४ जेष्ठ २०७९, बुधबार

सैनामैना : सानदार जीतकाे प्रतिक्षा

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार १६:३१


समृद्धिको आधार तयार पारेका छौं, अब साकार पार्छौं
–चित्रबहादुर कार्की
सैनामैना, प्रमुखका उम्मेदवार

साविकका सालझण्डी, दुधराक्ष र पर्रोहा गाविसलाई मिलाएर राज्य पुनर्संरचना आयोगले वनाएको यो नगरपालिका पवित्र वुद्धजन्म स्थल लुम्बिनी देखि १५ किलोमिटर उत्तर मनोरम चुरे पहाडको काखमा रुपन्देही जिल्लाको उत्तर भागमा अवस्थित छ । १६२.१८ वर्ग.मीटर क्षेत्रफल रहेको यस नगरपालिकाको हालको जनसंख्या ७८,६७७ रहेको छ ।
यस सैनामैना नगरपालिका अज्र्तगत २०७४ सालको निर्वाचनबाट पहिलोे कार्यकालमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि प्राप्त कार्यभारलाई वहन गर्दै समग्र सैनामैना नगरको समृद्धिको आधारशिला खडा गरिएको एमालेबाट प्रमुखमा उम्मेदवार बन्नुभएका नेता चित्रबहादुर कार्कीले बताउनुभयो ।
उहाँले निर्वाचनको समयमा व्यक्त गरिएका प्रतिवद्धता अनुरुप “सैनामैना समृद्धिको आधार उद्योग, पर्यटन, र पूर्वाधार” भन्ने नारालाई साकार पार्न समृद्धिको आधार तयार पार्ने र तिनै आधारलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत तयार पारिएको प्रमुखका उम्मेदवार कार्कीले बताउनुभयो ।
स्वच्छ सदाचारयुक्त सुशासनको प्रत्याभूति सहित स्वचालित कार्यप्रणालीको स्थापना र अभ्यासको माध्यमद्वारा स्थानीय तहमा प्रवाह गरिने सेवामा गुणस्तरीयता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता, जवाफदेहिता एवम् जिम्मेवार शासन प्रणालीको प्रतिवद्धतासंगै जनतामा सोको प्रत्याभुति दिन सफल भएको कार्कीले दाबी गर्नुभयो ।
यसअघि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सैनामैना नगरपालिकाको मेयर पदमा चित्रबहादुर कार्की र उपप्रमुखमा बिना राना विजयी हुनुभएको थियो । कार्की र राना दुबै जना आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सैनामैना नगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट पुनः उम्मेदवार बन्नुभएको छ ।
अहिले उहाँको नेतृत्वमा नेकपा एमालेले सैनामैनालाई हरियालीसहितको सुन्दर सहर बनाउने लक्ष्यका साथ चुनाबी प्रतिबद्धता जारी गरेको छ । पहिलो कार्यकालमा भए गरेका कामहरुको सूचिसहित नयाँ कामको प्रतिबद्धता गरिएको छ । सैनामैनाको समृद्धि र खुशहालीका लागि एमालेको नेतृत्वमा अगाडि सारिएका दीर्घकालीन योजनाहरुको पूर्णता दिंदा सुन्दर र हरियाली सहर बन्ने विश्वास छ ।
नगरपालिकालाई हरित सहर एवं बँगैचा सहरका रुपमा विकास गरिने र प्रत्येक घर परिसरमा कम्तीमा पाँचवटा फलफुलका बिरुवा लगाउनुपर्ने र बिरुवा निशुल्क उपलब्ध गराइने छ । वनक्षेत्रको संरक्षण गर्दै त्यसलाई पर्या–पर्यटन प्रबद्र्धन गर्नमा समेत सदुपयोग गर्ने एमालेको प्रतिबद्धता छ ।
‘शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायी, सिपयुक्त एव्म स्वाबलम्बी नागरिक बन्नका लागि सहयोय पु¥याउने उद्देश्यसहित सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमलाई सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई उत्प्रेतिर गर्ने एमाले सैनामैनाको प्रतिबद्धता छ ।
पहिलो कार्यकालमा गरेका कामहरुको सूचीसहित प्रमुखका उम्मेदवार चित्रबहादुर कार्की, उपप्रमुखका उम्मेदवार बिना रानासहित ११ वटै वडाका उम्मेदवारहरु प्रत्येक वडाका अगुवा नेता कार्यकर्ताहरुसहित चुनावी अभियानमा निस्किनु भएको छ । पहिलो कार्यकालमा समृद्धिका आधार तयार पार्ने, समृद्ध र सुन्दर सैनामैनाको जग बसाल्ने काम भएको विवरणसहित प्रमुख कार्कीले अबको कार्यकालमा अधुरा योजना साकार पार्ने, बहुवर्षीय योजनाहरुलाई प्रभावकारी रुपमा सम्पन्न पार्ने र मुलुकको हरियाली सहरका रुपमा सैनामैनाको विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
तत्कालीन मेयर कार्कीको कार्यकालमा के–कति कामहरू भए ? कति वाचा पूरा भए, कति अधुरै रहे ? यही सेरोफेरोमा उहाँसंग नवयुगका लागि अमृत गिरीले गरेको कुराकानीको सम्पादित अंश ः
पहिलो कार्यकालमा सैनामैनाको अवस्था कस्तो थियो ?
