१५ मंसिर २०७९, बिहीबार

नागरिकलाई कामको प्रत्याभूति दिलाउनु मेरो पहिलो प्राथमिकता : खनाल

प्रकाशित मिति :  २४ बैशाख २०७९, शनिबार ०८:३८


दीपेन्द्र खनाल अध्यक्षको उम्मेदवार

फाकफोकथुम गाउँपालिका, इलाम

इलामको फाकफोकथुम गाउँपालिका ४ कम बाबु तारा खनाल र आमा पद्म कुमारी खनालको कान्छो सन्तानको रूपमा दीपेन्द्र खनालको २०३६/१/१८ गते जन्म भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट सोसियोलोजीमा मास्टर अध्ययन गरेका छन् । (थेसिस बाँकी) उनले बिए र बिएडको डिग्री हासिल गरेका छन् । त्यस्तै कानुनमा स्नातक पुरा गरेका छन् । २०५० सालमामचोकको सिंहदेवी माविमा अनेरास्वबियुको प्रारम्भिक कमिटीबाट खनालको राजनीतिक यात्रा प्रारम्भ भएको हो । खनालले अनेरास्वबियुको महेन्द्र रन्त बहुमुखी क्याम्पस कमिटीको सदस्य र २०५७ सालमा जिल्ला सदस्य तथा अनेरास्वबियुकै जिल्ला कमिटी सचिव हुँदै २०६३ सालमा उनी अध्यक्ष भएर काम गरे । खनाल नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य चुनिए । नवौं अधिवेशनबाट जिल्ला कमिटी सदस्य र सचिवालय सदस्य भएर काम गरेका छन्  । हाल उनी नेकपा एमालेको फाकफोकथुम गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा छन् । दशवर्षे सशस्त्र द्वन्द्वकलामा उनले मानव अधिकार मञ्च मार्फत मानव अधिकारको क्षेत्रमा काम गरेका थिए भने सशस्त्र द्वन्द्व सकिएपछि खनालले माओवादी लडाकु व्यवस्थापनमा काम गरेका थिए । इलामलाई खुला दिसामुक्त क्षेत्र बनाउनको लागि खनालको महत्वपूर्ण योगदान छ । तत्कालीन जिल्ला विकास समितिमा उनी जिल्ला परामर्श दाताको रूपमा उनी खुला दिसामुक्त अभियानमा जोडिएका थिए भने इलामलाई पूर्ण सरसफाइ जिल्ला बनाउनको लागि सुनगाभा विकास संस्था मार्फत काम गरेका छन् । उनै खनाल फाकफोकथुम गाउँपालिकाको अध्यक्षको लागि दोस्रो पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । उनै खनालसँग गरेको कुराकानीः

फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा तपाईँको उम्मेदवारी किन ?

