२३ मंसिर २०७९, शुक्रबार

गाउँपालिका उपाध्यक्षको दौडमा पार्टी र खेलकुदकी ‘होलटाइमर’ बाबा

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार ०९:०९



युवा संघ नेपाल पाँचथरको अधिवेशनका क्रममा युवा संघको देशकै पहिलो महिला जिल्ला अध्यक्ष बाबा मेयाङ्बोलाई संघका तत्कालीन अध्यक्ष निरुदेवी पालले शुभकामना दिँदै भन्नुभएको थियो, “युवा साथीहरु, युवा संघको देशकै पहिलो जिल्ला अध्यक्षलाई एक दिन नेकपा (एमाले)को जिल्ला अध्यक्ष बनाउनु होला ।” पालले यसरी शुभकामना दिनुको अन्तर्य थियो, मेयाङ्बोको पार्टी र संगठनप्रतिको समर्पण । धेरैले पार्टीकी होलटाइमर कार्यकर्ता भन्ने उनै बाबा अहिले नेकपा (एमाले)का तर्फबाट पाँचथरको याङवरक गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार हुनुहुन्छ ।
बाबाको परिचय यत्तिमा सिमित छैन् । बाबा त धेरैकी ‘गुरु’ पनि हुनुहुन्छ । कराँतेका विभिन्न खेलहरुको अन्तर्राष्ट्रिय प्रशिक्षक बाबा खेलकुद क्षेत्रमा सबैमा विश्वास गरेको ब्यक्तित्व हुनुहुन्छ । सदरमुकाम बाहेक अन्यत्र कराँतेको प्रशिक्षण निकै कम स्थानमा मात्रै हुन्छ । तर बाबाको प्रभावले याङवरकका नागी र थर्पु क्षेत्रका प्रायजसो किशोरकिशोरी कराँते प्रशिक्षण लिई ‘बेल्ट’ पाउने भइरहेका हुन्छन् वर्षेनि । वर्षेनि छमछमी मेलादेखि विभिन्न खेलकुद प्रतियोगिता गर्ने, किशोरीहरुलाई खेलकुदमा निरन्तर जोड्ने, महिला र युवतीहरुको आत्मबल र शाहस भर्ने उनै बाबा अहिले दह्रिलो आत्मविश्वास सहित गाउँपालिका उपाध्यक्ष पदको रेसमा हुनुहुन्छ ।
खेलकुदमा गुरुको आदेश पालना गरेजस्तो होइन्, बाबाको वजनदार भाषण र अविचलित सक्रियताले युवा पुस्ता बाबाले भन्नेवित्तिकै जुरुक्कै उचालिन्छ । “यहाँहरुले अहिलेसम्म गरेको विश्वासलाई आधार मानेर गर्व गर्न लायक जनप्रतिनिधि बनेर तपाईंहरुको सेवामा क्रियाशील हुन्छौं”, याङवरकवासीलाई बाबाको वचन छ, “पार्टीका निर्णयको पालना, जनताका आवश्यकताको परिपूर्ति र सेवा तथा गाउँपालिकाको विकास र समृद्धिका लागि हिँजोजस्तै मेहनत गरेर हिँड्नु नै हाम्रो बाटो हुनेछ ।” महिलाका अधिकारको सुनिश्चितता, समाजमा आवाज उठाउन सक्ने क्षमताको विकास र अर्थोपार्जनमा जोड्न आफूलाई गाउँपालिका उपाध्यक्ष विजयी गराउन मेयाङ्बोको अपील छ ।
नेकपा (एमाले)को साविक नागी गाविसको सचिव, राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, खेलकुद महासंघको केन्द्रीय सदस्य, एमाले जिल्ला कमिटीको सदस्य लगायत राजनीतिक जिम्मेवारी पूरा गर्नुभएकी मेयाङ्बोले स्थानीयस्तरमा कयौँ सामाजिक संघ संस्थाको अगुवाई गरिसक्नु भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथर तथा प्रदेश खेलकुद विकास समिति प्रदेश नं. १ को उपाध्यक्ष बनिसक्नु भएकी मेयाङ्बो याङवरकलाई खेलकुदमा नमूना गाउँपालिका बनाउने सोचाईमा हुनुहुन्छ । “खेलकुदमा याङवरकले राखेको नामलाई सधैँ कायम गराउन पनि गाउँपालिकामा हाम्रो विजय अपरिहा¥य छ”, उहाँले भन्नुभयो, “यो क्षेत्र बुझेका ब्यक्तिले मात्रै यसमा प्रभावकारी काम गर्न सक्छ ।” विपक्षी गठबन्धनले महिलाको प्रतिनिधित्वका लागि प्रयास नै नगरेर समावेशी समानुपातिक प्रतिनिधित्वको संवैधानिक अधिकार कुण्ठित गर्न खोजेको वताउने मेयाङ्बो सबै गाउँपालिकावासीको मायाले सुवास योङयाको नेतृत्वमा एमालेको टिम नै निर्वाचित हुनेमा ढुक्क देखिनुहुन्छ । २०३३ साल साउन २३ गते जन्मनुभएकी बाबा अहिलेसम्म अबिवाहित हुनुहुन्छ ।
– रविन्द्र काफ्ले ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..