१५ मंसिर २०७९, बिहीबार

फराकिलो मतान्तरसहित जित्छाैं : चापागाईं

प्रकाशित मिति :  १६ बैशाख २०७९, शुक्रबार ०७:३२


स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईं मेयर पदका उम्मेदवार हुनुहुन्छ । गत निर्वाचनमा मेयर, उपमेयरसहित तिलोत्तमाका १७ वटा वडामध्ये १३ वटा वडामा एमालेले जितेको थियो । तिलोत्तमामा सत्ता गठबन्धन भत्किएको अवस्था छ । काँग्रेस र माओवादीबीच गठबन्धन भए पनि एकीकृत समाजवादी एक्लै चुनाव लडेको छ । यो अवस्थामा एमालेका लागि यसपटकको निर्वाचन कत्तिको चुनौतीपूर्ण छ । एमालेका योजना र प्राथमिकताहरु के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर पत्रकार लक्ष्मण पौडेलले छापामाध्यम, रेडियो र टेलिभिजन गरी तीनवटै आमसञ्चारमाध्यममा तीस बर्ष सक्रिय पत्रकारिता गर्नुभएका तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार चापागाईंसँग गर्नुभएको कुराकानीः

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
–आम रूपमा हेर्दा तिलोत्तमा नगरपालिकाको जुन निर्वाचन छ, यो निर्वाचन अरू परिस्थिति भन्दा अलि भिन्न खालको छ । तिलोत्तमा नयाँ नगरपालिका भएको र गत निर्वाचनपछि बनेको कार्यकारी बोर्डले जनतासँग मिलेर जुन ऐतिहासिक कामहरू ग¥यो, त्यो एमालेले चुनाव जितेका कारण सम्भव भएको हो । त्यसले गर्दा यहाँका मतदातामा एकदम उत्साह, आत्मविश्वास, हामीले पनि केही गर्न सक्छौं भन्ने उत्साहपूर्ण अभिलाषा देखिएको छ ।
चुनाव जित्ने आधार के के छन् ?
–राष्ट्रिय हिसावले एमाले नेतृत्वको संघीय सरकार, प्रदेश सरकारमा नेतृत्व गर्दा गरेका काम र हामीले निर्वाचन जितेपछि गएको पाँच वर्षमा यो नगरपालिकालाई जस्तो बनाएका छौं, यो यहाँका मतदाताको सामूहिक मेहनत, श्रम, लगानीमा सम्भव भएको हो । निर्वाचन जितेपछि गरेका जुन सकारात्मक काम छन्, हामीले हरियालीयुक्त नगर बनाएका छौं, सफा सुन्दर नगर बनाएका छौं, खुल्ला प्लाष्टिकमुक्त बनाएका छौं । तिलोत्तमालाई बालमैत्री नगरपालिकाका रूपमा घोषणा गरेका छौं । नेपालका अरू नगरपालिकामध्ये सबैभन्दा धेरै कानुनहरू बनाएका छौं । हामीले गुणस्तरयुक्त र सुशासनयुक्त नगरपालिकाका रूपमा विकसित गरेका छौं । यो हिसावले हेर्दा बिगत पाँच वर्षमा हामीले गरेका काम नै चुनाव जित्ने महत्वपूर्ण आधार हुन् ।
दोस्रो, हामीले प्रतिवद्धता मार्फत अव नगरमा के गर्ने हो भन्ने योजना, नीति र कार्यक्रमहरू पनि सार्वजनिक गरेका छौं । त्यसमा हामीले यो नगरलाई एउटा शैक्षिक हवको रूपमा विकास गर्ने, सामुदायिक विद्यालयहरूबाटै गुणस्तरीय शिक्षा पाउने ग्यारेन्टी गर्ने, स्वास्थ्य बीमाका माध्यमबाट नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने, गएको पाँचवर्षमा जुन पूर्वाधारमा ठूलो लगानी गरेका छौं आगामी दिनमा ती पूर्वाधारमार्फत सहज सेवा प्रदान गर्नका लागि पनि यहाँका नागरिकले हामीलाई मतदान गर्नुहुन्छ । त्यसले गर्दा हामी फराकिलो मतान्तरसहित चुनाव जित्छौं ।

नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ । अर्कोतिर काँग्रेस र माओवादीको गठबन्धन छ, कत्तिको चुनौती छ ?
–तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ भने काँग्रेस र माओवादीबीच तालमेल छ । यो गठबन्धन केवल पद प्राप्तिको लागि मात्रै हो भन्ने कुरा जनताले बुझेका छन् । राजनीतिमा आफ्नो नीति, विचार कार्यक्रमको कुरा लागू गरेर जाने हो । त्यो कुरामा उहाँहरुको ध्यान छैन । सम्पूर्ण ध्यान कसरी पद प्राप्त गर्ने भन्नेमा मात्रै देखिन्छ । त्यसले गर्दा तिलोत्तमा नगरपालिकाको सन्दर्भमा गठबन्धन केवल व्यक्तिको हितका लागि गरिएको जस्तो लाग्छ । त्यसले गर्दा यहाँ गठबन्धनको त्यति धेरै सार्थकता छैन । एमालेभित्र हामी सबै एकतावद्धरूपमा अगाडि बढेका छौं भने नेपाली काँग्रेसभित्र असन्तुष्टी व्याप्त छ । गृहमन्त्रीका भाइ भएको कारणले आफ्नै परिवारभित्रकालाई टिकट दिएको भनेर सो पार्टीका कतिपय कार्यकर्ता असन्तुष्ट छन् । यसले गर्दा चुनाव एमालेले जित्ने कुरामा दुईमत छैन ।

तिलोत्तमाले देशमै चर्चा कमाएको छ, यसलाई कायम राख्न तपाईका योजना र प्राथमिकता के छन् ?
–शिक्षा, स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाह नागरिकको आवश्यकता र चाहना हो । सुशासनयुक्त नगरपालिका निर्माणदेखि विकास निर्माणमा तदारुकताका साथ नगरबासीलाई साथमा लिएर अगाडि बढ्ने योजना छ । सानासाना कामहरू गरेर पनि नागरिकलाई उत्साहित बनाएर विगतमा जसरी हिडियो त्यसलाई अझ नयाँ उचाइका साथ नयाँ तहबाट हामीले काम गर्छौं । प्रतिवद्धतापत्रमार्फत हामीले आफ्ना योजनाहरू सार्वजनिक गरेका छौं । खास गरेर शिक्षा, स्वास्थ्य, हरेक ठाउँमा स्वस्थ नागरिक निर्माण गर्ने, खेल मैदानहरू निर्माण गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जस्ता हाम्रा धेरै योजना र कार्यक्रम छन् । जातजाती, भाषाभाषी, धर्मप्रति हामी असाध्यै सहिष्णु भएर सांस्कृतिक धरोहरहरूलाई संरक्षण गरेर अगाडि बढाउँछौं । सिंचाई प्रणालीदेखि लिएर अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने कुरा मेरो प्रमुख प्राथमिकतामा रहेको छ ।

तपाई सामान्य किसान हुँदै राजनीति क्षेत्रमा प्रवेश गरेको व्यक्ति, आफ्नो विगतलाई कसरी स्मरण गर्नुहुन्छ ?
–मलाई ठाउँठाउँमा धेरै जनाले प्रश्न गर्नुभएको छ । चुनावभन्दा अगाडि सबै मान्छे आउँछन्, चुनाव जितिसकेपछि तपाई पनि नआउने होला । यस्ता कुरा आइरहेका छन् । म आफैमा एउटा सामान्य परिवारबाट असाध्यै मेहनत र दुःख गरेर यहाँसम्म आएको हुँ । मलाई के लाग्छ भने मेरो जिन्दगीमा म कहिल्यै पनि दम्भ, घमण्ड, अहम् प्रदर्शन गर्ने भन्ने हुँदैन । मैले धेरै ठाउँमा भन्ने गरेको छु । म तपाईहरूकै भाइ हो, तपाईहरूकै छोरो हो, तपाईंहरूकै साथी हो । मसँग सँगसँगै स्कुल कलेज पढेका हजारौं साथीहरू हुनुहुन्छ । हाम्रो सबैसँग पारिवारिक खालको सम्बन्ध छ । मसँग कसैले पनि सानो ठूलोको भावनाले हेर्नुपर्दैन । हामी निर्वाचित भइसकेपछि सेवकको रूपमा भूमिका निर्वाह गर्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । हामी नगरपालिकाको सेवा प्रवाहलाई प्रविधियुक्त बनाएर अगाडि लैजाने छौं । तिलोत्तमा नगरबासीलाई सेवकको रूपमा काम गर्ने पूर्ण विश्वास दिलाउँदछौं ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..