फाकफोकथुम गाउँपालिका इलामको पश्चिमी क्षेत्रमा रहेको दुर्गम गाउँपालिका हो । यो गाउँपालिका विकासको दृष्टिकोणबाटपनि पछि छ । यो गाउँपालिका इलाममानै सबैभन्दा पछाडि परेको छ । अरू पालिका कि त इलामतिरको पहुँचमा छन्, कति झापाको पहुँचमा छन्, नजिक छन् । फाकफोकथुम गाउँपालिकाको मंगलबारे र दमकसंग पनि राम्रोसँग पहुँच विकास भएको छैन । यो पालिका एउटै पनि बाटो बाह्रमास गाडी कुद्न नसक्ने ‘अलवेदर’ बाटो नभएको ठाउँ हो । यो ग्रामीण क्षेत्रको पालिका हो । यहाँका अधिकांश मानिसहरू कृषिमा आबद्ध भए पनि कृषि निर्वाहमुखीनै छ । यहाँ कृषिको अत्यधिक सम्भावना छ । यहाँको माटो उर्वर छ, पानीको श्रोत प्रशस्तै छ । तर पनि निर्वाहमुखी खेती प्रणाली नै छ । यसलाई व्यावसायिकता लैजानु पर्ने छ । दमकबाट यो गाउँपालिका टेक्न ५० किलोमिटर पनि पर्दैन । त्यो बाटो पनि पिच हुँदैछ । यहाँको कृषिजन्य उपज झापाको बजारमा लगेर विक्री गर्नको लागि एक्सेस बन्दैछ । तर, यहाँको खेती व्यवसायीकरण नभएको कारणले बेरोजगारको संख्या दिनदिनै बढ्दो छ । तर, भएका श्रोत साधनको उपयोग हुन सकेको छैन । त्यसलाई सदुपयोग गर्न गराउनको लागि पूर्वाधार विकास हुन सकेको छैन । भएका सडकको पूर्वाधार भनौँ या सिचाई पूर्वाधारहरु लथालिङ्ग अवस्थामा छन् । यो पाँच वर्षमा गाउँपालिकाको नेतृत्वले त्योतिर ध्यानै दिएन । त्यसलाई व्यवस्थित गरेर यहाँको गाउँपालिका वासीको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो ।
  हाम्रो अहिलेको संविधान अनुसार स्थानीय सरकार भनेको सिंहदरबारमा भएको अधिकारहरू गाउँ गाउँमा ल्याउनुपर्ने हो । राज्य पुनर्संरचना अनुसार यहाँका जनतालाई आवश्यक पर्ने सम्पूर्ण कानुनहरू संघ र परदेश सरकारसँग नबाझिने गरी बनाउनुपर्ने हो । आफ्नै कानुनहरू निर्माण गरेर काम गर्नुपर्ने हो । कानुन बनाएरै स्थानीय तहलाई सरकारको हैसियतमा पु¥याउनुपर्ने हो । कानुन निर्माण गरेरै अरू थुप्रै काम गर्नुपर्ने थियो । यो गाउँपालिकाले बजेट खर्च गर्नका लागि चाहिने कानुन बनिए । तर, जनतालाई आवश्यक पर्ने एउटा पनि कानुन बनेनन् । जस्तो एक दुई वटा उदाहरणः  सहकारी दर्ता सम्बन्धी पछिल्लो वर्ष मात्रै सामान्य कानुन बनाइयो । सहकारीलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्ने सम्मको पनि कानुन बनिएको छैन । अर्को संघ संस्थाहरू गाउँपालिकामै दर्ता गर्ने अधिकार छ स्थानीय सरकारको । ती लगायत संविधानले उल्लेख गरेको स्थानीय सरकारको कार्यक्षेत्र छन्, त्यो अनुसारको सबै कानुन बनाएर अघि बढ्नु पर्नेमा हाम्रो गाउँपालिकामा दश प्रतिशत पनि कानुन बनिएका छैनन् । त्यसले गर्दा अन्य स्थानीय तहको तुलनामा यो पाँच वर्षमा फाकफोथुममा दश प्रतिशत पनि काम भएका छैनन् । त्यसले गर्दा आवश्यक सबै कानुन बनाएर सम्पूर्ण नागरिकलाई कामको प्रत्याभूति दिलाउनु मेरो पहिलो प्राथमिकता रहने छ । त्यसको लागि मेरो उम्मेदवारी हो ।


पालिका अध्यक्ष निर्वाचित भए गाउँपालिकालाई अब्बल बनाउन तपाईँको मुख्य योजना के के हुन् ?