–विगतमा स्थानीय निकाय हुँदा लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्था र त्यसबाट सिर्जित समस्याहरु धेरै थिए। योबीचमा अधिकांश समस्याहरुको हामीले समाधान गरेका छौं । यद्यपी नागरिकका अपेक्षा बढ्दै जाँदा रहेछन् र ती अपेक्षा पूरा गर्न साधन स्रोत प्रयाप्त नभएकाले प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ । हामीले नगरको आन्तरिक स्रोतको खोजी गर्ने, संरक्षण गर्ने, विस्तार गर्ने र उचित रुपमा सदुपयोग गर्ने कामको सुरुआत गरेका छौं । नगरपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आउँदा नगरको आफ्नै प्रशासनिक भवन थिएन । घर भाडामा लिएर सेवा प्रवाह भइरहेको थियो, वडा कार्यालयहरुका भवन थिएनन् । अहिले नगरपालिकाको व्यवस्थित प्रमुख प्रशासनिक भवन निर्माण भएको छ । वडा कार्यालय भवन निर्माण भएका छन् र ती सबै सेवाकेन्द्रका रुपमा रहेका छन् ।
विकेन्द्रीकृत रूपमा सेवाग्राहीलाई वडास्तरबाट सेवा प्रवाह गर्नुपर्ने पनि चुनौती थियो । त्यसका बाबजुत प्रत्येक वडाबाट पारदर्शी र प्रभावकारी ढंगले सहज पहुँच हुनेगरी सेवा प्रवाहलाई पहिलो प्रथामिकता दिएर काम थाल्यौं । जनप्रतिनिधि र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता तर्जुमा गरी अधिकार प्रत्यायोजनसहित कामको बाँडफाँड गरेर काम थाल्यौं । यस्तै कर्मचारीहरुको सांगठनिक संरचना तयार पारेर कार्यान्वयन गर्यौं। हाल भने नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । निकै चुनौतीका साथ आएका थियौँ, पार लगाउन सक्यौं र अझ महत्वपूर्ण कुरा त सैनामैनाका समृद्धिका आधार पहिल्याउने र तिनलाई साकार पार्ने उपयुक्त कार्यक्रम बनाउन सकेका छौं ।
के कस्ता योजना तय भए ?
–दिगो अवधारणाका साथ कामलाई अगाडि बढाउने क्रममा सुरुमा भू–उपयोग योजना, नगर यातायात गुरुयोजना र नगर पाश्र्वचित्र समेटेर नगरपालिकाको गुरुयोजना बनायौँ । गुरुयोजनामा उठाएका विषयवस्तुलाई प्राथमिकताका साथ काम गरेर सफल भयौँ । हामीले पूर्वाधार विकासको क्षेत्रमा, सामाजिक सेवाको क्षेत्रमा र आर्थिक विकासको क्षेत्र, स्वास्थ्य, खेलकुद अनि संस्कृति संरक्षण, जग्गा संरक्षणलगायतका विषयलाई ध्यानमा राखेर योजनाबद्ध कामको थालनी गरेका छौं । यस क्रममा अधिकांश योजना कार्यान्वयन भएका छन् भने केही योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा रहेका छन् । समग्र विकासका लागि आवधिक योजनाहरुको कार्यान्वयन गर्दै दीर्घकालीन महत्वका योजनाहरु चरणबद्ध रुपमा अगाडि बढेका छन् ।
सैनामैनामा पहिलो मेयरका रुपमा पहिलो कार्यकालको मुख्य उपलब्धि के हो ?
