२५ श्रावण २०७९, बुधबार

अध्यक्षमा सरस्वतीको उम्मेदवारीबाट बगनासकालीबासी उत्साही

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार ०३:००


पाल्पा । सरल स्वभावकी महिला नेतृ सरस्वती चिदीले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएपछि गाउँपालिकाबासी उत्साही भएका छन् । बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष चिदीलाई यसपटक नेकपा एमालेले अध्यक्षको रूपमा अगाडि सारेको छ । यसअघि उपाध्यक्षमा निर्वाचित चिदी जिल्लामै लोकप्रिय महिला नेतृको रूपमा स्थापित हुनुहुन्छ ।

यहाँ पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले एक्लै चुनावी मैदानमा छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत माओवादीमध्ये एमालेले मात्रै प्रमुख पदमा जनजाति समुदायकी महिलालाई अगाडि सारेको हो । यसकारण पनि बगनासकालीका जनजाति समुदाय खुशी भएका छन् । एमालेले जिल्लामै पहिलो पटक प्रमुख पदमा महिलाको उम्मेदवारी घोषणा गरेको थियो । उहाँको उम्मेदवारी घोषणासँगै अन्य केही दलले पनि महिलालाई अगाडि सारेका छन् ।
को हुन सरस्वती ?
सरस्वती चिदी मगर बगनासकाली गाउँपालिकाका लागि २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी बीचको चुनावी गठबन्धनका साझा उम्मेदवारलाई समेत भारी मतले पराजित गर्नुभएको थियो ।

त्यतिबेला उपाध्यक्ष निर्वाचित भएपछि चिदीको चर्चा जिल्लभर चुलियो । उहाँले हरेक दिन, समय आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नुभयो । त्यसकारण पनि उहाँले आफ्नो राम्रो छवि बनाउनुभयो । बिहान ५ बजे उठेर घरधन्दा सकिएपछि ९ बजे गाउँपालिका कार्यालय जानुहुन्छ । अधिकांश दिन घर फर्कंदा राति अबेर भइसक्थ्यो । परिवारको साथ सहयोग लिँदै उहाँले जनताको सेवामा पाँचवर्ष बिताउनुभयो ।

मानिसहरू पद प्रतिष्ठामा पुगेपछि स्थानीय जनसमुदायको कुरामा खासै ध्यान नदिने गरेका धेरै उदाहरण छन् तर उहाँ सदाबहार रूपमा बगनासकालीको सेवामा लागिपर्नुभयो । न्यायिक संयोजकको रूपमा रही देवानी प्रकृतिका मुद्धामा सही छलफल र समन्वय गराउनेमा चिदीको नाम जिल्लामै अग्रपंक्तिमा छ । अनुगमन समिति लगायत बिभिन्न समितिमा रही उहाँले सफलतापूर्वक काम गर्नुभयो ।

अर्घाखाँची जिल्लामा जन्मनुभएकी चिदीको सानै उमेरदेखि नै समाजसेवामा इच्छा थियो । कलेज पढ्दादेखि नै नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध हुनुभएको थियो । २० वर्षको उमेरमा बिवाह भयो, बालबच्चा जन्माउँदै हुर्काउँदै गर्दा पनि उहाँ सामाजिक कार्यहरूमा सक्रिय रूपमा लाग्नुभयो । उहाँको सरल स्वभावबाट प्रभावित भएर नै नेकपा एमालेले उहाँलाई उपाध्यक्षको रूपमा अगाडि सारेको थियो । उपाध्यक्षको रूपमा निर्वाचित भएपछि उहाँको समय जनताको सेवामा वित्योे ।

उपाध्यक्षमा निर्वाचित भएपछि महिलाको हक हित, एकल महिला, अपाङ्गता भएका नागरिक लगायत आर्थिक सामाजिक रूपमा पछाडि परेका समुदायलाई विभिन्न सञ्जालहरूमार्फत सशक्तीकरण गर्दै अगाडि बढाउन चिदीको महत्वपूर्ण भूमिका छ । लक्षित बर्गलाई आयआर्जनको पाटोमा माथि उकास्ने, किशोरी क्लवहरूको समूह बनाउने, महिला हिंसा, दुव्र्यवहार, बलात्कार, बालविबाह लगायतका क्षेत्रमा चिदीले सक्रियतापूर्वक काम गर्नुभयो । हरेक कार्यक्रममा समयमा पुग्ने, आमनागरिकका कुराहरू गम्भीरतापूर्वक सुन्ने र समाधानका पहल गर्ने उहाँको बिशेषता नै बन्यो ।