  पहिलो विषय भनेको यो गाउँपालिकाको सातै वटा वडाबाट गाउँपालिका केन्द्रमा आउनको लागि कम्तीमा एक एक वटा अलवेदर सडक बनाउनुपर्ने छ । त्यस्तै गाउँपालिका क्षेत्रमा बाहिरबाट सामान ल्याउन र यहाँको सामान निकासी गर्ने गरीको एउटा सडक बाहिर जाने गरीको बनाउनुपर्ने छ । एउटा सडक दमकसम्म पुग्ने र अर्को मंगलबारेसम्म पुग्ने सडक बनाउनुपर्ने छ । हाम्रो त इलाका प्रशासन कार्यालय मंगलबारेमा छ । नागरिकता बनाउनदेखि, जग्गा पाससम्म हुने ठाउँ मंगलबारे हो । त्यहाँ जाने गरीको दुई वटा सडक बाह्रै महिना चल्ने बनाउनु छ त्यो मेरो प्राथमिकता हो ।

दोस्रो भनेको वारिपारिबाट हिलै मैलै धुलै भएर पालिकाको केन्द्रमा आइपुगेपछि यसो हात खुट्टा धोएर निस्किदा हिलो नटेकी आमचोक बजार पालिकाको केन्द्रमा हिँड्ने वातावरण बनाउनको लागि बजारको बाटो पक्की गर्नु छ । तेस्रो भनेको यहाँ धेरै सम्भावना भनेको कृषिकै हो । कृषिलाई नमुनाको रूपमा विकास गर्न एउटा टोलबाट शुरु गर्छौ । एउटा टोलमा व्यावसायिक र एकै किसिमको खेती शुरु गराएर कृषि उपजलाई झापाको दमक र प्रदेश राजधानी बिराटनगर बजारमा समन्वय गरेर यहाँको अर्ग्यानिक कृषि उपजलाई त्यहाँ लगेर बेच्ने वातावरण बनाउँछौ । टोलबाट शुरु भएको त्यस्तो कार्यक्रम बिस्तारै पालिकाभरीनै विस्तार गर्ने हो । त्यसरी यहाँको कृषिलाई व्यवसायीकरण गर्दै जान्छौ । अर्को यहाँ गाई पालन अझै व्यापक छ । यहाँ आधा भन्दा बढी पशुपालन व्यवसायमा हुनुहुन्छ । त्यसलाई व्यवसायीकरण गर्दै जाने । पालिकाको तल्लो क्षेत्रमा नगदे बालीको लागि अझै राम्रो सम्भावना भएको क्षेत्र छ । कफीको सम्भावना उत्तिकै छ । त्यसै गरी एकातप्पामा चिया क्षेत्रको लागि अत्यधिक सम्भावना छ । यी क्षेत्रमा कृषिको व्यवसायीकरणको लागि मेरो पहल प्रयत्न हुनेछ ।
  शिक्षा स्वयम मान्छे र मुलुकको आवश्यकता देखिएको क्षेत्र हो । शिक्षाको विकासको लागि सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि गर्नको लागि शिक्षक, सरोकारवाला र विज्ञसँग छलफल गरेर सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नको लागि के के आवश्यक छ त्यो गर्छौ । सामुदायिक विद्यालयहरूमा व्यावसायिक शिक्षाको लागि पहल गरिने छ र व्यावसायिक शिक्षामा अलि बढिनै जोड गरिनेछ । स्वास्थ्यको चाही अहिले अब १५ शैह्याको हस्पिटल बनाउने भनेर केन्द्र सरकारले गरेको थियो । यो फाकफोकथुम गाउँपालिकामा अहिलेसम्म त्यो काम शुरु भएको छैन । यो काम तत्कालै शुरु गरिने छ । त्यसै गरी ग्रामीण क्षेत्र र अत्यावश्यक सेवामा पनि पछि परेको क्षेत्र भएको हुनाले कम्तीमा वर्षमा एक पटक, आँखा दाँत, महिलाको पाठेघर र मानसिक रोगको स्वास्थ्यको शिविर सञ्चालन गरिने छ । सामान्य बिरामीहरूको यही उपचार गर्ने जटिल प्रकृतिका किसिमका बिरामीहरूको लागि सम्बन्धित ठाउँ मानै लगेर उपचार गर्ने व्यवस्था मिलाउँछौ । त्यसको सहयोगको लागि पनि कानुन बनाउँछौ ।