सैनामैनाको पहिचान विस्तार गर्ने, आन्तरिक स्रोतको संरक्षण र विस्तार गर्ने, नगरबासीको शिर उचो बनाउने कामको थालनी गर्ने, प्रदेश स्तरमै नेतृत्वदायी भूमिका स्थापित गर्ने, बुद्धकालीन सभ्यताको पहिचान दिलाउने र त्यसअनुरुपको संग्रहालय स्थापनाको थालनी गर्नेलगायतका कैयन विषयहरु छन् जुन सैनामैनाका उपलव्धिहरु हुन । पूर्वाधार विकासको क्षेत्रमा मेरुदण्ड मानिने सैनामैना चक्रपथ निर्माणले सैनामैनाको परिचय मुलुकभरकै लामो चक्रपथ बनाउने पालिकाका रुपमा थपिएको छ । यो एउटै पालिकाभित्र रहेको नेपालकै सबैभन्दा लामो चक्रपथ हो, ५३ किलोमिटर लामो छ । सैनामैनाका सबै वडाका साथै बुटवल तथा लुम्बिनीलाई सहायक मार्गबाट जोड्ने गरी यो चक्रपथ निर्माणको काम भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, कलौनी–लुम्बिनी सडक र मुर्गिया–लुम्बिनी सडक चक्रपथका अन्य सम्पर्क सडकहरू हुन् । यी सडकहरू लगभग कालोपत्रे भइसकेका छन् । यसको काम ८० प्रतिशत सकियो, बाँकी असारसम्म पूरा हुन्छ । यस्तै तिनाउ–दानव करिडोर, सैनामैना (ताली) लुम्बिनी–कक्रहवा सडक र सैनामैना मेजर रोडलगायतका सडकहरुको काम भइरहेको छ । सैनामैना वडा–१, २, ३,४, ५, ६, ८, ९ र १० लाई जोड्ने करिब १५ किमि लामो मेजर रोडको हाल कालोपत्रे भएको छ । त्यसैगरी आन्तरिक सडकहरू करबला–रामबस्ती–लेडुवा सडक, दुधराक्षचोक–मलमला सडक, मलमला मन्दिरमा सिंढी निर्माण, मर्मतसम्भार, खकनपुर–झारबैरा सडकलगायतका अन्य सडकको अधिकांश काम सकिएको छ । यसबीचमा पालिकालाई धेरै सडक सञ्जाल भएको नगरपालिका भनेर समेत परिचित बनेको छ । यसका साथै नगरका विभिन्न भित्री सडकहरू स्तरोन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम भएको छ । भित्री सडकहरूलाई मापदण्ड तोकेर सडक पेटी, नालीसहित निर्माण गरिएको छ ।
नगरको अर्को मुख्य उपलब्धि लामिरह बहुउद्देश्यीय बाँध संघीय सरकार, लुम्बिनी प्रदेश र सैनामैना नगरपालिकाको लागत सहभागितामा बन्दैछ । यस्तै अर्को महत्वपूर्ण वहुवर्षीय आयोजनाका रूपमा रहेको नमुना ढल प्रशोधन केन्द्र वडा–३ र ४ मा बनेको छ । अन्तर स्थानीय तह फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र, सैनामैना संग्रहालय, सैनामैना वडा–१ मा कृषि उपज संकलन केन्द्र, वडा–७ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सैनामैना औद्योगिक ग्राम, सैनामैना नमुना बस्ती, सैनामैना सांस्कृतिक सहर र वडा–१ मा निर्माण हुने ज्येष्ठ नागरिक