाई २–१ अन्तरले हराउँदै मकवानपुरले उपाधि जितेको थियो । मकवानपुरका तर्फबाट दुवै गोल योगेश गुरुङले गरे । उनले ८ औं र ८१ औं मिनेटमा गरेको गोलले उपाधि जिताएको थियो । दुवै गोल पेनाल्टी सुटआउटका आधारमा भएको हो । २०६४ सालमा हेटौंडामा फुटबलको ठूलो प्रतियोगितापछि सम्भवतः पहिलोपटक राष्ट्रिय फुटबलको महाकुम्भ लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*