१५ आश्विन २०७९, शनिबार

सूर्योदय नगरबासीका सुख–दुःखका सारथि काजीमान कागते

प्रकाशित मिति :  २६ बैशाख २०७९, सोमबार २२:५०


काजीमान कागते
मेयरका उम्मेदवार
सूर्याेदय नगरपालिका, इलाम

काजीमान कागते इलामको पूर्वी क्षेत्रमा स्थापित नाम हो । सरल जीवनशैली, सहयोगी स्वभाव, मृदुभाषी कागतेको ठट्यौली पारामा प्रस्तुत हुने बानीका कारण उहाँ धेरैले रुचाउने व्यक्ति हुनुहुन्छ । कागते औपचारिक घेराभित्र सीमित हुनुहुन्न । त्यसैले जो कोहीको पहुँच उहाँसम्म सहज हुन्छ । कागते आफ्नो सामाजिक कामकै कारण एउटा संस्थाझैँ स्थापित व्यक्तित्व हुनुहुन्छ । अहिलेसम्म कुनै विवादमा नमुछिनुभएका कागतेले आफ्नो व्यक्तित्वमा दाग लाग्न दिनुुभएको छैन । २०१८ सालमा बाबु मोहनबहादुर कागते र आमा फूलमाया कागतेको माइलो सन्तानका रूपमा जन्मिनुभएका कागते १८ वर्षकै उमेरमा कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभएको हो । २०४६ सालदेखि नेकपा (माले) हुँदै उहाँ नेपाली वामपन्थी आन्दोलनमा होमिनुभएको हो ।
कागते २०४९ सालमा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा इलामको तत्कालीन कन्याम गाविस वडा नं. १ को वडाध्यक्ष निर्वाचित भएपछि जनप्रतिनिधिको यात्रा शुरु भएको हो । त्यसपछि उहाँ कन्याम गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभयो । गाविसमा दुई वर्ष उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो । तीनवर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी पूरा गर्नुभयो । २०७४ को आम निर्वाचनमा उहाँ इलाम क्षेत्र १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कागतेले इलाम निर्वाचन क्षेत्र नम्बर १ को एमालेको क्षेत्रीय अध्यक्षको रूपमा दुई नेतृत्व गरिसक्नुभएको छ ।
सशस्त्र द्वन्द्वताका गाउँ–गाउँमा अन्य राजनीतिक दलको गतिविधि शून्यप्रायः थियो । त्यसबेला इलामको पूर्वी क्षेत्रमा पनि एमालेको उपस्थिति निकै कमजोर भएको थियो । त्यस बेला कागतेले एमालेको खम्बा बनेर उभिनुभयो । कमजोर भएको पार्टीलाई दिनरात काम गरेर उकास्नुभयो र पार्टीलाई चुनाव हार्न दिनुभएन ।
२०५८÷०५९ तिर आठ रुपैयाँमा पनि हरियो चियापत्ती बिक्दैनथ्यो । चिया प्रशोधन उद्योगहरूले हरियो पत्तीको मूल्य निर्धारणमा सिन्डिकेट लगाउँथे । त्यस बेला काजीमान कागतेले चिया किसानको पक्षमा भएको आन्दोलनको अगुवाइ गर्नुभयो । मुलुकमा हरियो पत्ती नै विक्री नहुने अवस्थामा उहाँकै अगुवाइमा किसानले उत्पादन गर्ने हरियो पत्ती भारतसम्म पु¥याएर विक्री गरे । त्यसबाट किसानले केही राहत पाए । भारतमा हरियो पत्ती निकासी हुन थालेपछि किसानको हातमा चियाको प्रतिकिलो भारु २० रुपैयाँसम्म पर्न थाल्यो । तर, त्यो उपाय दीर्घकाल टिकेन । भारतीय चिया दलालहरूले उद्योगहरूले दिने चियाको पेमेन्ट नै खाइदिन्थे । हरियो पत्ति भारत लगेर बेच्दा डुबेको २० लाख रुपैयाँ जति रकम अहिले पनि उठेको छैन । भारतमा विक्री गरेको चियाको पेमेन्टसमेत नपाउने अवस्था आएपछि चियाको औद्योगीकरणको लागि कागते लागिपर्नुभयो ।
शुरुमा हाते चिया प्रशोधनको लहर चल्यो । गाउँ–गाउँमा साना साना चिया प्रशोधन गर्ने घरेलु उद्योग स्थापना भए । कागतेले पनि घरैमा झुल्के घाम हाते चिया उद्योग स्थापना गरेर हातैले माडेर तयारी चिया बनाउन थाल्नुभयो । हाते चिया उद्योगहरूमा चिया प्रशोधनको प्रविधिहरू खासै थिएनन्, पछि बिस्तारै बिस्तारै चिया प्रशोधन गर्ने चिनिया मेसिन भित्रियो । उहाँले पनि ‘लड बुद्ध’ चिया प्रशोधन उद्योग स्थापना गर्नुभयो ।
अहिले चिया प्रशोधन उद्योग भने कान्छा छोरा लाक्पा दोर्जेले चलाउनुहुन्छ । चियामा देखिएको समस्या सधानको लागि अहोरात्र खटिरहने कागते चियाको क्षेत्रमा काम गर्न राज्यले बनाएको चिया तथा कफी विकास बोर्डमा दुई पटकसम्म सदस्य हुनुभयो । बोर्डमा हुँदा चिया रोपणको लागि किसानले लिएको ऋणको ब्याज र हर्जाना मिनाहा गराउन सफल भएको उहाँ सुनाउनुहुन्छ । ‘यो सूर्योदय नगरपालिका क्षेत्रकै धेरैको घरजग्गा लिलाम हुने अवस्था थियो, भाका नागेको दश लाखसम्म ब्याज हर्जाना मिनाहा हुँदा धेरैलाई राहत मिल्यो’, कागतेले भन्नुभयो ।कागते सामान्य परिवारमा जन्मिएका व्यक्ति हुनुुहुन्छ जनप्रतिनिधि हुनुअघि कागतेको दैनिकी खेतीपाती मेलापातमै बित्थ्यो । उहाँले ढुङ्गा फोर्ने, काठ काट्ने, मिस्त्रीको काम (घर बनाउने काम), खेती लगाउने काम गर्नुभयो । कागतेले आफ्नो घरको गाह्रो आफै लगाउनुभयो । घर बनाउँदै गर्दा घरका लागि चाहिने काठको व्यवस्था गर्न उहाँ आफै धरानमा काठ चिनुहुन्थ्यो । त्यहीबेला एमालेले उहाँलाई कन्याम गाविस १ मा वडाध्यक्षको उम्मेदवार बनायो ।
कागते बनाउँदै गरेको घर अधुरै छाडेर चुनावमा लाग्नुभयो । उहाँको त्यो अधुरो घर अहिलेसम्म पनि पूरा भएको छैन । कागतेले त्यही अपुरो घरमा बसेर सामाजिक काम गरिरहनुभएको छ । त्यही भएर उहाँको एउटा किस्सा चर्चित छ– ‘काजीमान कागतेले अरूको काम गर्दा गर्दै आफ्नो घर पूरा गर्न भ्याएन ।’
अपुरो घरको कुरा गर्दा कागतेले हाँस्दै भन्नुभयो, ‘त्यतिबेला थालेको घर अहिले पनि पूरा भएको छैन नि हौ, अब त भत्काउने बेला भइसक्यो, तर यसो म्युजियमजस्तो बनाउन पाए हुन्थ्यो ।’ राजनीतिमा होमिएपछि कागते आफ्नो काममा खास ध्यान दिन भ्याउनुभएन । त्यसैले पहिले चिया रोप्दा छोडिएको ठाउँ अहिले पनि भरिएको छैन ।
कागतेले शिक्षा क्षेत्रको विकासमा पनि निकै योगदान गर्नुभएको छ । कन्याममा रहेको श्रीकृष्णाश्रम माविमा उहाँ लगातार १५ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभयो । विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक थियो । कुनै बेला एसएलसीको नतिजामा शून्य हुने विद्यालयले कागते व्यवस्थापन समितिमा आएपछि शतप्रतिशत सम्म नतिजा निकाल्यो । पूर्वी क्षेत्रमा करफोक विद्या मन्दिर र दानाबारीको गरुवा बहुमुखी क्याम्पस बाहेक अन्य ठाउँमा उच्च शिक्षा अध्ययन गर्ने ठाउँ थिएन । कागतेकै पहल र प्रयासमा कन्यामको कृष्णाश्रममा प्लसटुको पढाइ शुरु भएको हो ।