  यहाँ ठूला ठूला सहकारीहरू छन् । त्यो सहकारी जुन उद्देश्यको लागि स्थापना भएका छन्, उद्देश्य अनुसारको काम गर्नको लागि उहाँहरूको बाधाहरू भए त्यसलाई फुकाएर सहजीकरण गरिने छ । सहकारी मार्फत पनि कृषि पशुपालन, नगदे बाली उत्पादनको कार्यक्रम अघि बढाइने छ । अर्को गाउँपालिकामा एउटा पनि एम्बुलेन्स छैन । कोहिबेला बिरामीहरुलाई अक्सिजन लगाएर निकाल्नुपर्ने हुनसक्छ । अहिलेसम्म त्यो सम्भावना छैन । यहाँ स्थापित सहकारी मार्फत साझेदारीमा कम्तीमा दुई वटा एम्बुलेन्स सञ्चालन गरिने छ । कम्तीमा दुई वटा किनभने हाम्रो एउटा क्षेत्र तीन वटा वडा राँकेतिर नजिक पर्छ । अर्को रबी हुँदै दमकतिर नजिक पर्ने भएकाले कारणले गर्दा कम्तीमा दुई वटा एम्बुलेन्स स्टानबाइ राखेर सञ्चालन गरिनेछ । पछि आवश्यकता अनुसार सातै वडामा पनि सञ्चालन गरिने छ । यो यहाँको निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन हुनेछ ।


  यहाँको सातै वडामा ज्येष्ठ नागरिक अनुभव आदानप्रदान केन्द्र सञ्चालन गरिने छ । त्यहाँ ज्येष्ठ नागरिक भेला भएर भलाकुसारीको अवसर पाउने छन् । उनीहरूको उनूभव र ज्ञान आदान प्रदान गर्ने अवसर मिल्नेछ । अनुभव आदानप्रदान केन्द्रमा ज्येष्ठ नागरिकसँगै बालबालिका पनि भेला हुनेछन् । त्यहाँ उनीहरूले आफ्नो कुरा साट्नेछन् । यसले समाजमा बढ्दै गएको पुस्तान्तरको समस्या समाधान गर्नेछ । बालबालिकाले त्यहाँ सामाजिक ज्ञान पाउनेछन् । त्यहाँ जेष्ठनागरिकले आफ्नो माया बाड्न पाउनेछन् । बालबालिकाले उनीहरूबाट माया पाउने छन् । कसैको घरमा नाति नातिना नहोलान्, कति बालबच्चाको हजुरबा हजुरबा नहोलान् नातिनातिना नहुनेले नातिनातिनाको तिर्सना मेटिने बालबालिकाले पनि हजुरबा हजुर आमाको माया अनुभूति पाउने केन्द्र बनाउँछौ । त्यहाँ ज्येष्ठ नागरिकको नियमित उपचार परीक्षणको व्यवस्था मिलाउँछौ ।


  युवाको क्षेत्रमा प्रत्येक वडामा खेलमैदानको संरचना बनाउँछौ । हाम्रो श्रोतलाई हेरेर प्रत्येक वडामा सामान्य किसिमको भए पनि कभर्ड हल बनाउनेछौ । वर्षमा एक पटक सबै खाले खेलहरूको प्रतिस्पर्धा गराउँछौ । त्यसमा एथलेटिक्स देखि आउटडोर खेलिने खेल मात्रै होइन इनडोर खेलिने विभिन्न खेलहरूको पालिका स्तरमा प्रतिस्पर्धा गर्छौ ।  युवालाई कृषि र पशुको क्षेत्रमा आकर्षित गर्छौ । गाउँपालिकाले गर्ने विकास निर्माण र भौतिक संरचना बनाउँदा श्रम शक्ति लगाउँछौ । त्यसो गर्दा रोजगारी पनि सिर्जना हुन्छ । बजेटको पनि राम्रोसँग कार्यान्वयन हुन्छ । विकास निर्माणमा जनताको सहभागिता भएपछि उहाँहरूले पनि विकास निर्माणको अपनत्व लिनुहुन्छ ।


