२ भाद्र २०७९, बिहीबार

‘हस्तकला, पर्यटन र कृषिमार्फत महानगर समृद्ध बनाउने योजना छ’

प्रकाशित मिति :  १७ बैशाख २०७९, शनिबार ०८:०८


मञ्जली शाक्य ( आस्था )
उपप्रमुखकी उम्मेदवार, ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाको भित्रिभागमा जन्मेर हुर्किनुभएकी मञ्जली शाक्य (आस्था) अहिले नेकपा एमालेबाट महानगरमा उपप्रमुखकी उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धन दलहरूले भागबण्डाका नाममा दुबै पदाधिकारीमा पुरुष उठाइरहँदा एमालेले भने महानगरका नागरिकको दुःख र सुखमा साथ दिँदै आउनुभएकी सशक्त महिलालाई उम्मेदवार बनाएको छ ।
पार्टीको महानगर कमिटी अध्यक्ष उहाँ महानगरका समस्या मात्रै बुझ्नुभएको छैन, त्यसको समाधानका बारेमा समेत योजना बनाउनुभएको छ । ललितपुर महानगरपालिका सम्भावना नै सम्भावनाको ठाउँ भएको उहाँको ठम्याई छ । कृषि, हस्तकला, पर्यटनका माध्यमार्फत महानगरको विकास गर्न सकिने उहाँको भनाइ छ । पर्यटन देशकै आर्थिक विकासको आधार भएको र महानगर कला, संस्कृति र हस्तकलाको केन्द्र नै भएकाले यसमार्फत नागरिकको जीवन उकास्न सकिने उहाँले बताउनुभयो ।
चक्रपथबाहिर अझै पनि कृषिका लागि जमिन रहेको छ । चक्रपथभित्र हस्तकला र बाहिरी क्षेत्रमा कृषिको विकासमा ध्यान दिने उहाँको योजना छ । यहाँ हस्तकलासम्बन्धी र अरू पनि धेरै उद्योग छन् । अर्थतन्त्र विकास गर्न र रोजगारीका लागि यी क्षेत्रमा रहेका समस्या सबैसँग मिलेर समाधान गरिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ हाम्रो महानगरमा अरू क्षेत्रभन्दा एकता देखिन्छ । जातीय वा हरेक हिसाबले रहेको एकताका आधारमा योजना लागु गर्न सकिन्छ ।”
समग्र मुलुकको अर्थतन्त्र समस्याग्रस्त भइरहँदा एमालेका पदाधिकारी बिजयी भएर आएपछि सामाजिक, सांस्कृतिक विकास र आर्थिक विकाससँगसँगै अघि बढाउने उपप्रमुखकी उम्मेदवार शाक्यले बताउनुभयो । महिलालाई स्थानीय र अरू सरकारले तालिम मात्रै दिइरहेकाले त्यसलाई उद्यमशीलतामा बदल्ने उहाँको सोचाइ रहेको छ । महिलालाई लगानी गरेर केही गर्न चाहँदा आबश्यक आर्थिक सहयोग जुटाउने उहाँको योजना छ ।
उपत्यकाका बासिन्दा भनेपछि यहाँ सबै धनी हुन्छन् र भाडामा राखेर खान पाउँछन् भन्ने सोचाई तोड्नुपर्ने आबश्यक देख्नुभएको छ शाक्यले । शहरको भित्रिभागमा जन्मेर हुर्किएकाले उहाँले शहरभित्र सानो घर भए पनि जीबिकोपार्जन गर्न गाह्रो भएको अवस्था नजिकबाट देख्नुभएको छ । चक्रपथ बाहिर जसोतसो जीवनस्तर उकासिएको भए पनि भित्रिभागमा कतिपयको जीवनस्तर पहिलेभन्दा अझै खस्किएको छ । पहिले पहिले यहाँका मान्छेसँग जग्गा प्रशस्त थियो । त्यो बेचेर नै छोराछोरीको बिहे गर्ने र बिदेश पठाउने गर्दागर्दै उनीहरूसँग सम्पति केही छैन । उहाँले भन्नुभयो, “यहाँको अर्थतन्त्र खस्केको छ । तर धेरैले त्यो देखेकै छैन ।”
