३१ श्रावण २०७९, मंगलवार

रत्ननगरमा बसौं बसौं लाग्ने बनाइने छ : अधिकारी

प्रकाशित मिति :  २१ बैशाख २०७९, बुधबार १६:२७


भरतपुर । रत्ननगर नगरपालिकाको वडा नं २ मा नेकपा एमालेले घरदैलोसँगै कोणसभा गरेको छ । कोणसभामा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारीले नेकपा एमालेको नेतृत्वमा देश विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।
‘यस पटकको उम्मेदवारी नेकपा एमालेले परिकल्पना गरेको नयाँ रत्ननगर, समृद्ध र समुन्नत नगरपालिका निर्माण गर्नु हो’ उहाँले भन्नुभयो, ‘देशमै एउटा उदाहरण प्रस्तुत गर्न सकिने खालको नमूना तथा रत्ननगरमा बसौँबसौँ लाग्ने खालको नगरपालिका निर्माण गर्ने सपना छ, नेकपा एमालेले त्यो सपना साकार पार्ने छ ।’ एमालेका उम्मेदवारहरु चुनावी मैदानका अब्बल उम्मेदवारहरु भएकाले यस पटक पनि नेकपा एमालले नै विजयी हासिल गर्ने उहाँले बताउनुभयो ।
यसैबीच बुधबार एमालेबाट मेयर पदकी उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादवप्रसाद पाठक र वडाध्यक्ष तथा वडासदस्य पदका उम्मेदवारहरुले वडा नं २, ३ र १५ मा मत माग्दै घरदैलो गर्नुभएको हो ।
एसका वडाध्यक्ष उम्मेदवारले एमालेलाई सघाउने
चितवनको राप्ती–१ मा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका चिरन पाठकले आफ्नो नाम फिर्ता लिनुभएको छ । उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमालेका वडाध्यक्षका उम्मेदवार सिद्धिलाल स्याङ्तानलाई सघाउने निर्णय गर्नुभएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले आफू उम्मेदवार नरहेको र एमालेका वडाध्यक्षका उम्मेदवार स्याङ्तानलाई सघाउने निर्णय गरेको बताउनुभएको हो । नेपाली कांग्रेसले गठबन्धनको मर्म विपरीत काम गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । पाँच दलीय गठबन्धनको संयन्त्र अनुसार आफूले उम्मेदवारी दर्ता गराए पनि कांग्रेसको तर्फबाट पनि उम्मेदवारी दर्ता गराइएको विज्ञप्तिमा उल्लेख छ ।
“आजैका मितिदेखि लागू हुनेगरी मैले दर्ता गराएको वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै राप्ती नगरपालिका वडा नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अध्यक्ष पदका उम्मेदवार सिद्धिलाल स्यङ्तानलाई समर्थन गरेको र सम्पूर्ण न्यायप्रेमी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी सबैले सूर्य चिन्हमा आफ्नो बहुमूल्य मत दिनुहुन समेत हार्दिक अपिल गर्दछु” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
व्यवसायीसँग मेयर उम्मेदवार सुवेदीको छलफल
भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका विजय सुवेदीले बुधबार उद्योगी व्यवसायीसँग छलफल गर्नुभएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजित छलफलमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष, पूर्वअध्यक्षहरु र व्यवसायीहरुको सहभागिता रहेको थियो ।
छलफलमा व्यवसायीले नारायणी किनारको व्यवस्थापनका लागि उद्योग वाणिज्य संघसँग यसअघिका पालिका प्रमुखले चासो नदेखाएको भन्दै नयाँ निर्वाचित हुने प्रमुखले उद्योग वाणिज्य संघसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । उद्योग वाणिज्य संघसँगको सहकार्यमा मात्र नारायणी किनारको विकास गर्न सकिने भन्दै महानगर एक्लैले यो योजना अगाडि बढाउन नसक्ने उनीहरुले बताएका थिए ।
सो अवसरमा बोल्दै मेयरका उम्मेदवार विजय सुवेदीले आफू व्यवस्थित विकासको पक्षमा रहेको भन्दै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नारायणी किनारदेखि देवघाटसम्म र गोलालघाटसम्म एकीकृत विकास गरिनुपर्छ । त्यसका लागि व्यवस्थित गुरुयोजना निर्माण गर्नुपर्छ ।’ महानगरले उद्योग वाणिज्य संघसँगको सहकार्यमा मात्रै व्यवस्थित नारायणी नदी किनार निर्माण गर्न सक्ने सुवेदीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..