४ भाद्र २०७९, शनिबार

शीर ठाडो, छाती चौडा बनाएर जनतामाझ जानोस, एमालेको बिजयलाई कसैले रोक्न सक्दैन : उपाध्यक्ष नेम्वाङ

प्रकाशित मिति :  १७ बैशाख २०७९, शनिबार १५:३९


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तारुढ गठबन्धनले लगाएको आरोपलाई ‘जो चोर उसैको ठूलो स्वर’ को संज्ञा दिनुभएको छ । सत्ता गठबन्धन जनतामा जाने कुरालाई प्रतिगमन भन्ने कुरा र आफैले बिगतमा संसद बिघटन गरेको तथ्य स्मरण गराउँदै नेम्वाङले यस्तो संज्ञा दिनुभएको हो ।

‘गाउँतिर एउटा भनाई छ नि जो … उसैको ठूलो स्वर’ ठ्याक्कै त्यही भइरहेको छ अहिले । सत्तारुढ गठबन्धन आफ्नो अपराध अरुमाथि थोपरिरहेको छ, त्यसैले उनीहरुले लगाउने गरेको केपी ओलीमाथिको आरोप जो चोर उसैको ठुलो स्वर मात्रै हो,’ नेकपा एमाले दोलखा काठमाडौं सम्पर्कमञ्चले आज आयोजना गरेको चुनावी अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले भन्नुभयो । उहाँले गठबन्धनले आफू बदमासी गर्ने तर आरोप भने एमाले र यस पार्टीका अध्यक्ष केपी ओलीमाथि लगाउने गरेको तथ्यलाई जनताले बुझिसकेको प्रष्ट पार्नुभयो ।

‘गठबन्धन आफू बदमासी गर्ने, दोष केपी ओली र एमालेमाथि थोपर्ने काममै ब्यस्थ छ, तर जनताले यिनीहरुको अपराधको बहिखाता तयार पारिसकेका छन,’ नेम्वाङले भन्नुभयो । उपाध्यक्ष नेम्वाङले बैशाख ३० गतेको निर्वाचनमा जनताले उचित फैसला गर्ने भन्दै शीर ठाडो र छाती चौडा पारेर जनताको बीचमा जान एमालेका सवै नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।

‘बैशाख ३० गते जनताको अदालतले फैसला गर्ने छ । जनताको निर्णय कस्को पक्षमा हुन्छ रु एमाले र केपी ओलीको बाकस खाली हुन्छ कि पार्टी फोडेर अरुको सेवामा जानेहरुको बाकस खाली हुन्छ ? कस्ले धूलो चाटछ ?’ उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘ती मित्रहरुलाई सवक सिकाउने समय आइसक्यो, अब धेरै दिन बाँकी छैन । जनताको निर्णयले त्यो प्रमाणित हुनेछ, पार्टीबाट जितेर अन्त जानेहरुले नै धुलो चाटछन, जनताले सजाय दिनेछन ।’

उहाँले सत्तारुढ गठबन्धनको अपराधले सीमा नाघेको तथ्य पनि राख्नुभयो । मुलुककै प्रतिष्ठामाथि आँच आउने काम गर्नबाट रोक्दा गभर्नरमाथि कार्वाही गरेको तर अदालतले बदनीयतपुर्ण भनेको प्रसंग निकाल्दै नेम्वाङले भन्नुभयो, ‘कालो धन रोक्दा, अमेरिकाले कालो धन रोक्न भनेपछि कानूनअनुसार काम गर्दा गभर्नरमाथि कार्वाही गरियो, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर छानविन गर्नु भन्दा संसद नै अन्त्य गरियो,’ नेम्वाङले भन्नुभयो, ‘यस्ता अपराधका फेहरिस्त छन, जनताले बुझेका छन, बस तपाई हामी शीर ठाडो पारेर जनताको बीचमा जानुपर्छ, धुलो चटाउनु पर्ने को रैछ जनताले निर्णय गर्नेछन, शीर ठाडो, छाती चौडा बनाएर जनतामाझ जानोस, एमालेको बिजयलाई कसैले रोक्न सक्दैन।’

उहाँले नेपालमा जस्तो संसारमा कतै पनि प्रतिपक्षविरुद्ध सत्तापक्ष यसरी हुल बाँधेर आएको घटना आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले जनता आफूहरुको बिपक्षमा रहेको थाह पाएरै गठबन्धन सत्ताको चरम दुरुपयोगमा उत्रिएको बताउनु भयो । ‘अहिले सत्ताको चरम दुरुपयोग भएको छ । आचारसंहिताको उलंघन भइरहेको छ । उम्मेदवार फिर्ता गर भन्दै घरघरमा मन्त्रहरु गएका छन, यो निर्वाचन आयोगमाथि घात हो,’ उपाध्यक्ष नेम्वाङले भन्नुभयो ।

एमालेकै कारण चुनाव संभव भएको भन्दै अझै पनि गठबन्धन सार्ने प्रयाशमा भने निरन्तर लागिरहेको नेम्वाङले बताउनु भयो । ‘अन्तिम समयसम्म चुनाव सार्ने खेलमा सत्ता गठबन्धन थियो । तर हाम्रो कारण सम्भव भएन । हाम्रो अध्यक्ष कमरेडको अडानले निर्वाचन समयमा हुने अबस्था आयो,’ नेम्वाङको भनाई थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यद्वय आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले दोलखाको सवै स्थानीय तह एमालेले जित्ने ठोकुवा गर्नुभयो । दोलखाका सवै स्थानीय तहमा बिजयको झण्डा फहराउने उदघोष पनि गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..