कागतेले धेरैलाई व्यक्तिगत काममा पनि सघाउनुभएको छ । नागरिकता, पासपोर्ट, जन्मदर्तासम्मका लागि धेरै जना उहाँलाई भन्न आउँथे । कतिसँग यी कामका लागिसमेत खर्च हुँदैनथ्यो । त्यसको जोहो गर्न पनि उहाँ पछि हट्नुभएन । ‘कतिलाई त खाजा खर्च, गाडी भाडासमेत लगाइदिएर घरसम्म पु¥याएको छु’, उहाँले भन्नुभयो, ‘बिरामी पर्दा, दुःखमा परेकालाई त धेरैलाई सहयोग गरियो ।’

कागतेले मध्यस्थकर्ताको रूपमा पनि काम गर्नुभयो । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा मानवअधिकार मञ्चले गाउँ गाउँमा मध्यस्थकर्ता उत्पादन गरेको थियो । मध्यस्थकर्ताको भूमिकामा हुँदा कागतेले थुप्रै विवादहरू सल्टाउनुभएको छ । ‘कति त अड्डा–अदालत धाउँदा–धाउँदा गरेर नमिलेको चिजहरु पनि बसेर मिलाइन्थ्यो,’ विगत सम्झिँदै कागतेले भन्नुभयो ।

कागते अरूका कुरा राम्रोसँग सुन्नुहुन्छ । सक्ने सहयोग गर्न पछि पर्नुहुन्न । आफूले सहयोग गर्न नसके ढाडस दिएरै भएपनि सहयोग गर्ने कोसिस गर्नुहुन्छ । समाज राम्ररी बुझ्नुभएको छ । विकासको आवश्यकता बुझ्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यसपटक मैले जित्ने निश्चित नै छ, जितिसकेको छु, अब प्रक्रिया पु¥याएर घोषणा हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..