श्रोत व्यवस्थापन कसरी हुन्छ ?
  मुख्य श्रोत भनेको गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारबाट पाउने अनुदान नै हो । दोस्रो निजी क्षेत्रसँगको साझेदारी हुन्छ । यहाँका सबै वडामा दुई देखि तीन वटाको दरले स्थापित सहकारी छन् । ती सहकारीमा प्रशस्त पुँजी छ । पुँजी लगानी गर्नको लागि विश्वासलाग्दो कानुन छैन । ग्यारेन्टीको अभाव छ । कानुन बनाएर त्यो रकम लगानीको लागि प्रेरित गरिनेछ । ठूला आयोजना सञ्चालनको लागि प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर काम गरिने छ । निकासी जन्य बस्तुबाट सङ्कलन हुने श्रोतको परिचालन गरिने छ । कर बढाउने तिर लाग्दैनौ । करको दायरा बढाउनुपर्ने छ । करको वर्गीकरण गरिन्छ । अति न्यून आय भएकाहरूलाई शून्य कर र कर तिर्न सक्नेहरूलाई क्षमता अनुसारको कर लिने नीतिहरूलाई लिइनेछ ।


 सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउनुहुन्छ ?


यहाँको सेवा प्रवाह एकदमै कमजोर छ । गाउँपालिकाको नेतृत्व गाउँपालिकामा नबस्दा, जिम्मेवार भएर काम नगर्दा एउटा कामको लागि पटकै पटक धाउनु पर्ने अवस्था थियो । शिक्षक कर्मचारीहरू आफ्नो कामको लागि सात पटक आठ पटक नधाउँदासम्म कुनै पनि काम भएको छैन । हामी प्रक्रिया पुरा भएका कुराहरू कुनै अवरोध बिना तत्काल सेवा उपलब्ध गराउँछौ । अहिलेसम्म कर्मचारीहरू उत्साहित रूपमा काम गर्ने वातावरण छैन । उनीहरूलाई उत्साहित भएर गाउँपालिकाको काममा लगाउँछु । उहाँहरूलाई संरक्षकको भूमिका गाउँपालिकाको तर्फबाट हुनेछ । शिक्षक कर्मचारीलाई जनमुखी बनाउँदै काममा लगाइने छ । त्यो भएपछि गाउँपालिकाको सेवा प्रवाह आफै दुरुस्त भएर जाने छ । अहिले गाउँपालिकाको नेतृत्व नबस्ने, आफ्नो स्वार्थको लागि मात्रै पालिका आउने र कर्मचारीलाई पेल्ने, हप्काउने धप्काउने परिपाटी छ, यसको अन्त्य हुनेछ । नीति नियममा बसेर काम गर्न कर्मचारीलाई कुनै बाधा गरिनेछैन । नीतिगत काम गर्न सधैँ सहयोग हुनेछ र त्यसको अभिभावकत्व हामी लिन्छौ । कुनै पनि सेवा ग्राहीले प्राप्त गर्ने सेवाको लागि नागरिक बडापत्र सार्वजनिक गरिन्छ । नागरिक बडापत्रमा भएको कागज लिएर पुगेको काममा लाग्ने समयभन्दा एक मिनेट पनि बढी समय लाग्ने छैन कुनै पनि काममा । काम गरिसकेपछि पन भुक्तानीको ठूलो समस्या छ त्यसको अन्त्य गरिनेछ । सबै कागजपत्र पुगेपछि छिनको छिनमा काम गर्न संयन्त्र बनाइने छ । गाउँपालिकाको कामलाई लिएर धेरै जनगुनासो छन् त्यसको अन्त्य गरिनेछ । यो पालिकामा पाँच वर्षको भित्रमा अहिले सातौँ प्रमुख प्रशासकीय अधिकृतले काम गर्दै हुनुहुन्छ । पाँच वर्षमा सात जना फेरिनु भनेको यो निकै ठूलो दुर्दशा हो  गाउँपालिकाको । यो किन भइरहेको छ भन्दा गाउँपालिकाको नेतृत्वको कमजोरीको कारणले यो भएको हो । गाउँपालिकाको नेतृत्वले सहयोग नगर्ने आफ्नो स्वार्थको लागि प्रयोग गर्न खोजिएकाले कर्मचारीहरू बस्न नसकेका हुन् । अब कर्मचारीले सहज रूपमा काम गर्ने वातावरण तयार हुन्छ । लोक सेवा आयोगबाट स्थायी कर्मचारी पदपूर्ति गर्ने सन्दर्भमा अहिलेसम्म पाँच र्षको अवधिमा गाउँपालिकाले एउटा पनि कर्मचारी लोकसेवासँग माग नगरेका कारणले कर्मचारीको अभाव छ यहाँ । दक्ष कर्मचारीको व्यवस्थापनको लागि लोक सेवा आयोगसँग माग गरिनेछ र त्यो अनुसारको कर्मचारीको व्यवस्थापन गरिनेछ दरबन्दी र आवश्यकता अनुसार ।