गाउँपालिकाको बिकास र हितका लागि पालिका अध्यक्षसहित सरोकारवालाहरूसँग सहकार्य गर्दै उहाँ सहित नेकपा एमलेबाट निर्वाचित जनप्रतिनिधिहरूले निर्वाह गर्नुभएको भूमिका सराहनीय रहेको नेकपा एमालेका नेताहरू बताउँछन् । नेकपा एमाले प्रदेश सदस्य देबीप्रसाद बस्यालले लोकप्रिय महिला नेतृको रूपमा परिचय बनाउनुभएकी चिदीलाई एमालेबाट सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँको लोकप्रियता यस्तो भयो कि एमालेबाट मात्रै हैन आम जनसमुदायबाट पनि उहाँलाई नै अध्यक्ष बनाउनुपर्ने माग रहेकाले पनि उहाँ सर्वसम्मत अध्यक्षको उम्मेदवार बन्नुभयो ।’

के छन् अवका योजना
नेकपा एमालेले बगनासकाली गाउँपालिकासहित सबै वडामा सर्वसम्मतरूपमा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनौट गरी मनोनयन गरेको छ । अहिले उम्मेदवारहरू घरदैलो अभियानमा ब्यस्त छन् । एमालेले बगनासकाली गाउँपालिकाका लागि अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकलाई अगाडि सारेको छ ।

उहाँको नेतृत्वमा रहनुभएका उम्मेदवारहरूले मतदातासामु बिभिन्न प्रतिबद्धताहरू समेत गर्नुभएको छ । बगनासकालीलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त गाउँपालिकाको रूपमा बिकास गर्ने, सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहीतामा बिशेष जोड दिने, गाउँपालिकाको भवन निर्माण यथाशीघ्र सम्पन्न गर्ने र प्रत्येक वडामा सुविधायुक्त कार्यालय भवन निर्माण गरी सेवा प्रवाहमा सहजता ल्याउने र प्रभावकारी बनाउने, सहभागितामूलक योजना तर्जुमा पद्धतिबाट पाँचवर्षे आवधिक र २० वर्षे रणनीतिक योजना निर्माण गरी नौवटै वडाको योजनाबद्ध बिकास गर्ने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै बिकास निर्माणमा प्रभावकारिता अभिबृद्धि गर्न पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, कृषक, उद्यमी, ब्यवसायी, समाजसेवी, एवम् सरोकारवाला समेतको सहभागिता सुनिश्चित गर्ने, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक बोटे, कुमाल, दलित समुदायका साथै बिपन्न बर्गको कल्याणमा बिशेष कार्यक्रम सञ्चालन गर्ने, युवाको क्षमता बिकास, रोजगारी सिर्जना तथा खेल क्षेत्रको बिकास गर्ने एमालेको प्रतिबद्धता रहेको छ ।

सीप बिकासका बिभिन्न तालिम सञ्चालन गरी युवा तथा महिलालाई आत्मनिर्भर गराउने, स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्ने र स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्ने, दिगो कृषि बिकासको योजना बनाई कार्यान्वयन गर्ने साथै सिंचाई सुविधा बिस्तार गर्ने, कृषि क्षेत्रको व्यावसायिक विकास र बजारीकरणमा योजनाबद्ध काम गर्ने, बाँदर लगायत बन्यजस्तु नियन्त्रण र व्यवस्थापनमा ठोस पहल गर्ने, बन पैदावार तथा जडीबुटी उत्पादन तथा बजारीकरणमा जोड दिने, सामुदायिक बिद्यालयलाई सवलीकरण गरी शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने साथै प्राविधिक एवम् व्यावसायिक शिक्षामा बिशेष जोड दिने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।

खानेपानी आयोजना बिस्तार गरी एक घर एक धारा कार्यक्रम पूर्णरूपमा लागू गर्ने, खानेपानीमा लाग्ने बिद्युत महसुलमा अनुदानको व्यवस्था गर्ने, आवधिक गुरुयोजना बनाई धार्मिक तथा पर्यटन बिकासमा जोड दिने, विद्युतीकरण, टेलिफोन तथा इन्टरनेट, सेवा विस्तारमा जोड दिने, सडक विस्तार, स्तरोन्नति तथा कालोपत्रे गर्ने, बगनासकाली चक्रपथ एवम् धार्मिक साँस्कृतिक केन्द्रहरूलाई जोड्ने मार्ग निर्माणको गुरुयोजना बनाई लागू गर्ने योजना रहेको चिदीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..