पुख्र्याैली र पुस्तौँदेखि गरिँदै आएको हस्तकलाको राम्रो सम्भावना हुँदाहुँदै यसमा कोभिडले नराम्रो असर गरेको छ । अहिले व्यवसाय खस्केको छ । महानगरबासीलाई समृद्ध बनाउन भित्रिभाग र बाहिरी भागमा पनि सामूहिकरूपमा उद्यमशीलतालाई अघि बढाउनुपर्छ । यहाँका नागरिकमा पहिलेदेखि नै बिभिन्न सीप थियो, कतिपयले पछि सीप सिकेका पनि छन् । तर लगानी र बजार नभएर त्यो बिस्थापन हुने सम्भावना छ । यहाँको हस्तकला र सीपलाई संवद्र्धन र संरक्षण गरेर अर्थतन्त्र उठाइने योजना उहाँले सुनाउनु्भयो ।
महिलाका लागि कानुनी शिक्षा
उपउप्रमुख न्यायिक समितिको प्रमुख हुने भएकाले महिलालाई कानुनी शिक्षा दिने गरी केन्द्र सञ्चालन गर्ने उहाँको योजना छ । कतिपय महिला हिंसामा परेका छन् तर उनीहरुले न्याय पाएका छैनन् । कतिपयले भने कानुनको ज्ञान नपाएर पनि अपराध गरिरहेका छन् । उपप्रमुख न्यायिक समिति प्रमुख हुने भएकाले आफूले महिलालगायत आबश्यक वर्गलाई कानुनी ज्ञान दिने कार्यक्रम चलाउने उहाँले बताउनुभयो । सुत्केरी महिला र नवजात शिशुलाई लक्षित गरेर पोषण दिने कार्यक्रम पनि अघि बढाइने लक्ष्य रहेको छ ।
गठबन्धनका कारणले संविधानले व्यवस्था गरेको महिलाको अधिकार खुम्चिन लागेको अवस्थामा आफू सबै महिलाको साझा उम्मेदवार भएको उहाँको भनाइ छ । आफू देश परिवर्तनका लागि लामो समयदेखि लागेको र त्यस क्रममा महिला, ज्येष्ठ नागरिक, बालबालिका सबैका इस्यु नजिकबाट नियालेको उहाँले बताउनुभयो । शासकले कम ध्यान दिइरहेको समुदायको हितमा केही काम गरेर देखाउँछु भन्नेमा उहाँ प्रतिबद्ध हुनुहुन्छ ।
महानगर कमिटीको अध्यक्ष भएकाले पनि यहाँको सबै वडासँग जोडिएको र जनताको समस्या बुझेको उपप्रमुखका उम्मेदवार शाक्यले बताउनुभयो । सबै श्रमिक मजदुरको प्रतिनिधित्व गरेर निर्वाचनमा उम्मेदवार भएको र महानगरका सबैको आशाको केन्द्र बन्ने उहाँको भनाइ छ ।
नागरिकको मौलिक हक कार्यान्वयन नै एमालेका उम्मेदवारको पहिलो प्राथमिकता रहेको छ । शिक्षा, स्वास्थ्य र खानेपानी नागरिकलाई पु¥याउने कुरामा ध्यान दिइने उहाँले बताउनुभयो । नगरका कतिपय भित्री बस्तीमा धारामा कहिल्यै पानी नआउने समस्या रहेको छ । सबै नागरिकलाई पानी खुवाउने उहाँको योजना छ । सरसफाईको विज्ञ राखेर परियोजना अघि बढाउने र फोहोरलाई मोहर बनाउने योजना कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्षभित्र प्लाष्टिकमुक्त र फोहरमुक्त शहर बनाउँछौँ ।”
शहरलाई सुन्दर र सफा बनाउनकै लागि भित्री शहरमा विद्युतीय गाडि चलाउने योजना उहाँले सुनाउनुभयो । त्यसका लागि बिभिन्न देशसँगको सहकार्यमा कार्यक्रम अघि बढाउने गरी छलफल भइरहेको छ । चक्रपथभन्दा बाहिरी क्षेत्रमा पार्किङको व्यवस्था गरिनेछ । त्यस्तै, पर्यावरणको संरक्षणका लागि ५० लाख बिरुवा रोप्ने योजना उहाँको छ ।
को हो आस्था शाक्य ?
