२७ श्रावण २०७९, शुक्रबार

पार्टीलाई सर्बोपरी मान्ने याङवरकका सुवास

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार ०९:०६



आफू आवद्ध भएको संगठन, संस्था वा निकायलाई सर्बोपरी मानेर काम गर्नु बदलिएको परिस्थितिमा निकै कठिन काम हो । नेपालमा विशेषतः कम्युनिष्ट कार्यकर्ताहरुले आन्दोलन र संघर्षमका बखत पार्टीलाई नै जीवन ठान्दथे । खुला परिवेश र लोकतान्त्रिक प्रतिस्पर्धाको यो युगमा पनि कतिपय कम्युनिष्ट कार्यकर्ता त्यहि ‘स्कुलिङ’मा हिँडिरहेका छन् । पार्टी र आन्दोलनलाई नै जीवन ठानेर हिँड्ने एउटा इमान्दार कार्यकर्ताको नाम हो सुवास योङया ।
वि.सं. २०२४ वैशाक १६ गते हर्कमान र रनहाङमा योङयाको कोखबाट जन्मिएका सुवास दोश्रो जनआन्दोलनताका अनेरास्ववियुमा संगठित हुँदै वि.सं. २०५० सालमा नेकपा (एमाले)को संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । विभिन्न जिम्मेवारीमा रहँदै ०५६ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ पाँचथरको सचिव तथा नेकपा (एमाले) ओयाम गाविसको सचिव चुनिएपछि सुवासको राजनीतिक यात्रा उचाईतर्फ बढ्यो ।
सशस्त्र द्वन्द्वका समयमा काठमाडौंमा रहि पाँचथर–काठमाडौं सम्पर्क मञ्चमा क्रियाशील योङया २०६६ सालदेखि निरन्तर एमालेको जिल्ला कमिटी तथा सचिवालयमा हुनुहुन्छ । तत्कालीन १ नम्बर इलाका र हाल याङवरक गाउँपालिकाका गरी तीन पटक इन्चार्ज बनिसक्नु भएका योङयालाई आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले याङवरक गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनाएको छ ।
“मैले २०४६ सालदेखि आजसम्म जसरी सारा जीवन पार्टी र संगठन निर्माण, समाज रुपान्तरण र यहाँका समस्या समाधानमा खर्चिएँ, त्यसरी नै गाउँपालिकाको पाँच वर्ष नेतृत्व गरेर यहाँको विकास, समृद्धि र सुशासनका लागि काम गर्ने दृढ सङ्कल्प लिएको छु”, योङयाको भनाई छ, “याङवरक गाउँपालिकाको समृद्धि र गाउँपालिकावासीको खुशीका लागि इमान्दार प्रयत्न गर्नु र नमूना गाउँपालिका निर्माण गर्नु नै मेरो उद्देश्य हो ।” पूर्वाधार निर्माण, कृषि तथा पशुपालनको विकास, सुशासन सम्वद्र्धन, पर्यटन प्रवद्र्धनजस्ता विगतमा सुरुआत भएका कामहरुलाई पूर्णता दिँदै गाउँपालिकावासीको माग तथा जानकारका सुझावका आधारमा नमूना गाउँपालिका निर्माण गर्ने योजनासहित योङया चुनावी मैदानमा होमिनु भएको हो ।
सधैँ पार्टी र संगठनका काममा झोला बोकेर गाउँ हिँड्ने बानी, सर्वसाधारण नागरिकहरुसँग नजिकबाट सम्बन्ध बनाउने, कार्यकर्ताका अप्ठ्यारा र दुःखमा टुप्लुक्क पुग्ने, मिलासिलो र अरुका कुरा सुन्ने बानीले योङया एमालेभित्र साँच्चिकै सुवासका रुपमा फैलनु भएको छ । जसको दृष्टान्त एमालेभित्र उम्मेद्वार छनौटका क्रममा सबैभन्दा बढी कार्यकर्ताले उहाँलाई रुचाउनु एउटा हो । “हिँजो पनि पार्टी नीतिअनुसार काम गरेर याङवरक गाउँपालिकामा एमाले नेतृत्वको प्रथम सरकारले आफ्नो नाम राखेको छ”, योङयाले भन्नुभयो, “त्यो सरकारमा नेतृत्व मात्रै फेरिने हो, नीति निर्माणदेखि कार्यान्वयनसम्मको दिशानिर्देश सबै पार्टीले नै गर्छ ।”
पार्टी, संगठन र कार्यकर्ताप्रतिको समर्पणभाव जनताको सेवामा लगाउन अठोटले सुवासलाई याङवरक गाउँपालिकाको अध्यक्षको यात्रालाई निकै सहज बनाइरहेको छ । त्यसमाथि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले याङवरकको रुप बदल्ने योजनाहरु अगाडि बढाइदिँदा एमालेप्रति गाउँपालिकावासीको झुकाव र समर्थन आकर्षक देखिन्छ ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गले सबै वडालाई समेटेको यस गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तब्यहरु तिम्बु पोखरी, लामपोखरी र निशान कालिका धामको विकासमा प्रशस्तै बजेट प्राप्त हुने, गाउँपालिकामा प्रशासकीय पूर्वाधार निर्माणले गति लिनु, १५ शैय्याको अस्पताल तथा वहुउद्देश्यीय कभर्डहल निर्माण सुरुआत हुनु, थर्पु–दाहालगाउँ, फाक्लुङ–फालोट लगायत ठूला सडक निर्माण प्रक्रिया अगाडि बढ्नु, सीमा क्षेत्रमा बीओपी स्थापना हुनु जस्ता ठूला काम अगाडि बढेकाले त्यसैको जगमा गाउँपालिकाको समृद्धि र प्रभावकारी सेवा प्रवाहमा केन्द्रीत हुने योङयाको अठोट छ ।
“स्रोत साधन र सम्भावनाले भरिएको याङवरकमा कृषि, पशुपालन, लघु तथा घरेलु उद्योगको विकासमार्फत रोजगारी सम्वद्र्धन एवम् अर्थोपार्जनमा सुधार, पर्यटक भित्र्याई आम्दानी गर्न सक्ने कार्यक्रमको सुरुआत, प्राविधिक शिक्षालय स्थापनाको पहल, स्वास्थ्य क्षेत्रको सम्वद्र्धन, खेलकूद र कला संस्कृतिको सम्वद्र्धनमा जोड दिनेजस्ता कार्यक्रम ल्याउने सोच बनाएका छौँ”, योङयाले भन्नुभयो ।
विपक्षी गठबन्धनले गाउँपालिकाका प्रमुख पदमा महिलालाई उम्मेद्वार नै नबनाउनु, आफू समेत सामेल भएर गाउँपालिकाले गरेका कामको समेत विरोध गर्नु, याङवरकमा सुरुआत भएका सुधार र परिवर्तनलाई आत्मसाथ नगर्नु, अप्राकृतिक गठबन्धनका आधारमा चुनाव जित्ने सपना देख्नु नै आफ्नो विजयको सुरुआत भएको योङयाको भनाई छ । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएका योङयाले केही समय शिक्षण समेत गर्नुभएको थियो । विद्यालय, स्वास्थ्य संस्था, विद्युत सहकारी लगायत निकायको नेतृत्व गर्दै योङयाले सामाजिक रुपान्तरण एवम् जागरणमा निरन्तर प्रयास गर्दै आउनुभएको छ ।
– रवीन्द्र काफ्ले र नेत्रप्रसाद कोइराला ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..