२० मंसिर २०७९, मंगलवार

कृषि, पर्यटन र पूर्वाधार नै सूूर्याेदयको आधार : दुर्गादेवी भट्टराई

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार २२:४५



दुर्गादेवी भट्टराई अहिले इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको उप–प्रमुखकी उम्मेदवार हुनुहुन्छ । भट्टराई काम गराइको हिसाबले जिल्लाभरका पालिकमध्ये अब्बल रूपमा चिनिएकी उपप्रमुख पनि हुनुुहुन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी हुँदैगर्दा र उप–प्रमुख भएर काम गर्दाका चुनौती र अवसरलाई भट्टराईले कसरी लिएकी लिनुुभएको छ, उहाँले अब नगरलाई कस्तो बनाउन चाहनुभएको छ त ? उपप्रमुख उम्मेदवार दुर्गादेवी भट्टराईसँग गरिएको कुराकानी

दुर्गादेवीलाई अब नागरिकले कसरी लिएका होलान् ?
भट्टराई : कतिपय राम्रो भन्नुहोला, कतिपयले नराम्रो पनि भन्नु होला तर, सूर्योदयका आम नागरिकले दिएको मतको सम्मान गर्र्दै सूर्योदयमा केही नयाँ काम गर्ने अवसर मिल्यो, कति काम गर्न अझै पनि बाँकी छ । जे होस यो पाँच वर्षको अवधिमा हामीले सूर्योदयलाई सकेसम्म राम्रो बाटोमा हिंडाउने प्रयत्न गरेका छौं ।
पाँच वर्ष बित्नै लाग्यो, अर्को निर्वाचन नजिकिएको छ, एक–दुई गरेर आफूले भन्नु पर्दा कुन कामहरु आफ्ना एजेण्डाका सफल भए होला ?
भट्टराई : पाँचवर्ष अगाडि जितेर आउँदै गर्दा साँच्चै भन्नुपर्दा जनप्रतिधिलाई कुन ठाउँमा टेक्ने र कहाँबाट काम शुरु गर्ने भन्ने बलियो आधार थिएन । हामीले ऐन, कानून र नीतिहरु निर्माण गर्नु थियो । त्यो प्रमुख होस या त उपप्रमुख यात अन्य कोही जनप्रतिनिधि एक्लैले कहिले संभव थिएन । हाम्रो टीम एकजुट भएर नीति निर्माणमा लाग्यौं । त्यसपछि महिलालाई हरेक स्थानमा ४० प्रतिशत सहभागी गराउनु पर्छ भन्ने मेरो मुख्य एजेण्डा थियो । त्यसलाई पारित गर्न निकै मुस्किल प¥यो । अन्तमा पारित गरियो । अहिले सूर्योदयका हरेक काम र योजनाहरुमा महिलाको ४० प्रतिशत अनिवार्य सहभागीता रहेको छ । पहिला म आफू सीएल पढ्दै गरेको विद्यार्थी विवाह गरेर यहाँ आउँदा खर्च अभाव र पारिवारिक अवरोधले थप शिक्षा हासिल गर्न गर्नुपरेको संघर्षले पिरोलि रहेको थियो । त्यसकारण निर्वाचित भएको पहिलो वर्ष छोरी बुहारीलाई स्नातक सम्म निःशुल्क शिक्षा बनाउँ भन्दा त्यो एजेण्डा पारित हुन सकेन । दोस्रो वर्ष त्यही एजेण्डा उठाएं । पारित भयो । अहिले करफोक विद्या मन्दिरमा करिब दुई सय छोरीबुहारीले निःशुल्क स्नातक पढिरहेका छन् । यहाँका एकल महिलालाई पनि परिवार र समाजबाट फरक दृष्टिले हेरिन्थ्यो । उहाँहरुलाई नगरपालिकाबाटै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सफल भइयो । गरिब, दलित र विधवा र अविवाहित एकल महिलाई स्वास्थ्य बीमाको कार्यक्रम चलिरहेको छ । यी हरेक विषयले अहिले पनि काम गर्न संघर्ष र चुनौती पछिको अवसर हो जस्तो लाग्छ ।
उप–प्रमुख एकातिर छ, अर्कातिर अनुगमन समितिको प्रमुख, न्यायिक समितिको प्रमुख भएर पनि भूमिका निर्वाह गर्नुभयो, कस्तो रह्यो त्यो काम ?