एवम् अपाङ्ग संरक्षण ग्रामलगायतका योजना बहुवर्षीय योजनाहरू थिए । यीमध्ये फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि सैनामैना, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिका समेतको सहकार्यमा प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढेको छ । यहाँ रूपन्देहीका सबै पालिका तथा कपिलवस्तु र नवलपरासीका पालिकाबाटसमेत फोहोर व्यवस्थापन हुने गरी योजना अघि बढेको छ । यो नेपालकै नमुना योजना हो ।
त्यस्तै नगरको वडा–७ देउवापारमा करिब ११ विगाह क्षेत्रफलमा रहेको क्रिकेट रंगशालामा कम्पाउन्ड वाल लगाउने र पिच निर्माण गर्ने काम भएको छ । करिब २२ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागेको औद्योगिक ग्राम क्षेत्रमा पनि कम्पाउन्डवाल, कटिङ–फिलिङ र ट्रयाक निर्माणको काम मात्र भएको सम्पन्न भएको छ । नगरमा सैनामैना नमुना बस्ती अन्तर्गत १० वटा नमुना घरको निर्माण कार्य पुरा भइसकेको छ । वडा नं.३ मा इन्डोरसहितको कभर्डहल निर्माण भएको छ । यसैगरि वडा–६ मा पनि इन्डोरसहितको अर्को कभर्डहल निर्माण भएको छ ।
सैनामैना नगरपालिका ८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण हुने भएको छ । नगरपालिका र सुन्दर ट्रेडर्स प्रालि काठमाडौंबीच कम्पनी सञ्चालन गर्ने सम्झौता भएको छ । नगरको भँडसी, भँड्छा र शङ्करपुर गरी तीनवटा टोलको करिब ९ बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाल २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी सम्झौता गरिएको छ । पहिलो चरणमा सैनामैनामा करिब तीन अर्ब ६० करोडको लगानीमा कम्पनी संचालनमा आउने छ ।
त्यस्तै यातायात सेवालाई व्यवस्थित गर्न वडा–१० सालझण्डीमा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने सैनामैना–९ पिपलडाँडामा प्रदेशस्तरीय रिफ्रेस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो पनि देशकै नमुना योजना हो। राजमार्गमा संचालन हुने सवारी साधनका लागि ध्यानमा राखेर हामीले यो योजना प्रदेश सरकारको समन्वयमा अगाडि सारेका हौं । सैनामैनामा विद्युतको लो–भोल्टेजलाई दीर्घकालीन रुपमा समाधानका लागि नगरमै विद्युतको सब–स्टेसन निर्माण गर्ने योजना अघि बढेको छ । सैनामैना–९ पिपलडाँडामा रहेको उपयुक्त जग्गामा करिब १९ करोड बराबरको लागतमा दुई चरणमा सव–स्टेशन निर्माणको काम सुरु भएको छ ।
शैक्षिक क्षेत्रको विकासमा खुबै चर्चा छ सैनामैनाको । खास के काम गर्नुभयो ?
