४ भाद्र २०७९, शनिबार

पोखरामा एमालेको शक्ति प्रदर्शन : मतदान गरेर सुत्न जाने हैन, आँखा झिमिक्क नगरी मतपेटिका कुर्न अध्यक्ष ओलीको निर्देशन

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार १७:५८


पोखरा । पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमालेले पोखरा सोमबार चुनावी आमसभा गरेको छ । यही ठाउँमा गठबन्धनले आइतबार चुनावी सभा गरेको थियो ।

मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङसहित ३३ वटा वडामै एमालेलाई जिताउन अपील गर्दै अध्यक्ष केपी शर्मा ओली पोखरा आउनु भएको छ । एमालेले पोखरामा गठबन्धनभन्दा धेरै कार्यकर्ताहरु जम्मा गरेर शक्ति प्रदर्शन गरेको थियो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो । उहाँले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।

‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छ । के–के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । – अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँज्दै भन्नुभयो – ‘पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँचवटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आउँदो संसदीय निर्वाचनमा प्रदेश र संघमा बहुमत ल्याउने निश्चित भएको पनि बताउनुभयो । एमालेले देशप्रति बेइमानी नगर्ने र जनतालाई धोका नदिने भएकाले आउँदो संसदीय चुनावमा बहुमत ल्याउने निश्चित भएको उहाँको भनाई थियो ।

‘संसदीय निर्वाचन (प्रदेश र संघ) मा एमालेले बहुमत ल्याउने निश्चित छ । किनभने एमालेको लहर देशव्यापी रूपमा छ । एमालेले कुनै गल्ती गर्नेवाला छैन, ’उहाँले भन्नुभयो एमालेले देशप्रति बेइमानी गर्नेवाला छैन । जनतालाई धोका दिनेवाला छैन । ’

उहाँले एमालेको जनलहर अझै बढ्दै जाने बताउनुभयो । ’एमालेको यो जनलहर घट्नेवाला छैन बढ्दै जान्छ । र, एमालेले आउँदो आम निर्वाचनमा बहुमत ल्याउँछ र बहुमत ल्याएर सरकार बनाउँछ ।’

गणेशमान र किसुनजीले त्यसै काँग्रेस छाड्नुभएको होइन

अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताउनुभयो । उहाँले काँग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिम समयमा पार्टी छाड्नु परेको बताउनुभयो ।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी) ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्ध कालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन,’ ओलीले भन्नुभयो, ‘२००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’

अहिले बीपी कोइराला भएको भए पनि कांग्रेस छाड्ने ओलीको टिप्पणी थियो । गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै अध्यक्ष ओलीले कांग्रेसको बेहाल भइरहेको टिप्पणी गर्नुभयो ।

काँग्रेसीले शहरैपिच्छे धम्की सहनुपरेको छ

अध्यक्ष ओलीले गठबन्धनमा कांग्रेसको बिजोक भएको टिप्पणी गर्नुभयो । गठबन्धनकै नेताले धम्क्याउँदा कांग्रेस सुनेरमात्रै बस्नुपरेको अध्यक्ष ओलीले बताउनुभयो ।

‘गठबन्धनको कम्ता बिजोग भएको छ ? सभामा नै उहाँहरूको विभिन्न प्रकारका बोली आएको छ । एउटाले चितवनमा धम्क्याउँछ, एउटाले पोखरामा धम्क्याउँछ । कांग्रेसले घुर्की सुन्ने,’ उहाँले थप्नुभयो, ‘भोट हालिदिनुपर्ने अनि धम्की खानुपर्ने । भरतपुरमा प्रचण्डको धम्की खानुपर्ने, पोखरामा माधव नेपालको धम्की खानुपर्ने ।’

शीर्ष नेताले गठबन्धन गरेपनि तल्लो तहमा सत्ता गठबन्धनभित्र तीव्र असन्तुष्टि रहेको दाबी गर्दै अध्यक्ष ओलीले ठूला नेताकै कारणले कतिपय ठाउँमा यसपटक पनि काँग्रेसले रुख चिन्हमा भोट हाल्न नपाउने अवस्था आएको बताउनुभयो ।