विगतको नेतृत्वबाट के के कमजोरी भयो तपाई आए त्यसलाई कसरी सुधार गर्नुहुन्छ ?


विगतमा के के कमजोरी भए भन्ने कुरा यहाँ जिल्लामा मात्रै होइन देशै भरी व्यापक छ । विगतको नेतृत्वले पाँच आर्थिक वर्षको काम गर्दा कुनै बर्षपनि सयमयमा गाउँपालिकाको नीति कार्यक्रम र बजेट ल्याएन । पहिलो वर्ष आर्थिक वर्षको गरिब छ महिना पछि पुसमा नीति कार्यक्रम बजेट ल्याएको थियो भने अरू बाँकी चार वर्ष कानुनले तोकेको असार १० गते नीति कार्यक्रम बजेट ल्याइसक्नुपर्ने हो त्यो समयमा कहिले पनि आएन । एउटा नीति निर्माणमै हाम्रो गलत दिसामा गयो दोस्रो यहाँको विकास निर्माण गर्नको लागि हामी कुन ठाउँमा छौ, हाम्रो अवस्था के छ भन्ने एउटा पालिकाको प्रोफाइल गाउँपालिकाको तयार हुन सकेन  । हाम्रो गाउँपालिकाको अवस्था के हो ? यहाँको नागरिकको अवस्था के हो भन्ने कुराको लेखाजोखा गर्ने त्यो प्राफाइल थियो भने त्यो प्रोफाइल आधारमा हामी कहाँ के के काम गर्ने भन्ने योजना बनाउनु पथ्र्यो । यी योजनाको कुनै पनि काम भएन । अर्को कुरा अल्पकालीन दीर्घकालीन हिसाबका पाँच वर्षमा गर्ने कामहरूको प्राथामिकिकरण गर्नुपथ्र्याे । प्रदेश सरकारसँगको साझेदारीको लागि कुन कुन योजना हो, संघीय सरकारसँगको साझेदारीको लागि कुन कुन योजना बनाउने हो । गाउँपालिकाले वार्षिक रूपमा गर्ने काम के के हुन् दीर्घकालीन रूपमा गर्ने योजना कुन कुन हुन भनेर छुटाउनेसम्म काम भएको छैन । यो पाँच वर्षमा गाउँपालिकामा मात्रै आएको अनुदान हेर्ने हो भने एक अर्ब ५० करोड भन्दा बढी रकम संघीय सरकार बाट आएको छ । गाउँपालिकाले आफैले गरेको रकम त्यो भन्दा बढी छ । सातै वडाबाट गाउँपालिका आउने बाह्रै महिना चल्ने बाटो बनाउन पनि ध्यान दिइएन । कृषि, पशुपालन, सहकारी लगायत कुनै पनि क्षेत्रमा कानुन नबनाई काम गरिएका कारण समस्या । जम्माजम्मी गाउँपालिकामा आएको बजेट कसरी सक्ने भन्ने मात्रै सोच बनाएका कारण काम राम्रो भएन । तपाईँलाई एउटा मात्रै उदाहरण दिन चाहन्छु गएको आर्थिक वर्षमा मात्रै असारको ३ गते बसेर सिचाइका आयोजना छनोट गरियो । अब कि त्यही आर्थिक वर्षभित्र काम सकेर योजना फरफारक गर्नुपर्ने थियो । असारको १३ गते बसेर कृषि र पशुपालनको योजना छनोट गरिएको थियो । १५/१६ दिनपछि फस्र्योट गरिसक्नुपर्ने थियो र भयो पनि । अब भन्नु बजेट विनियोजन भएको १५/१६ दिनमा कसरी काम सकेर फर्स्योट भयो । त्यो कुनै पनि हालतमा हुनै सक्दैन । बिल मिलाएर आफ्नालाई पोस्ने बाहेकका काम भएनन् ।
  उपभोक्ता समितिबाट भएका कामहरू पनि आर्थिक वर्ष सकिनको लागि एक महिना डेढ महिना हुन्छ, अनि मात्र सम्झौता गरेर काम गर्नु आदेश दिइन्थ्यो । त्यो गरेपछि एक डेढ महिनामा कति काम हुन्छ ? कामै नहुने अनि अन्तिम समयमा कागज मिलाएर भुक्तानी गरेको देखियो । अर्को कुरा भन्नु यत्रा ठूला ठूला खोलाहरू छन् । हिउँदमा लगेर खोलमा ह्युम पाइप राख्ने अनि वर्षामा बाढीले बगाउने । अर्को वर्ष फेरी केही ठाउँमा ह्युम पाइप लगाउने । कहीँ कहीँ ठाउँका बाहेक ह्युम पाइप अडिएका छैनन् । बाटो बाह्रै महिना कुद्ने छैन । खोलामा चाही लगेर  ह्युम पाइप राखिएको छ । एक दुई ठाउँमा भोलीपर्सि बाटो यहाँबाट ल्याउने भनेर खोल्सामा लगेर ह्युम पाइप थुपारेर राखिएको छ ।