उपमेयरका उम्मेदवार शाक्य हाल पार्टीको नगर कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँ नेकपाको निरन्तरताका रूपमा एमालेमा नै रहनुभयो । अहिले महानगरमा धेरैभन्दा धेरैलाई पार्टी प्रवेश गराउन उहाँ जुझारु रूपमा लाग्नुभएको छ ।
उहाँ २०५७÷५८ सालदेखि भूमिगत हुनुभएको थियो । १२ कक्षा सकेर स्नातक पढ्दापढ्दै पढाई र घर सबै छाडेर उहाँ ‘पूर्णकालीन सदस्य’ हुनुभयो । उहाँ पार्टीमा सक्रिय हुँदै क्रान्तिकारी माओवादी र नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुभयो । नेकपाको एकतामा केन्द्रीय सदस्य हुनुभएको उहाँ पार्टी सानो र चुस्त बनाउनुपर्ने भएकाले प्रदेश कमिटी सदस्य हुनुभयो ।
“जनताको सेवा गर्न माथि गएर मञ्चमा भाषण मात्रै गर्नुभन्दा कार्यकारी पदमा बसेर केही गर्नुपर्छ भन्ने लागेर त्यसपछि पालिकाको अध्यक्ष भएँ”, उहाँले भन्नुभयो, “अहिले म सबै टोलमा पुगेकी छु र जनताको कुरा बुझेकी छु ।”
सानैदेखि राजनीतिमा चासो भएकी शाक्यको विद्यार्थीदेखि नै राजनीति जीवन शुरू भयो । एसएलसी सकेर ११ पढ्दादेखि नै राजनीतिमा लागेको उहाँले बताउनुभयो । महानगरपालिका–१६ मा जन्मनुभएकी शाक्यलाई पहिलेदेखि नै समाज र देश परिवर्तन गर्नुपर्छ भन्ने सोचाई भित्रैबाट थियो । बिद्रोही स्वभावको भएकाले जतिसक्दो चाँडो परिवर्तन ल्याउनुपर्छ भन्ने लागेकाले राजनीतिमा लागेको उहाँले बताउनुभयो ।
उहाँ मावली हजुरबुबा गणेशमान सिंहसँग नजिक हुनुहुन्थ्यो । पारिवारिक रूपमा नेपाली काङ्ग्रेसका बारेमा सुन्दै हुर्किए पनि उहाँलाई त्यो पार्टीले समाज परिवर्तनका लागि तत्काल केही गर्छ भन्ने विश्वास लागेन । सानैदेखि देख्दै आएको काङ्ग्रेसी वातावरण मन परेन । उनीहरूको चुनाबी प्रचार भड्किलो थियो र त्यो गरेपछि कसरी देश विकास हुन्छ ? भन्ने लाग्थ्यो । त्यसैले उहाँले बामपन्थी राजनीति रुचाउनुभयो । पार्टीका बिभिन्न पदमा रहेपनि अहिलेसम्म कुनै पदमा रहेर जनताको सेवा नगरेकाले त्यो गर्ने इच्छा छ । नागरिकको आफू आशाको केन्द्र बनेको महसुस गर्नुभएको छ । मैले गर्नसक्छु भन्ने विश्वास पनि छ ।
प्रस्तुतिः संजिता नेपाल



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..