१५ मंसिर २०७९, बिहीबार

शिक्षा, स्वास्थ्य र कृषि सँगसँगै अघि बढाउँछु : सञ्जेल

प्रकाशित मिति :  २५ बैशाख २०७९, आईतवार ०३:३१


नवराज सञ्जेल : बागमती गाउँपालिका अध्यक्षका उम्मेदवार
पूर्वाधार र सामाजिक विकासका हिसाबले पछि परेको बागमती गाउँपालिकामा शिक्षित र केही गरौँ भन्ने सोच भएका नवराज सञ्जेल नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
यस अघि पालिकामा नेपाली काङ्ग्रेसबाट बिजयी पदाधिकारी बिभिन्न बिबादमा पर्ने काम गरेको र भ्रष्टाचारको आरोप लागेकामा त्यही पालिकाको वडा नम्वर ७ का अध्यक्षका रुपमा उहाँले उल्लेखीय काम गर्नुभयो । उहाँ अहिले इच्छाशक्तिलाई काममा बदल्ने सङ्कल्पका साथ गाउँपालिकाबासीसँग मत मागिरहनु भएको छ । यहाँको आर्थिक, सामाजिक, भौतिकलगायतका क्षेत्रमा समस्या बुझ्नुभएका उहाँ परिवर्तनका लागि केही गर्न प्रतिबद्ध हुनुहुन्छ ।
‘पालिकामा अध्यक्ष बिजयी भएपछि पहिलो काम के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा उहाँको जवाफ सबै क्षेत्रलाई सँगसँगै अघि बढाउँछु भन्ने थियो । आफूले प्राथमिकता केमा दिने भनी एक दुई तीन नछुट्टाइएको र गर्नैपर्ने कामलाई समानान्तर प्राथमिकता दिइएको उहाँले बताउनुभयो । नागरिकका आधारभुत आबश्यकता सबै बराबर हुँदा तीनलाई एकैसाथ अघि बढाउने उहाँले गाउँपालिकाबासीलाई प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । शिक्षा, स्वास्थ्य, सडकलागतका पूर्वाधार विकास, सुशासन, यूवा स्वरोजगार बनाउने कुरा अहिले पालिकाको आबश्यकता हो । उहाँले भन्नुभयो, “सबैलाई महत्व दिएर विकास गर्नुपर्छ । त्यसपछि मात्रै अरु कुरालाई प्राथमिकीकरण गर्न सकिन्छ ।”
गाउँपालिकामा मुख्य सडकका रुपमा रहेको कान्ति राजमार्ग सङ्घीय सडक भएपनि स्थानीय सरकारले त्यसलाई व्यवस्थित बनाउन प्रयास गर्नसक्ने अध्यक्षका उम्मेदवार सञ्जेलले बताउनुभयो । यो सडक चाँडो सम्पन्न गरेर यातायात आवगमन सजिलो बनाउन पहल गरिने उहाँको भनाइ छ ।
पालिकामा सातै वडालाई जोड्ने र पालिका केन्द्र जोड्ने कनेक्टिभिटि सडक बनाउन शुरु भएको छ । कतिपय खण्डमा खन्न बाँकी छ भने कतिपय खनिसकिएको छ सडक खनिएको ठाउँमा पनि स्तरोन्नति गरिने उहाँले बताउनुभयो । बगुवा–आश्राङ हुँदै पहाडी चक्रपथको एउटा खण्ड बगुवादेखि गिम्दी कटुवासम्म यही पालिकामा पर्छ । त्यो क्षेत्रलाई पनि अहिले प्रदेश सरकारले रकम राखेको छ । १० किमी काम भएको र थप सडकमा काम गर्न प्रदेशसँग पहल गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकामा बिभिन्न सामुदायिक भवन आबश्यक छ । कृषि भण्डारणका लागि भवन निर्माण गर्न आबश्यक छ । किसानका लागि दूध चिस्यान केन्द्र र यूवाको खेलकुदमा आकर्षण रहेकाले खेलमैदान निर्माण गर्न आबश्यक छ । खेलकुदमार्फत देशको परिवर्तन लागि अघि बढाउने अध्यक्षका उम्मेदवार सञ्जेलको योजना छ । उहाँले भन्नुभयो, “सडकको विकास बढी आबश्यक भएकाले पूर्वाधारमा पहिलो प्राथमिकता दिइएको छ ।”
पालिकाबासीमध्ये धेरै कृषि र पशुपालनमा निर्भर हुँदाहुँदै पनि यो पेशा परम्परागत रुपमा हुँदै आएकामा आर्थिक रुपान्तरणका लागि यी दुबै व्यवसायिकरण गर्न जरुरी रहेको उहाँको भनाइ छ । अहिलेसम्म कृषि र पशुपालन दुबै निर्वाहमुखी हुँदा व्यवसायिकरण गर्न अनुदान र सहुलियत ऋणको व्यवस्था गरिने उहाँको योजना छ । कृषि बिमा लागु गरेर बाली र पशुलाई रोग वा विपत्ति आउँदा किसानलाई अप्ठेरो अवस्थामा सहयोग गरेर यो पशोप्रतिको आकर्षिण बढाइने उहाँको भनाइ छ । कृषि उपज उत्पादन भएपछि त्यसको बजारीकरणको जिम्मेवारी पालिकाले लिइने उहाँको योजनामा छ ।
उहाँले बागमती गाउँपालिकामा उद्योग ग्राम परिकल्पना गर्नुभएको छ । हरेक वडामा सानासाना उद्योग सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । गाउँपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग मिलेर र त्यहाँ रहेका अरु निजी क्षेत्रसँगको समन्वयमा उद्योगग्राम सञ्चालन गर्नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि पालिकाले कानुनी र आर्थिक सहयोग उपलब्ध गराउनेछ ।”