पाँच वर्ष नेतृत्व गर्नु पाउनु भयो भने गाउँपालिका कस्तो हुन्छ  ?


  यो गाउँपालिकाको मान्छेहरू व्यावसायिक कृषिमा आकर्षित भइसकेको हुनेछन् । अहिले धेरैजसो निर्वाहमुखी खेतीमा हुनुहुन्छ, ब्यवसायीक खेतीमा प्रेरित गर्न धेरै काम गर्नुपर्ने छ र त्यसपछि व्यावसायिक खेतीमा आकर्षित भइसकेको हुनेछन् । कुरा बझाउने पर्नेछ । बजारको ग्यारेन्टीको कुरा छ । यो आजको भोलि हुने कुरा होइन । यो पाँच वर्षमा उहाँहरू व्यावसायिक कृषिमा आकर्षित भइसक्नेछन् । सातै वटा वडाबाट गाउँपालिकाको केन्द्रसम्म आउने अलवेदर बाटोहरू बनिएको हुनेछ । त्यस्तै हाम्रो प्रशासकीय केन्द्र मंगलबारे हुँदै सदरमुकाम जाने र अर्को चाही हाम्रो ब्यपारिक केन्द्र दमकसँग सिधा सम्पर्कको लागि बार्है महिना गाडी कुद्ने सडक सम्पर्क विकास हुने छ । गाउँपालिकाबाट दिने सेवा प्रवाह चाही नागरिकको चाहाना अनुसार चुस्त दुरुस्त हुने छ । शिक्षक कर्मचारीहरू आफ्नो कामप्रति जबाफदेही हुनेछन् । गाउँपालिकाको अभिभावकत्व लिएपछि थप जबाफदेही हुनेछन् । गाउँपालिकामा व्याप्त जनगुनासो र भ्रष्टाचारको अन्त्य हुनेछ । सामाजिक सुरक्षाअन्तर्गत एकल पुरुष भत्ताको व्यवस्था हुनेछ । आर्थिक अवस्थालाई हेरेर काज किरिया खर्चको व्यवस्था गर्छौ । स्वास्थ्य बिमामा साझेदारी अघि बढाउँछौ । पशु बिमा र बाली बिमाको व्यवस्था गर्छौ । कम्तीमा वर्षको दुई पटक गाउँपालिकाको सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाइ गर्छौ । त्यस्तै वर्षमा दुई वटा सर्वदलीय बैठक राख्छौ । सुशासनको क्षेत्रमा अलि लामो समय काम गरेको अनुभव छ जिविसमा हुँदा । मैले त्यहाँ हुँदा थुप्रै सार्वजनिक सुनुवाइको नेतृत्व गरेको छु । सूर्योदयमा सार्वजनिक सुनुवाइको नेतृत्व गरेको छ । त्यो अनुभवका कारणले स्थानीय सरकारले