भट्टराई : उप–प्रमुखको अधिकार क्षेत्र भित्र रहेर गर्नुपर्ने काम, न्यायिक समिति, योजना अनुगमन, राजश्व व्यवस्थापन लगायतका धेरै काम थिए । राजश्व बलियो भएन भने स्थानीय पालिका चलाउनै मुस्किलको अवस्था थियो । हामी आउँदै गर्दा सूर्योदय नगरपालिकामा जम्मा ५९ लाख रुपियाँ मात्र राजश्व तथा आन्तरिक आय हुने गथ्र्यो । पछि राजश्व संकलन हुने ठाउँहरु पहिचान गरेर राजश्व संकलनमा वृद्धि हुने अवस्थामा पु¥याइयो । अहिले सूर्योदयमा करिब ४ करोड रुपियाँ आन्तरिक आम्दानी हुने गरेको छ । राजश्व उठ्नु भनेको नगरपालिकाको समग्र आर्थिक पाटोको विकास हुनु पनि हो । अर्को न्यायिक समितिलाई मजबुद बनाउने चुनौती थियो । मेलमिलाप कर्ताहरुको उत्पादन देखि मलमिलाप समिति गठनका कामहरु भए । अहिले यहाँका नागरिक न्यायिक समिति सँग खुशी हुनुहुन्छ । सानातिना विवादहरु गाउँ–वडा स्तरमै समाधान हुने गरेका छन् । योजना अनुगमनको काम पनि शुरुको वर्ष त्यति सजिलो भएन । निर्माण व्यवसायीहरुले फरक ढंगले काम गर्ने र जनप्रतिनिधिलाई फरक ढंगले बुझ्ने गरेका थिए । हामीले हरेक सामग्री र कामको गुणस्तरलाई हेरेरमात्र योजना सम्पन्न भएको पास गर्ने बानी बसाल्यौं । कतिपय निर्माण हुँदै गरेका योजना भत्कायौं पनि । यसले निर्माण व्यवसायीले पनि स्वीकार गरेर गुणस्तरीय काम गर्न सचेत भए । अहिले निर्माण सम्पन्न हुनेक्रमका योजनाहरुको काम निकै राम्रो भएको छ । आम नागरिकको सहयोग पनि राम्रो भएको छ । नागरिकले पनि आफ्नो ठाउँमा निर्माण हुँदै गरेको योजना मेरो पनि हो भनेर अपनत्व महशुस गर्ने बानीको विकास भएको छ । स्थानीय निकाय हुँदा जस्तो काम गरेपनि योजना पास हुने र रकम भुक्तानी हुने गरेको थियो । अहिले त्यसमा आकाश जमिनको फरक छ । गुणस्तरीय ढंगले योजना सम्पन्न नभइ रकम हामी दिदैनौं । योजना बिक्रीयो भने उपभोक्ताहरुले तुरुन्त खबर गर्न थाल्नु भएको छ ।
तपाईं उपप्रमुख, न्यायिक समिति संयोजक हुँदै गर्दा यहाँका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायत न्याय पाउन नसेकेका महिला सबै तपाई सँग जोडिएर आए । उनीहरुको विषयमा नीति बनाउँदै गर्दा तपाईं आफूलाई चाँहि कस्तो चुनौती आयो ?