महिला हिंसाको अन्त्य गर्दै लैङ्गिक सशक्तिकरणका लागि कार्यक्रम लागु गरिने अध्यक्षका उम्मेदवार सञ्जेलको योजना छ । महिला सशक्तिकरणका लागि उत्पादनसँग जोड्न जरुरी रहेको उहाँले बताउनुभयो । महिला हिंसा र दुव्यर्वहार अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम गर्ने उहाँको योजना छ ।
बालबालिकालाई सुरक्षित बनाउने र विद्यालय जाने वातावरण मिलाउने उहाँको प्रतिबद्धतामा उल्लेख छ । टुहुरा बालबालिकाको संरक्षण स्थानीय सरकारले जिम्मेवारी लिनेछ । फरक क्षमता भएका बालबालिका र उमेरले ८०÷९० पुगेका ज्येष्ठ नागरिकको हेरचाह गर्ने परिवारका सदस्य नभएकाको पनि जिम्मेवारी पालिकाले लिएर उहाँहरुको जीवन सहज बनाउने योजना छ । एकल महिलालाई स्वरोजगारी बनाउने र एकल पुरुषलाई विगतदेखि नै भत्ता दिइँदै आएकामा त्यसलाई निरन्तरता दिइने उहाँको योजना छ । उहाँले भन्नुभयो, “काम गर्न सक्नेलाई रोजगारीको अवसर दिने र नसक्नेलाई सुरक्षाका कार्यक्रमले संरक्षण गरिनेछ ।”
हरेक वडामा रहेकामध्ये एउटा विद्यालयलाई प्राविधिक शिक्षाका लागि सहयोग गरिने र हरेक वडामा एउटा विद्यालयलाई नमूना बनाउने अध्यक्षका उम्मेदवार सञ्जेलको योजना छ । हरेक विद्यालय प्रविधिमैत्री बनाउन एक शिक्षक एक ल्यापटप कार्यक्रम लागु गरिने उहाँको योजना छ । शिक्षकलाई प्रविधिसँग जोड्ने र त्यसलाई कक्षाकोठामा उतार्ने योजना बनाइएको छ । सबै विद्यालय प्राविधिक बनाउने कि आबश्यकताका आधारमा बनाउने भनी अध्ययन कार्यदल बनाउने र त्यसैको निष्कर्षका आधारमा काम गर्ने उहाँको योजना छ ।
अहिले कक्षा १ देखि ५ सम्मका विद्यालयमा शिक्षकको अभाबलगायतका समस्या बढी छ । विद्यार्थी भएर पनि शिक्षक पनि कम भएका विद्यालयमा शिक्षक थप गरेर लैजाने उहाँको योजना छ । तर विद्यार्थी कम भएका विद्यालयमा बहु कक्षा शिक्षण वा वैकल्पिक बिधिबाट विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइने उहाँको योजना छ । विद्यार्थीलाई अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धी बनाउन पनि अङ्ग्रेजी भाषामा पठनपाठनमा जोड दिइने उहाँको योजना छ ।
बिगतको बागमती गाउँपालिकाको सरकारको विकासको सपना बाँडेर पनि पुरा हुन सकेन । त्यही कारणले बेथिति र अनियमितताका कामले गर्दा यहाँका ८० प्रतिशत जनता असन्तुष्ट छन् । तीनलाई उहाँले सम्बोधन गर्नुभएको छ । पालिकाबासीको घरघरमा उम्मेदवार भएर पुग्दा उहाँहरुले ‘अबको आशा र भरोसा तपाईमाथि छ’ भन्ने गरेका छन् ।
गिम्दीमा सञ्जेल वडाध्यक्ष भएर जुन विकास अघि बढाउनुभयो त्यसले वडा नम्वर ७ मात्रै होइन सातै वडाका जनताको विश्वास आर्जन गर्नुभएको छ । विकासको त्यो मोडलकै कारण जनताले विश्वास र आशा उहाँमा छ । यूवा व्यक्तित्व उहाँका प्रतिबद्धता नबीनतम छन् र त्यहाँको विकासको मोडल अरुभन्दा फरक र तथ्यसहित छ । शिक्षित यूवा र समाजमा प्रभाब भएका व्यक्तिहरुले प्रतिबद्धताका आधारमा पनि उहाँको समर्थनमा खुलेर लागेको सामाजिक सञ्जाललगायत कार्यक्रमस्थलमा देख्न सकिन्छ ।
को हो नमराज सञ्जेल ?
गिम्दीमा जन्मनुभएका यूवा नेता सञ्जेल शिक्षाकर्मी र समाजसेबी पनि हुुनुहुन्छ । अङ्ग्रेजी विषयमा स्नातकोत्तर शैक्षिक नेतृत्व विषयमा एमफिल गर्नुभएका उहाँ बिसंं २०५२ मा अखिल नेपाल विद्यार्थी सङ्गठनसँग आबद्ध हुनुभएको थियो । विसं. २०५८ पछि भने उहाँले राष्ट्रिय यूवा सङ्घमा सक्रिय हुनुभयो र केन्द्रीय सामाजिक परिचालन विभागको सदस्य हुनुभयो । दुई दशक पहिलेबाट पार्टीमा सक्रिय हुनुभएका उहाँ अहिले बागमती गाउँपालिका कमिटिका अध्यक्ष हुनुहुन्छ । उहाँ बिसं. २०७४ मा गिम्दीबाट वडाध्यक्ष हुनुहुन्थ्यो ।
-सञ्जिता नेपाल



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..