वर्षमा कम्तीमा दुई वटा सार्वजनिक सुनुवाइ गर्नुपर्छ । जनगुनासकोका आधारमा एउटा र कामको मुल्याङकनको लागि सार्वजनिक सुनुवाइ गरिनेछ । नीति कार्यक्रम बनाउनुभन्दा अघि सर्वदलीय बैठक राखेर सुझाव लिन्छु । कामलाई प्रभावकारी बनाउन यहाँको कृषि, स्वास्थ्य शिक्षा लगायतको विज्ञको एउटा गाउँपालिका अन्तर्गत सल्लाहकार टिम बनाउँछौ । यहाँहरूको राय सुझावको आधारमा योजना बनाएर कार्यान्वयन गर्छौ ।


विगतमा पनि उम्मेदवार हुनुहुन्थ्यो तर, पराजित हुनुभयो त्यसले फाकफोकथुम वासीलाई के असर पर्यो ?


गत निर्वाचनमा योग्य उम्मेदवार छनोट गर्न नसकेका कारण फाकफोकथुम वासीले पछुताउनु परेको छ । चिल्ला मिठा कुरा गर्ने, आर्थिक प्रलोभनमा पर्ने कुरा सही उम्मेदवार छान्न सक्नु भएन । अहिले अधिकाशंहरुले गाउँपालिका सञ्चालन गर्ने नेतृत्व सही छनोट गरिएनछ भनेर आत्मसात् गर्नु भएको छ । जुन अपेक्षा थियो नागरिकको अपेक्षा अनुसारको काम हुन सकेको छैन । त्यो नागरिकको अपेक्षालाई पुरा गर्ने गरीको नेतृत्व मबाट हुनेछ । सँगसगै नेकपा एमालेको सूर्य चिन्हमा भोट हालेर हाम्रो टिमलाई जिताएपछि विगतको जसरी उहाँहरूले पश्चाताप गर्नुपर्ने छैन । यस्तो दुर्दशा पनि खेप्नुपर्ने छैन ।
  हामी अर्को पाँच वर्षपछि पश्चताप गर्ने ठाउँ नराखी काम गर्छौ । यहाँहरूले सूर्य चिन्हमा भोट हालेकोमा गर्भ महसुस गर्नुहुनेछ । पाँच वर्षपछि हामीले सूर्यमा भोट हालेकाले गाउँपालिका यो अवस्थासम्म विकास भयो भनेर गर्भ गर्ने गरी काम गर्छौ । मतदानको बेला खाइपेइ र अरू प्रलोभनमा परेर पाँच वर्ष पछुताउने अवस्था नआओस् । म मतदातालाई सचेत रहेर सही उम्मेदवारलाई छनोट गर्न अपिल गर्छु । र हामी पाँच वर्षमा काम गरेर प्रमाणित गर्छौ



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..