–नगरपालिकाले सामाजिक क्षेत्रको शिक्षा क्षेत्रलाई पनि महत्वका साथ अगाडि बढाएको छ । सुरुमै विद्यालयको सिकाई उपलब्धि स्तर मापन गर्यौँ । त्यतिबेलाको समयमा सामुदायिक विद्यालयको सिकाई स्तर ३० देखि ४० प्रतिशत र संस्थागत विद्यालयको ५० देखि ६० प्रतिशतसम्म थियो । त्यसले हामीलाई योजना बनाउन मद्दत गर्याैँ । ४ वर्षपछि फेरि मापन गर्दा न्युनतम सिकाइस्तर सामुदायिकमा ६० प्रतिशत र संस्थागतमा ७० प्रतिशत देखिएको छ । यस्तै सुरुको अवस्थामा नगरमा २७ वटा सामुदायिक विद्यालय थिए । पछि नगरपालिकाले सञ्चालनामा कठिनाइ भएका र कम विद्यार्थी भएका १० वटा विद्यालयलाई समायोजन गरेको थियो । यसरी काम गर्दाे अभिभावक र विद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय पर्ने स्थिति सिर्जना भएको छ । प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षामा जोडबल गर्दै सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई आइटीसम्बन्धि आधारभूत तालिम र नैतिक शिक्षा तालिम पनि प्रदान गरेका थियौँ । यसपछि प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ गराउने कार्यको थालेका छौँ ।
यस्तै यसवर्षदेखि ‘एक शिक्षक एक ल्यापटप योजना’ अघि सारेका छौँ । विद्यालयको भौतिक संरचना, छात्राहरुका लागि सेनिटरी प्याड, दिवा खाजा लगायत आधारभूत विद्यालयमा आवश्यक पर्ने सुविधाहरू उपलब्ध गराउने प्रबन्ध मिलाएका छौं । प्रत्येक सामुदायिक विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि उच्च स्तरको फिल्टर नगरपालिकाले उपलब्ध गराएको छ । नगरभित्रका बेरोजगार युवालाई स्वरोजागरमूलक कामका लागि दक्षता बढाउन कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजिमा मेकानिकल, इलेक्ट्रिक र अटो मोबाइल इन्जिनियरिङ्गतर्फ १८ महिने रोजागारमूलक तालिम दिइरहेका छौँ । नगरपालिकाबाटै पहिले पढाई छाडेका र अहिले चाहेका महिला लक्षित विद्यालय पनि संचालनमा ल्याएका छौं ।
स्वास्थ्य क्षेत्रमा के काम गर्नुभयो ?
सुरुवातमा नगरको स्वास्थ्य क्षेत्र कमजोर थियो । हिजोको तुलनामा धेरै सुधारोन्मुख छ । स्वास्थ्य चौकीहरूप्रति सेवाग्राहीको विश्वास बढेको छ । तर चेतनास्तर बढाउन भने अझै जरुरी छ । नगरमा हाल सैनामैना–१ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा छ । प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुन्छ । कोभिड–१९ संक्रमणका बेला त्यहाँ अस्थायी अस्पताल पनि सञ्चालनमा ल्याएका थियौं । त्यस्तै संघीय सरकारको योजनाअनुसार १५ शैयाको अस्पताल निर्माण कार्य चलिरहेको छ । यसलाई पछि ५० देखि एक सय बेड सम्मको अस्पतालका रुपमा विकास गर्ने लक्ष्य छ । अस्पताल २ वर्षभित्र सञ्चालनमा ल्याउने नगरको योजना छ । यसैगरी सैनामैना–१० सालझण्डीमा सर्पदंश प्राथमिक उपचार केन्द्र खोलेका छौँ र सय बेडको ट्रमा सेन्टर निर्माणको प्रक्रिया चलिरहेको छ । ११ वटै वडामा आधारभूत स्वास्थ्य चौकी पनि स्थापना भएका छन् । नगरमा २४ सै घण्टा बर्थिङ सेन्टर, १० वटा गाउँ घर क्लिनिक र १० वटा नै खोप केन्द्रबाट नियमित सेवा प्रवाह भइरहेको छ । त्यसैले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
सैनामैनाको समृद्धिको आधार कृषि पनि हो । यसक्षेत्रका के काम भए ?