‘मुख्य नेताबाहेक काँग्रेसका अन्य नेताप्रति मेरो सहानुभूति छ । भोट हाल्न नपाउँदा कसरी मन थामेका होलान् ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘पहिले पनि चितवनमा भोट हाल्न पाएनन् । फेरि यसपल्ट पनि पाएनन् ।’

उहाँले चितवनमा छोरीलाई जिताएनौँ भने म दुर्घटना गराइदिन्छु भनेर प्रचण्डले धम्की दिइराखेको जिकिर गर्दै चर्को आलोचना गर्नुभयो । ‘खुरुक्क मेरो छोरीलाई जितायो भने म खुसी हुन्छु रे । कस्तो गज्जब छ’, प्रचण्डले भने, ‘जिताए १५–२० वर्ष गठबन्धन गरिदिने रे ।’

गठबन्धन सरकार झाडीबाट आएको हो

अध्यक्ष ओलीले सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने बताउनुभयो । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाईहरु (जनता)को सरकार हुनेछ ।

उहाँले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गर्नुभएको छ । ‘संसदले सरकार जन्माउँछ । गठबन्धन सरकार झाडीबाट आएको हो । परमादेशको गठबन्धन हो । कहाँबाट कसले फालेको हो थाहा छैन । जनताले यस्तालाई साथ दिँदैनन्,’ उहाँले भन्नुभयो ।

अमरसिंह मैदान भरिने गरी भएको उपस्थितिले पोखरामा परिणाम देखाइसकेको ओलीको भनाई थियो । ‘एमाले वास्तमवमा विजय भएको छ । एउटा कर्मकाण्ड वैशाख ३० गते पु¥याउनु छ । भोट हाल्ने विधि पु¥याउनु छ,’ अध्यक्ष ओलीले थप्नुभयो, ‘जनताले निर्वाध ढंगले मतदान गर्ने स्थिति बनाउनुपर्छ । मतको रक्षा सजक र सुदृढ ढंगले गर्नुपर्छ ।’

उहाँले नेपालमा आफूले बोलेको बुझ्नेहरू निकै कम रहेको बताउनुभएको छ । आफूले शास्त्रको कुरा गर्दा बुद्धिजीवीले त्यसलाई उखान–टुक्का भन्ने गरेको सुनाउनुभयो । ‘नेपालमा मैले बोलेको बुझ्ने बुद्धिजीवी कम छन् जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु उनीहरू त्यसलाई उखान टुक्का भन्छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसका नेताले भन्नु त ठीक हो किनकि उनीहरूले बुझ्दैनन् । अरु बुद्धिजीवी छन्, जसले मैले बोलेको कुरालाई उखान टुक्का भन्छन् ।’

वैशाख ३० पछि को सक्किनेछन्, जनताले बताउँछन्

ओलीले ३० वैशाखमा जनताले नै एमालेको शक्ति देखाउने भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेको काँधमा चढेर प्रधानमन्त्री भएको मान्छे एमालेलाई नै सिध्याउने भन्दै हिँडेको बताउनुभयो ।
‘हिजो बोलेको कुरा सुन्नुभयो । एमालेको काँधमा चढेर प्रधानमन्त्री भएका मान्छे एमालेलाई सिध्याउने भन्दै थिए । कांग्रेसलाई घुर्काउँदै थिए । वैशाख ३० गते परिणाम आएपछि देशमा को सक्किएछ, को खत्तम भएछ जनताले बताउने उहाँको भनाई थियो ।

पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’

अध्यक्ष ओलीले काँग्रेस नेत्री एवं देउवा पत्नी आरजु राणाले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको छ ।
बजेट कसैको खल्तीको नभएको भन्दै अध्यक्ष ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’

अध्यक्ष ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेको बताउदै ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उहाँले भन्नुभयो ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिनेमात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि एमालेले जोड दिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..