भट्टराई :महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको क्षेत्र स्वतः उप–प्रमुख सँग जोडिने क्षेत्रनै हो । उनीहरुका सवालमा नीति, कार्यनीति बनाउँदै गर्दा चुनौती त आयोनै । पहिलो त नीति निर्माण तहमा महिला सहभागीता कम हुन पनि निकै दुःखको कुरा हो । एउटै पार्टी, एउटै समुह किन नहोस, पुरुष धेरै भएको स्थानमा महिलामाथि विभेदकै दृष्टि हुन्छ । महिला प्रतिनिधिले उठाएका सवाल र एजेण्डाहरु राम्रा भएपनि पारित गर्ने कुरामा भरसक आनाकानीनै हुन्छ र त्यस्तै पनि भएको छ । अहिले सूर्योदयमा सफल भएका विषय, योजना र क्षेत्र पनि यी र यस्तै सवालमा छन् । महिला शिक्षा, एकल महिला, अपाङ्गता भएका व्यक्तिको क्षेत्रदेखि अन्य विभिन्न सामाजिक कामहरु निकै राम्ररी सफल भएको उदारण तपाईहरु सबैले देख्ननै सक्नु हुन्छ ।
तपाईंको राजनीतिक जीवन अलिकति बताइदिनुन् ।
भट्टराई : म बुद्धशान्ति गाउँपालिका झापाको बुद्धआदर्श माविमा पढ्दा २०४८ देखि अनेरा स्ववियुमा क्रियाशील थिएं । विवाह भएर कन्याम आएपछि २०५३ सालमा नेकपा एमाले पार्टीको संगठित सदस्य भएं । २०५४ सालको स्थानीय निर्वाचनमा कन्याम –८ बाट वडा सदस्य जितें । पार्टीमात्र पनि सदस्य, गाउँ कमिटी सचिव हुँदै , पार्टीको गाविस उपाध्यक्ष भएर काम गरें । एक कार्यकाल पार्टीको क्षेत्रीय समिति सदस्य भएर काम काम गरें । जिल्ला कमिटी सदस्य र सचिवाल सदस्य भएर काम गर्दै गर्दा सूर्योदयको उप–प्रमुखको जिम्मेवारी दिएर निर्वाचनमा पठायो । मैले यहाँका नागरिकको माया र मतले उप–प्रमुखमा जितें । यहाँका नागरिकको अपेक्षा अनुसार काम गरें जस्तो लाग्छ । अझै युवा, महिला, वनवातावरण, पर्यटन, आर्थिक, स्वरोजगारलगायतका धेरै काम गर्न बाँकी छ । बल्ल आधार तयार भएको छ । आउँदा वर्षहरुमा सूर्योदयको समग्र विकासका लागि तपाईं हामी, यहाँका आम नागरिक सबै एकजुट भयौं भने साँच्चै भनिएको समृद्धि सूर्योदयबाटै शुरु हुने अवस्था छ ।
आफ्ना मतदातालाई के भन्नुहुन्छ ?
भट्टराई : मलाई यसले उप–प्रमुख भएर जुन काम गर्न सक्छे भनेर जुन अपेक्षाले मत दिएर आम नागरिकले विजयी गराउनु भएको थियो । सबैको अपेक्षा अनुसार हामीले काम ग¥यौं भन्ने लाग्छ । अझै मेरो आफ्नो लक्ष्य अनुसारको काम त अझै गर्न बाँकी छ । नीति निर्माणका काम देखि शुरु गर्नुपर्ने भएकाले पाँचवर्षको अवधि जनप्रतिनिधिका लागि त्यति लामो भएन । अब थालिएका कामहरु अझै अधुरा छन् । विशेष योजना बनाएरै ती अधुरा काम पुरा गर्नुपर्ने छ । जस्तै ः चियाको समर्थन मुल्यको कार्यविधि देखि अर्गानिक अभियानका विषयहरु, दिगो पर्यटन पर्वद्धन लगायतका क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ । सूर्योदयको हरेक पाटोको विकासमा अगाडि बढाउन हामीले मार्ग तयार गरेका छौं । अझै हिंडाउन बाँकी छ । ती काम पुरा गर्नुछ । ती कामहरुलाई व्यवस्थित र संस्थागत गर्न आम नागरिकले अझै सहयोग पु¥याउनु हुन्छ भन्ने विश्वासका साथ विशेष आग्रह गर्न चाहान्छु ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..