सैनामैना दुध, माछा, मासु, अण्डालगायतमा आत्मनिर्भर छ । यसलाई अब अरु उपजमा पनि आत्मनिर्भर बनाउँदै निर्यातको तहमा पु¥याउनुपर्ने छ । हामीले उपयुक्त कार्यक्रम र कार्यविधि बनाएर कामको सुरुआत गरेका छौं । अबको कार्यकालमा अझ व्यवस्थित कामको थालनी गर्नेछौं । सैनामैनामा रहेका किसानले मागेजति अनुदान पाउनुभएको छ । सुरुमा केही प्रभावकारी नभएको पाइएपछि किसानले ५० प्रतिशत लगानी गरे जुनसुकै प्रविधिमा हामीले ५० प्रतिशत अनुदान दिने कार्यविधि बनाएर लाागू गरेका छौँ । यसले वास्तविक किसानलाई फाइदा भएको छ । पशु बीमा र बाली बीमाको प्रबन्ध गरिएको छ ।
आर्थिक विकासतर्फ नगरपालिकाले कृषि र पशुपालन गर्ने किसानहरूलाई प्रोत्साहन गरिरहेको छ । कृषितर्फ विशेष गरी नगरपालिकामा कृषकहरुका लागि ११ वटै वडामा टनेल निर्माण गर्नका लागि अनुदान उपलब्ध गराइएको छ । किसानलाई शाखाले अनुदान उपलब्ध गराउँदै आएको छ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न नगरको सबै वडामा गड्यौली (भर्मी मल) मल बनाउने विधि र अनुदान कृषकहरुलाई प्रदान गरिएको छ भने कम्पोस्ट मल बनाउन समेत किसानहरूलाई प्रोत्साहन गर्दै आएको छ । नगरमा मागमा आधारित अनुदान, सिँचाई पूर्वाधार निर्माण, प्रत्येक वडामा कृषि पाठशाला, आइपिएम प्रविधिबाट तालिम, किसानलाई नै कृषि सहजकर्ताको रूपमा तयार गर्ने, आधुनिक कृषि उत्पादनको प्रविधि हस्तान्तरण गर्ने कामलाई मुख्य प्रथामिकतामा राखिएको छ ।
सैनामैनाको ११ वटै वटामा कृषक पाठशाला संचालन गरी करिब २०० जना दक्षता हासिल गरेका तालिम प्रर्याप्त कृषकहरू तयार भएका छन् । नगरमा दुध मासु र अण्डामा आत्मनिर्भर गराउँदै अरु कृषि उपजमा पनि आत्मनिर्भर बनाउने गरी योजनाबद्ध काम हुँदै आएका छन् । साामुहिक खेती, एकीकृत कृषि प्रणालीलाई प्रथामिकता दिँदै चाक्लाबन्दी गर्ने लगायतका कामलाई प्रोत्साहन गर्ने काम भएको छ । त्यस्तै मुर्गिया, कलौनी, सालझण्डीमा रहेका अव्यवस्थित साप्ताहिक हाटबजारलाई पायक पर्ने उपयुक्त स्थानमा स्थानान्तरण गर्ने काम भएको छ । सैनामैना नगरपालिका र युएनडिपीको साझेदारीमा कोभिड १९ बाट रोजगारी गुमाएका १६ विपन्न घरपरिवार छनोट गरेर जग्गा उपलब्ध गराई आवश्यक बीउ, मल र प्रविधि उपलब्ध गरेर बहुतले कृषि तथा फलफूल उत्पादन कृषक फर्म सञ्चालन भइरहेको छ ।
लालपुर्जा वितरण गर्ने काम कहाँसम्म पुगेको छ ?
–मैले चुनावी प्रतिबद्धतामा घोषणा गरेको लालपुर्जाविहीन रहेका यहाँका नागरिकलाई पुर्जा दिने कामको सुरुआत भएको थियो । भूमि आयोगको फरमेटमा लगत संकलन गर्ने, अनलाइमा प्रविष्ट गर्ने, जग्गा नापजाँचका लागि कन्ट्रोल प्वाइन्ट निर्माण गरेर व्यवस्थित कामको थालनी भएको थियो । तर, सुरुको आयोग नयाँ सरकार बनेपछि खारेज गरिदियो । लामो समयसम्म काम ठप्प पारियो । नापजाँच सुरु भइसकेका जग्गामा लालपुर्जा तयार पारेर वितरण गर्ने तयारी थियो जुन आयोगको विघटनले अवरुद्ध बन्यो । आयोग विघटन नगरिदिएका भए यतिबेला कैयौं लालपुर्जा वितरण भइसक्ने थिए । नगरभित्र नापी भइसकेका साविक पर्रोहा र सालझण्डीको गाउँब्लक जग्गाहरूको फिल्ड र श्रेस्ता जाँच गरी जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। जसमा ४ वर्षको अवधिमा करिब ८ सय जनाले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्, भने बाँकी नागरिक भने लालपुर्जा पाउन सकेनन्। नगरभित्रको ११ वटै वडामा लागत संकलन गरिसकिएको छ। लागत संकलनपश्चात जग्गा नापजाँचका लागि आवश्यक सबै वडामा करिब १ सय ३० वटा कन्ट्रोल पोइन्ट स्थापना गरि जग्गा नापजाँचको काम गरिसकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..